BIZMANDU
www.bizmandu.com

मनाङमा ५८.९० मेगावाटको नारखोला जलविद्युत निर्माण तयारी, लागत १० अर्ब ७६ करोड हुने

२०७९ मंसिर ११

मनाङमा ५८.९० मेगावाटको नारखोला जलविद्युत निर्माण तयारी, लागत १० अर्ब ७६ करोड हुने
मनाङमा ५८.९० मेगावाटको नारखोला जलविद्युत निर्माण तयारी, लागत १० अर्ब ७६ करोड हुने


काठमाडौं। मनाङको नारखोलामा पहिचान भएको ५८.९० मेगावाटको नारखोला जलविद्युत आयोजना निर्माण अघि बढाउने तयारी भएको छ।

Tata
Global Ime

नारखोला हाइड्रो इनर्जी प्रालि काठमाडौंले आयोजना निर्माण अघि बढाउन तयारी गरिरहेको छ। कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार पारेर स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाएको छ। उक्त प्रतिवेदन स्वीकृति भएपछि निर्माणको प्रक्रिया अघि बढाइनेछ। आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भइसकेको छ।

प्रस्तावित आयोजना मनाङको चामे-५, नासो-९,  नार्पाभूमि-२ र मनाङ ङिस्याङ-२ भएर बग्ने नारखोलामा बनाउने तयारी अघि बढेको हो। 

यो आयोजना अर्ध-जलाशययुक्त हो। जसको १ घण्टा पिकिङ रहेको छ। वार्षिक सरदर ३४१.२८ गिगावाट आवर विद्युत शक्ति उत्पादन हुनेछ। सुक्खायाममा १०५.७५ गिगावाट आवर र वर्षायाममा २३५.५३ गिगावाट आवर उत्पादन हुनेछ। पिकिङ ऊर्जा १०.०८ गिगावाट आवर र नन पिकिङ ऊर्जा ९५.६७ गिगावाट आवर उत्पादन हुनेछ। आयोजनाले नारखोला र सोती खोला नदीको पानी प्रयोग गर्नेछ।

यो आयोजनाको डिजाइन डिस्चार्ज १२.८५ घनमिटर प्रतिसेकेण्ड र नेट हेड ५२९.४६ मिटर छ। आयोजनाको हेडवर्क्स नार नदी र मर्स्याङदी नदीको दोभान नजिकै बायाँ किनारमा प्रस्ताव गरिएको छ। विद्युतगृह नार-मर्स्याङदी दोभानबाट ७ किमि माथिल्लो तटीय क्षेत्रमा प्रस्ताव गरिएको छ।

प्रस्तावित आयोजनामा ८२.६९ मिटर एक्सेस (पहुँच)  टनेल निर्माण गर्नुपर्छ। हेडरेस टनेल ८८२६.०४ मिटर हुनेछ। दुईवटा अडिट टनेल रहनेछन्। पहिलो अडिट टनेल २६७.२० मिटर र दोस्रो २०० मिटरको हुनेछ। सतही विद्युतगृह हुनेछ। विद्युत उत्पादनपछि ३५ मिटरको टेलरेस नहर निर्माण गरेर पानी  पुन:नदीमा नै फर्काइनेछ।

उत्पादित विद्युतलाई १३२ केभी डबल सर्किट ६ किमि प्रसारणलाइन निर्माण गरेर धारापानी सवस्टेसनमार्फत राष्ट्रिय विद्युत प्रणालीमा जोडिने छ। 
 

लागत १० अर्ब ७६ करोड 
आयोजनाको १० अर्ब ७६ करोड रुपैयाँ (ब्याजसहित) लाग्ने अनुमान छ। यो हिसाबले प्रतिमेगावाट करिब १८ करोड २५ लाख रुपैयाँ पर्छ। ब्याज बाहेक ९ अर्ब ४८ करोड २२ लाख रुपैयाँ कुल लागत रहेको छ। ब्याज बाहेकको उत्पादन लागत प्रतिमेगावाट १६ करोड ९८ लाख रुपैयाँ छ।

इन्टरनल रिटर्न रेट १५.३२ प्रतिशत छ भने ऋण चक्ता अवधि १० वर्ष छ। निर्माण अवधि चार वर्ष हुनेछ। एक वर्षमा  पूर्व तयारीका काम सक्ने योजना छ।

आयोजनाको वातावरणीय अनुमनको निम्ति २ करोड ३० लाख रुपैयाँ, वातावरणीय परीक्षणका लागि २० लाख लागत छ। यस हिसाबले ३५ करोड ७६ लाख रुपैयाँ वातावरणीय लागत रहेको छ। यो आयोजनाको कुल आधारभूत लागत ९ अर्ब ४८ करोड २२ लाख रुपैयाँको ३.७७ प्रतिशत हुन आउँछ।

२७.२५ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्ने 
आयोजनाका निर्माणका लागि २७.२५ हेक्टर जग्गा  अधिग्रहण गर्नुपर्छ। २२.०३ हेक्टर स्थायी रुपमा र ५.२२ हेक्टर अस्थायी रुपमा प्रयोग गरिनेछ।

आयोजनाका लागि २३.६६ हेक्टर सरकारी जग्गा अधिग्रहण गर्नुपर्छ।१६.४ हेक्टर अन्नपूर्ण संरक्षित क्षेत्रबाट लिनुपर्छ। ३.५९ हेक्टर निजी जग्गा आवश्यक पर्छ। अधिग्रहण गरिने निजी जग्गा १.८७ स्थायी रुपमा र १.७२ हेक्टर अस्थायी रुपमा प्रयोग हुनेछ।

आयोजना निर्माणका लागि ३०० जना दक्ष र अदक्ष जनशक्तिहरु आवश्यक पर्नेछ। १० इन्जिनियर, २० जना सव इन्जिनियर, ४० जना दक्ष जनशक्ति, ८० जना अर्धजनशक्ति, १५० जना अदक्ष जनशक्ति चाहिने सम्भाव्यता अध्ययन  प्रतिवेदनमा उल्लेख छ। आयोजना निर्माण अवधी ४ वर्षमा  पिक माग अनुसार पुरा निर्माण अवधिमा ४ लाख ३२ हजार रोजगारी सिर्जना हुनेछ। प्रति महिना ३०० जनाका दरले ९ हजार रोजगारी सिर्जना हुनेछ।