काठमाडौं। मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल (एमसीए-नेपाल) ले विद्युत प्रसारणलाइन निर्माण सुरु गर्ने भएको छ।
विद्युत प्रसारणलाइन निर्माणका लागि ठेक्का निकालेर परियोजनाको काम सुरु गर्न लागेको हो। एमसीए नेपालले सोमबार लप्सीफेदी-रातमाटे-बुटवल प्रसारणलाइन निर्माणका लागि तीनवटा लटमा ठेक्का निकालेको छ।
लप्सीफेदी-रातमाटे-न्यु हेटौंडा पहिलो लट (११७ किमि), दोस्रो लटमा रातमाटे-न्यु दमौली (९० किमि) र तेस्रो लटमा न्यु दमौली-न्यु बुटवल, न्यु बुटवलबाट भारतीय सीमासम्म (१०८ किमि) गरी कुल ३१५ किलोमिटर रहेका छन्।
इच्छुक कम्पनीले २७ मार्चसम्म आवेदन दिन सक्नेछन्। यो ठेक्का पाउने कम्पनीले डिजाइन,सप्लाई, डेलिभरी, इन्स्टलेसन, टेष्टिङ, कमिसनिङ गर्नु पर्नेछ। आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन भने एमसीए-नेपालले उपलब्ध गराउनेछ। यो तयार भइसकेको छ।
यो आयोजना ५ वर्षमा निर्माण सम्पन्न गर्नु पर्नेछ। सन् २०२३ को अगष्टबाट निर्माणको काम सुरु गर्ने कार्यतालिका छ भने परियोजनाका सबै काम २०२८ अगष्टमा सक्नुपर्नेछ।
निर्माण कम्पनीले डिजाइनसहित साढे तीन वर्षको अवधि पाउनेछ। बीचमा कुनै समस्या आए समाधानका लागि थप समय छुट्याइएको एमसीए-नेपालका एक अधिकारीले बताए। उनका अनुसार यो आयोजना समयमा नै सम्पन्न हुनेछ। 'समयमा सक्नैपर्छ। यदि नसक्ने अवस्था आयो पैसा फिर्ता जान्छ। त्यसैले हामी समयमा सक्ने उद्देश्यसहित काम अगाडि बढाउँदैछौं,' उनले भने।
प्रस्तावित आयोजनामा कुल ८५६ वटा टावर निर्माण हुनेछन्। टावर निर्माणका क्रममा २ लाख १२ हजार रुखहरु काट्नुपर्छ। सरकारी र निजी गरी ८ सय रोपनी जग्गा चाहिने अनुमान गरिएको छ। अहिले रुख कटानको स्वीकृति र अधिग्रहणको प्रक्रिया अघि बढेको छ।
यो प्रसारणलाइन काठमाडौं-सिन्धुपाल्चोक- नुवाकोट- धादिङ- मकवानपुर-चितवन-तनहुँ- पाल्पा-नवलपुर-परासी हुँदै जानेछ। ४०० केभीको डबल सर्किट यो प्रसारणलाइनले ३००० मेगावाटसम्म विद्युत वहन गर्न सक्छ। निर्माणपछि अहिले संचालनमा रहेको ढल्केबर-मुजफ्फरपुर पछिको दोस्रो अन्तर्देशीय प्रसारणलाइन हुनेछ। नेपाल-भारत विद्युत व्यापारको आयतन बढाउन यो प्रसारणलाइन महत्वपूर्ण हुने अपेक्षा छ।
आयोजनामा बोटेक जेभीले परामर्शदाताका रुपमा काम गरिरहेको छ। अहिले प्रसारणलाइनको विस्तृत सम्भाव्यता अध्ययन, एलाइन्टमेन्ट सर्भे, विवाद आएका ठाउँमा वार्ता गरेर रि-सर्भे गर्ने लगायतका कामहरु अन्तिम चरणमा चलेको आयोजनाका अधिकारीहरुले बताए।
२२८ मिलियन डलर (२९ अर्ब ६४ करोड रुपैयाँ) प्रसारणलाइन र ११४ मिलियन डलर (१४ अर्ब ८२ करोड रुपैयाँ) सवस्टेसनका लागि खर्च हुने एमसीए-नेपालले जनाएको छ।
पहिलो चरणमा प्रसारणलाइनको लागि ठेक्का निकालिएको हो। दोस्रो चरणमा सवस्टेसनका लागि पनि ठेक्का निकाल्ने तयारी छ। करिब एक महिनाभित्र दोस्रो चरणमा निकालिने छ। यो प्रसारणलाइनका लागि रातमाटे, दमौली र बुटवल गरी तीनवटा सवस्टेसन निर्माण गरिनेछ।
दमौली र बुटवलको प्रसारणलाइनका लागि नेपाल विद्युत प्राधिकरणले जग्गा अधिग्रहण गरिसकेको छ। त्यहाँ एमसीए-नेपालले संरचनाहरु मात्रै निर्माण गर्नेछ भने नुवाकोटको रातमाटेमा जग्गा अधिग्रहण नै गरेर सवस्टेसन बनाउनुपर्नेछ। यो सवस्टेसन निर्माणका लागि ३९८ रोपनी जग्गा चाहिन्छ। ३९७ रोपनी जग्गा अधिग्रहण भइसकेको छ। दाजुभाईका बीचमा अंशबण्डा विवादका कारण एक रोपनी अधिग्रहण हुन बाँकी छ।