BIZMANDU
www.bizmandu.com

मधेस प्रदेशमा ४ हजार मेगावाट विद्युत खपत गर्ने प्रसारण संजाल बनाउँदै विद्युत प्राधिकरण

२०७९ मंसिर १२

मधेस प्रदेशमा ४ हजार मेगावाट विद्युत खपत गर्ने प्रसारण संजाल बनाउँदै विद्युत प्राधिकरण
मधेस प्रदेशमा ४ हजार मेगावाट विद्युत खपत गर्ने प्रसारण संजाल बनाउँदै विद्युत प्राधिकरण


काठमाडौं। नेपाल विद्युत प्राधिकरणले मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा करिब ४ हजार मेगावाट विद्युत खपत गर्न सक्ने गरी प्रसारण प्रणाली बनाउने भएको छ।

Tata
Global Ime

आन्तरिक खपत बढाउन प्राधिकरणले प्रसारण प्रणाली बनाउन लागेको हो। प्राधिकरणले सन् २०५० भित्रमा मधेस प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा लगायतका जिल्लाका दक्षिणी भेगमा हुने बस्ती र औद्योगिक क्षेत्र विस्तारलाई ध्यान दिएर उच्च क्षमताको प्रसारणलाइन करिडोर निर्माण गर्न लागेको हो।

भारतसँगको दक्षिणी सीमामा हुलाकी राजमार्गको समानान्तर ४०० केभीको चार सर्किट प्रसारणलाइन र सबस्टेसनहरु निर्माण गरिने छन् । चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट ४०० केभी र तल्लो दुई सर्किट १३२ केभीमा सञ्चालन ल्याउने गरी प्रसारणलाइन करिडोरको निर्माण गरिने छ। स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ठाउँ-ठाउँमा सबस्टेसनहरुको निर्माण गरिने छ।

अहिले प्रस्तावित प्रसारण लाइनको रुट र सबस्टेसनहरु रहने स्थान तय गर्ने कामहरु भइरहेको छ। बारा-पर्सा औद्योगिक करिडोर अन्तर्गत वीरगञ्ज क्षेत्रमा करिब ३२०० मेगावाट र जनकपुर क्षेत्रमा ८०० मेगावाट विद्युत खपत गर्ने गरी प्रसारण सञ्जाल पूर्वाधार निर्माण गरिने छन्। यसबाट सहर र औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको मधेस प्रदेशका जिल्लाहरुमा पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति हुने अपेक्षा गरिएको छ।

प्रसारणलाइन तथा सबस्टेसनहरु निर्माणका लागि ५० अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान छ। यो रकम नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी, भारतीय एक्जिम बैंक, एसियाली विकास बैंकलगायतको सहुलियतपूर्ण ऋणबाट जुटाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

कार्यकारी निर्देशक घिसिङ, परामर्शदातालगायत सम्मिलित  टोलीले शनिबार र आइतबार प्रस्तावित लाइन निर्माण स्थलको अनुगमन गरी ४०० र १३२ केभी प्रसारणलाइन तथा सबस्टेसन निर्माणका लागि सम्भावित ठाउँ,विद्युत माग तथा खपतको अवस्था लगायतका विषयमा जानकारी लिएको छ।

आन्तरिक रुपमा खपत बढाउन र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतर्फ निर्यातका लागि दक्षिण करिडोर प्रसारण लाइन चरणबद्ध रुपमा निर्माण गर्न लागिएको घिसिङले बताए।

‘पहिलो फेजमा खपत वृद्धिका लागि तत्काल आवश्यक पर्ने प्रसारण लाइन र सबस्टेसनहरु, दोस्रो फेजमा दक्षिण करिडोर मुख्य लाइन र तेस्रो चरणमा अन्तरदेशीय विद्युत व्यापारका लागि क्रसबोर्डर प्रसारण लाइन निर्माण गरिने छन्,’ उनले भने, 'केही प्रसारण लाइन तथा सबस्टेसनहरु निर्माण भइरहेका छन्। केही तत्काल सुरु हुँदैछन् भने अन्य दीर्घकालीन रुपमा निर्माण गर्ने गरी सबस्टेसनका लागि जग्गा लिने, प्रसारणलाइनको रुट तय गर्ने, वातावरणीय अध्ययनका लागि प्रक्रिया सुरु गर्ने लगायतका काम भइरहेका छन्।’ उनले भारतको मोतिहारी, सीतामढी, जयनगर विन्दुतर्फ विद्युत निर्यात गर्न सकिने बताए।

बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी पर्साको पोखरिया र बाराको निजगढमा ४०० केभीको सबस्टेसन निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ। त्यही ४०० केभी लाइनलाई हुलाकी राजमार्गको समानान्तर रुपमा जनकपुरतिर विस्तार गरिने छ। बाराका प्रसौनीमा १३२ केभी सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणको गरिएको छ।

जनकपुर क्षेत्रको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन धनुषाको ढल्केबरबाट महोत्तरीको लोहरपट्टीसम्म १३२ केभी सबस्टेसनको निर्माण भइरहेको छ।

लोहारपट्टीमा १३२ केभी सबस्टेसन निर्माणाधीन छ। यसैगरी ढल्केबर-बालगंगा १३२ केभी प्रसारण लाइन पनि निर्माणाधीन छ।