BIZMANDU
www.bizmandu.com

नेपालगन्ज-मैनापोखरी-गुलरिया सडक विस्तार हुने, ३ अर्ब १५ करोडमा शर्मा एण्ड कम्पनीले पायो ठेक्का

२०७९ मंसिर ११

काठमाडौं। हुलाकी राजमार्गअन्तर्गत रहेको बाँके र बर्दिया जोड्ने नेपालगन्ज-मैनापोखरी-गुलरिया सडक विस्तार हुने भएको छ। हुलाकी राजमार्ग निर्देशनालयले सडक विस्तारको यो योजना ३ अर्ब १५ करोडमा ठेक्का लगाएको छ।

Tata
Global Ime

सडक विस्तार ठेक्का शर्मा एण्ड को प्रालिले पाएको निर्देशनालयका निर्देशक धर्मेन्द्रकुमार झाले बताए। उनका अनुसार ५ वटा निर्माण कम्पनीको आर्थिक प्रस्ताव खोल्दा कम कबोल गरेको कम्पनीले ठेक्का पारेको हो। 

कम्पनीले सबैभन्दा थोरै ३ अर्ब १५ करोड ४७ लाख रुपैयाँमा यो सडक विस्तार गर्ने भएको हो। प्राविधिक प्रस्तावमा ५ वटा निर्माण कम्पनीहरु आर्थिक प्रस्तावको लागि पास भएका थिए। झाका अनुसार यो सडकखण्ड ३१ किलोमिटर छ। जसमा कल्भर्टहरु धेरै निर्माण गर्नुपर्ने छ। यो खण्डमा पुल भने निर्माण गर्नुपर्ने अवस्था छैन।

यो खण्डको ठेक्का पाउने कम्पनीले ३ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने समयसीमा रहेको झाले बताए। आर्थिक वर्ष २०६६/६७ मा सुरू भएको यो राजमार्गको लागत अनुमान ६५ अर्ब २० करोड रूपैयाँ छ। बजेटको स्रोतमध्ये भारतीय अनुदान सहयोग आठ अर्ब रूपैयाँ छ। बाँकी ५७.२० अर्ब नेपालले नै सुनिश्चित गर्ने हो।

यो राजमार्ग निर्माण गर्न सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ६ अर्ब ७ करोड बजेट विनियोजन गरेको छ। सोही बमोजिम यस खण्डको ठेक्का व्यवस्थापन गरिएको छ।

हालसम्म हुलाकी राजमार्गको भौतिक प्रगति ८२.२१ प्रतिशत सम्पन्न भएको छ। यस्तै आयोजनाले हालसम्म ८२.६६ प्रतिशत खर्च गरिसकेको जनाएको छ।