BIZMANDU
www.bizmandu.com

ट्‍वीटरले प्रतिबन्ध गरेका एकाउन्टहरु अर्को सातादेखि खुला गर्दै मस्क, भने ‘जनमतको कदर’

२०७९ मंसिर ११

ट्‍वीटरका नयाँ मालिक इलन मस्कले ट्‍वीटरमा सस्पेन्ड गरिएका केही एकाउन्टहरुलाई आगामी सातादेखि माफी दिइ पुनः संचालन गर्न दिइने प्रक्रिया सुरु हुने बताएका छन्।

Tata
Global Ime

केही अघिमात्रै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्‍वीटर एकाउन्ट खुला गरेका मस्कले कानुन उल्लंघन नगरेका र गम्भीर अपराधमा संलग्न नरहेका एकाउन्टहरु खोलिदिने बताएका हुन्।

उनले बुधबार यसबारे जनमत लिनका लागि ट्‍वीटरमा पोल समेत गरेका थिए। त्यस्ता एकाउन्टहरुलाई सोसल मिडिया प्लाटफर्ममा ल्याउन हुने/नहुने बारे उनले ट्‍वीटरमार्फत प्रतिक्रिया लिएपछि आएको नतिजाबाट यस निर्णयमा पुगेको बताएका छन्।

एक महिनाअघि मात्रै ४४ अर्ब डलरमा ट्‍वीटरलाई किनेमा मस्कले भनेका छन्- 'जनमतले बोलिसकेको छ आममाफी अर्को सातादेखि सुरु हुन्छ।' 

पोलमा ७२.४ प्रतिशतले माफी दिनुपर्ने राय दिँदै भोट गरेका थिए।

तर उनले यसको प्रक्रिया कसरी सुरु हुन्छ भन्ने बारे भने केही बताएका छैनन्।

केही अघि मात्रै अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको एकाउन्ट फिर्ता भए पनि ट्रम्पले यो एकाउन्ट चलाउनुपर्ने कुनै कारण नदेखेको प्रतिक्रिया दिएका छन्। ट्रम्पले सन् २०२४ मा राष्ट्रपतीय चुनावको तयारीमा लागेको यसअघि नै घोषणा गरिसकेका छन्।  उनको ट्‍वीटबाट उत्तेजित भीडले हिंसा भड्काएको भन्दै सन् २०२१ मा  ट्रम्पको ट्‍वीटर एकाउन्ट सस्पेन्ड गरिएको थियो।