काठमाडौं। सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको छ । बैंकले देशका बिभिन्न ६ स्थानमा ‘गो क्यासलेस’ अभियानसहित अन्य कार्यक्रमहरु आयोजना गरेको जानकारी दिएको छ।
नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने निती अनुरुप बैंकले सफा टेम्पूहरुको भाडा क्यू आर कोड मार्फत भुक्तानी गर्न समेत बैंकले थालनी गरेको जनाएको छ।
यसबाट बैंकले ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता दिएको हो। यसमध्ये सुरुवातमा जावलाखेलको ‘गो क्यासलेस’ अभियानको उद्घाटन वार्षिकोत्सवकै दिनमा गरिएको थियो। लगत्तै नेपालगंज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा गरी देशका बिभिन्न ६ स्थानमा ट्याम्पुहरुमा क्यू आर कोड मार्फत भाडा भुक्तानीको थालनी हुने बैंकले जनाएको छ।
जावलाखेलको ‘गो क्यासलेस’ अभियानको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरे। उनले नगदरहित अर्थतन्त्र आजको आवश्यकता भएको र यसले सिंगो राष्ट्रलाई समृद्घिको पथमा डोहोर्याउने बताए।
नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली बिभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरिहार्य भएको धारणा राखे।
उक्त समारोहमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, सिभिल बैंकका अध्यक्ष प्रताप जंग पाण्डे, संचालकहरु अम्बीर बोगटी, प्रकाश तायल, युगेश बहादुर मल्ल, शम्भू प्रसाद पन्त, प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल, विभिन्न टेम्पू यातायात व्यवसायी संघका प्रतिनिधिहरु, फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा तथा टेम्पू व्यवसायीहरु तथा सर्वसाधरणको उपस्थिती रहेको बैंकले जनाएको छ। अब उक्त क्षेत्रका सफा टेम्पोहरुमा यात्रा गर्नेहरुले आफ्नो मोबाईल बैकिङ एप अथवा स्मार्ट वालेट एप मार्फत भुक्तानी गर्ने सक्नेछन्।
यसै अवसरमा बैंकले जावलाखेल शाखामा प्रायोरिटी बैंकिङ सेवाको पनि सुरुवात गरेको छ। यसको सुरुवात बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले एक समारोहका बीच गरे।
बैकले पाँचथर स्थित याङ्वरक शाखामा एटिएम सेवा सुरु गरेको पनि जानकारी दिएको छ। याङ्वरक गाउँपालिकाका अध्यक्ष भिम बहादुर योङ्याले उक्त एटिएम सेवाको उद्घाटन गरेका थिए। याङ्वरक देशकै विकट दूर्गम स्थानमा पर्दछ जसमा सिभिल बैंकले मात्रै उपस्थिति जनाएको छ। यो एटिएम उक्त गाउँपालिकाको पहिलो एटिएम भएको बैंकले जनाएको छ।
वार्षिकोत्सवका अवसरमा बैंकले बिबिध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु पनि गरेको छ। बैंकले ५९ शाखाहरुको सहभागितामा देशका बिभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ। यस्तै बैकका ५७ शाखाहरुमार्फत सरकारी विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्ममा गरिब तथा जेहेन्दार छात्रालाई पाँच हजार रुपैयाँ छात्रबृत्ति दिएको पनि बैंकले जानकारी दिएको छ।
बैंकले आफ्नो विभिन्न शाखाहरु मार्फत विभिन्न उमेर समुहका पाँचसय व्यक्तिहरुलाई बैकिङ तथा वित्तिय ज्ञान सम्बन्धी वित्तिय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
यसैगरी मल्लकालीन राजा सिद्धी नरसिंह मल्लको पाला देखी प्रदर्शन हुँदै आएको ३८३ बर्ष पुरानो ललितपुरको प्रसिद्ध परम्परागत, सांस्कृतिक एवं ऐतिहासिक नाँच “कार्तिक नाँच”को संरक्षणको लागि बैंकले ७५ हजार रुपैयाँ सहयोग गरेको जनाएको छ।
बैंकले नेपाल बाल संगठनमा आश्रित करिब ३५० जना बालबालिकाहरुको लागि विभिन्न स्टेशनरी सामाग्रीहरुको खरिद गर्नका लागि ५० हजार रुपैयाँ सहयोग गरेको जानकारी दिएको छ।
यस्तै बैंकले सुनसरीस्थित धरानमा रहेको निःसहाय सहयोग परिषदको तालिम भवन निर्माण गर्न ५० हजार रुपैयाँ महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रको उच्च प्रविधि क्लासरुम परियोजनाका लागि ५० हजार रुपैयाँ तथा अपांगता संरक्षण नेपाललाई एकसय सेतो छडी खरिदका लागि ९५ हजार रुपैयाँ सहयोग गरेको जनाएको छ।
यस्तै बैंकले कास्की जिल्ला स्थित बेगनाश तालको डुंगा व्यवसायीलाई डुंगाको सवारी गर्नेहरुको सुरक्षाको लागि एकसय थान लाईफ ज्याकेट हस्तान्तरण गरेको छ ।
९५.२३ अर्व रुपैयाँ निक्षेप संकलन गरी करिव ८७.४० अर्व रुपैयाँ ऋण लगानी गरेको सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा पुराना कर्मचारीहरुलाई अभिनन्दन समेत गरेको थियो।
बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा ४१.५१ करोड रुपैयाँ खुद मुनाफा गरेको जानकारी दिएको छ।
बैंकले हाल देशभरका कुल ११५ शाखा तथा १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटिएम मार्फत सेवा दिँदै आएको छ।