BIZMANDU
www.bizmandu.com

३ पूर्व प्रधानमन्त्रीले चुनाव जित्दा हारे झलनाथ, २०४८ देखिको संसदीय यात्रामा एमालेको तगारो

२०७९ मंसिर ११

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका 'सम्मानित नेता' झलनाथ खनाल पराजित भएका छन्। प्रतिनिधिसभा निर्वाचनमा इलाम-१ बाट नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग खनाल पराजित भएको मुख्य निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिए।

Tata
Global Ime

खनालले २३ हजार ४५ मत पाउँदा बस्नेतले २५ हजार ६९९ मत ल्याएका हुन्। प्रदेश तर्फको मत गणनामा प्रतिनिधिसभाको पनि मतपत्र भेटिएकाले औपचारिक रुपमा चुनावी परिणाम घोषणा हुन बाँकी रहेको दाहालको भनाइ छ।

'प्रदेशसभाको गणनामा पनि प्रतिनिधिसभाको मत भेटिएकाले त्यहाँ पनि गणना भइरहेको छ। अलिकति मत फरक पर्ला तर जित हार भने अब यहि हो,' उनले भने। 

खनाल २०४८ साल यताको निर्वाचनमा इलामबाट निर्वाचित हुँदै आएका थिए। २०५१, २०६४, २०७० र २०७४ गरि ५ पटक इलाम-१ बाटै प्रतिनिधिसभामा निर्वाचित भएका थिए उनी। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद हुँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल खेमामा रहेका खनाल एमाले विभाजनका बेलामा नेपालको पक्षमा उभिएका थिए।

खनालका लागि आफ्नै पूर्व पार्टी नेकपा एमाले चुनावमा चुनौती बनेको हो। सत्ताा गठबन्धनबाट उम्मेदवार रहेका खनाल यसपटक गठबन्धनका कारण आफ्नो जित हुने दाबी गरिरहेका थिए। तर, उनको त्यो दाबी पूरा भएन। 

पूर्व प्रधानमन्त्री मध्य चुनाव हार्ने एक्लो खनाल

यसपटकको निर्वाचनमा भाग लिएका पूर्व प्रधानमन्त्रीहरु मध्य चुनाव हार्ने खनाल मात्र हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुँदा खनाल पराजित भएका छन्। 

खनालले पराजित हुनुअघि चुनावमा धाँधली भएको भन्दै आपत्तिसमेत जनाएका थिए। उनले धाँधली भएको आरोप लगाए पनि निर्वाचन आयोगले भने मत गणनालाई निरन्तरता दिएको हो।

कसरी हारे खनाल?

नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादीमा लागेपछि उनलाई चुनावमा चुनौती थपिएको थियो। स्थानीय तह निर्वाचनका बेलामा पनि खनाल निकट नेताहरुको पनि अपेक्षाकृत नतिजा आएको थिएन। त्यतिखेरै इलाममा कांग्रेसले धोका दिएको भन्दै खनालले चर्को अभिव्यक्ति दिएका थिए। उनले प्रतिनिधिसभामा गठबन्धन गर्ने बेलामा पनि एमालेसँग मिल्न सकिने भन्दै पार्टीभित्र बहस गराएका थिए।

कांग्रेसविरुद्ध दिएको अभिव्यक्तिका कारण पनि खनाललाई चुनावमा जित निकाल्न मुस्किल हुने चर्चा हुने गरेको थियो। एमाले विभाजनका बेलामा एमालेका नेताहरुले खनाललाई अन्तिमसम्म पनि विभाजनमा नजान भन्दै फकाउने प्रयास गरेका थिए। नेकपा विवादकै बेलादेखि ओलीसँग आक्रोशित बनेका खनालले विभाजनका बेला नेपाललाई साथ दिएका थिए।