काठमाडौं। मेलम्चीको पानी सोमबारदेखि सुरुङमा पठाउन थालिएको छ। मेलम्ची खानेपानी विकास समितिले वर्षामा क्षति हुने भन्दै गत जेठ १६ गतेदेखि पानी सुरुङमा पठाउन बन्द गरेको थियो।
समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले सोमबारदेखि सुरुङमा मेलम्चीको पानी पठाउन थालिएको बताए।
'आजदेखि हामीले पानी सुरुङमा पथान्तरण गरेका छौं,' उनले भने, 'त्यही अनुसार पानी सुन्दरीजल प्रशोधन केन्द्रमा आइपुग्न र प्रशोधन गर्न समय लाग्ने भएकाले उपत्यकामा पानी वितरण गर्न अझै १२ देखि १५ दिन लाग्छ।'
यसरी पानी सुरुङमा हाल्न बन्द गरिएको ६ महिना भएको छ। गत वर्ष बाढीले क्षति पुर्याएपछि बर्खामा सुरुङमा पानी पठाउन बन्द गर्न थालिएको हो।
समितिका अनुसार यो पटक कम्तीमा ६ महिना काठमाडौंमा मेलम्चीको पानी उपलव्ध हुने सम्भावना छ। उपत्यकाका विभिन्न ठाउँमा पानी वितरण प्रणाली सहज बनाउन पाइपलाइन सबै परीक्षण गरिएको समितिले जनाएको छ।
काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर पानी वितरण गर्ने समितिको लक्ष्य छ।