काठमाडौं। प्रतिनिधिसभा क्षेत्र नम्बर ८ चुनावमा पराजित भएका पर्यटन मन्त्री जीवनराम श्रेष्ठ नेपाल वायुसेवा निगमकै खर्चमा विश्वकप हेर्न दोहा जाने भएका छन्।
पदमुक्त हुन केही समय बाँकी रहेका बेला पर्यटनमन्त्री निगमको भत्ता सुविधासँगै विजनेश क्लासमार्फत दोहा जान लागेको हुन्।
स्रोतका अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको अनुगमनमा जान भन्दै मन्त्री श्रेष्ठलाई दोहाको टिकट उपलब्ध गराउन पत्राचार गरिएको छ। यो भ्रमणमा उनले प्रयोग गरेको हवाई यातायात, खानपिन, बसाईँ लगायतको खर्च निगमको हुनेछ।
'उहाँ नेपाली खेलाडी समुहसँग जान लाग्नु भएको हो। नेपाल वायुसेवा निगमको तर्फबाट अनुगमन प्रतिनिधिको रुपमा उहाँ जान लाग्नुभएको पत्रमा उल्लेख गरिएको छ,' मन्त्रालयका एक कर्मचारीले बिजमाण्डूसँग भने,' पद मुक्त हुने बेलामा मन्त्री ज्यू निगमकै खर्चमा यसरी जानु अशोभनीय छ।'
उनका अनुसार खेलाडीसँगै जान लागेका मन्त्री श्रेष्ठ मंगलबार गएर शुक्रबार स्वदेश फर्किनेछन्। यो उडानको दुई तर्फी भाडादर एक लाख ५० हजार रुपैयाँ रहेको उनले जानकारी दिए।
मन्त्री श्रेष्ठले ओलम्पिकको अध्यक्षहरुलाई बोलाएकोले विश्वकप हेर्न जान लागेको स्वीकार गरे। 'केही समय अगाडि ओलम्पिक प्रेसिडेन्टहरुलाई विश्वकप हेर्न आमन्त्रण गरिएको थियो। यसअघि समय अनुकुल थिएन,' उनले बिजमाण्डूसँग भने, 'केही दिनपछि विश्वकप हेर्न कतार जाँदैछु।'
प्रतिनिधिसभा क्षेत्र नम्बर ८ चुनावमा समाजवादी पार्टी मन्त्री श्रेष्ठ ५२३१ मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका विराजभक्त श्रेष्ठसँग हारेका थिए। चुनावमा मन्त्री श्रेष्ठले ४८८१ मत ल्याएका थिए भने विराज भक्त श्रेष्ठले १०११२ मत ल्याएका थिए।