काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओमा कोटा प्रणाली कार्यान्वयनमा आएको छ। वैदेशिक श्रममा रहेकाहरुका लागि कम्पनीहरुले कोटा छुट्याउन थालिसकेका छन्। तर सेयरमा लगानी गर्न चाहेर पनि आवेदन दिने प्रक्रिया प्रष्ट नहुँदा धेरैजना अलमलमा रहेको पाइएको छ।
सेयर बजार बुझेकाहरु कतिपयले बेग्लै कोटा नछु्याउँदै विदेशबाटै कारोबार गरिरहेका थिए। कोटाको कसरी पाइन्छ भन्नेमा उनीहरुको पनि जिज्ञासा छ। धितोपत्र बोर्डले आइपीओमा सर्वसाधारणको हिस्सालाई घटाउँदै विदेशी रोजगारीमा रहेकाहरुका लागि १० प्रतिशत कोटा अनिवार्य गरेको हो।
तर आवेदन दिने व्यवस्थालाई सम्बन्धित निकायले प्रष्ट नपार्दा रोजगारीमा गएका श्रमिक र उनीहरुको परिवारले गुनासो गर्न थालेका छन्। आइपीओ खरिदमा चासो राख्ने सर्वसाधारणको संख्या बढ्दा एक जनालाई १०/१० कित्ता परे सौभाग्य मान्नुपर्ने अवस्था छ। यस्तोमा निश्चित कोटा नै पाउँदा वैदेशिक रोजगारीमा रहेर सेयर बजार बुझेकाहरुको उत्साह नै बेग्लै छ।
श्रम मन्त्रालयबाट श्रम स्वीकृति लिएका नेपालीलाई मात्र साधारण सेयरमा उक्त कोटा छुट्याइएको हो। नेपाल धितोपत्र बोर्डका अनुसार कोटाको सेयरका लागि आवेदन दिन चाहनेले वैदेशिक रोजगारीका लागि नेपाल सरकारको श्रम स्वीकृति लिएको हुनु अनिवार्य छ। साथमा आवेदकको स्वयंको नाममा बैंकमा रेमिट्यान्स खाता खोलेको हुनुपर्छ। साधारण बचत खाताले हुँदैन।
वैदेशिक रोजगारीको स्वीकृति पाइसकेका, तर मुलुकभित्र रहेकाले आस्वा सदस्य बैंकका गई रेमिट्यान्स खाताको लगाि फाराम भर्न सक्नेछन्। श्रम स्वीकृति, भिसा स्ट्यामसहितको पासपोर्ट र हवाई टिकट आवेदकका साथमा हुनुपर्छ।
वैदेशिक रोजगारीका लागि मुलुकबाट बाहिरिइसकेकाले पनि रेमिट्यान्स खाता खोल्न सक्नेछन्। उनीहरुले नेपाली बैंकमा रहेको आफ्नो साधारण बचत खातालाई समेत रेमिट्यान्स खातामा परिवर्तन गर्न सक्छन्। बैंकहरुले यसका लागि अनलाइन खाता दर्ताको सुविधा उपलब्ध गराएका छन्। सम्बन्धित बैंकको वेबसाइटमा गइ अनलाइन खाता दर्तामा क्लिक गरी सजिलै खाता खोल्न सकिनेछ।
औपचारिक माध्यमबाट रेमिट्यान्स खातामा रकम सिधै पठाउन सकिन्छ। डिपोजिट गर्न सकिन्छ।
यसका लागि पनि श्रम स्वीकृति र भिसा स्टाम्पसहितको राहदानी (पासपोर्ट) स्क्यान गरेर पीडीएफ फर्म्याटमा अपलोड गर्नुपर्नेछ। केही बैंकले त्यस्ता ग्राहकसँग रोजगारीका लागि गएको कम्पनीको सेलरी सिट पनि माग्ने गरेका छन्। विदेशमा रहेको र त्यहाँको कम्पनीमा कार्यरत रहेको प्रणामा निस्चिन्त हुन एक महिनादेखि अधिकतम ६ महिनासम्मको तलबको सूची माग्ने गरेका छन्।
औपचारिक स्रोतबाट रेमिट्यान्स पठाउनेहरुका लागि नै सरकारको पहलमा यो व्यवस्था गरिएको हो। चालु आर्थिक वर्षको बजेटमा यो उल्लेख छ। रेमिट्यान्स खाता खोल्दा साधारण मुद्दतीभन्दा १ प्रतिशत बढी ब्याजदरको लाभ पनि उठाउन सकिन्छ। अहिले वाणिज्य बैंकले रेमिट्यान्स खातामा १३.१३ प्रतिशत ब्याज दिँदै छन्।
रेमिट्यान्स खाताको आधारमा नै सम्बन्धित व्यक्त्तिले डिम्याट खाताका लागि निवेदन पेस गर्नु पर्नेछ। आवश्य कागजपत्रसहित डिम्याट खाताका लागि निवेदन दिनुपर्छ। जसलगत्तै खाताबाहकको डिम्याट खाता खोलेर सीआरएन (सी-आस्वा रजिष्ट्रेसन) नम्बर प्राप्त गर्न सकिनेछ।
‘सीआरएन नम्बर रेमिट्यान्स खाताबाटै लिँदा केन्द्रिय निक्षेप प्रणालीले त्यसलाई वैदेशिक रोजगारीमा गएको नागरिक बुझेर स्टोर गर्छ,’ सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बिजमाण्डूसँग भने, ‘बैंकहरुको प्रणाली केन्द्रीय निक्षेपसँग आबद्ध छ।’
सीआरएन आठ अंकको नम्बर हो, जुन डिम्याट खाता सक्रिय भएपछि बैंकले उपलब्ध गराउँछ। प्रत्येक डिम्याट खाताको पृथक अंकको सीआरएन नम्बर हुन्छ। त्यसैले रेमिट्यान्स खातावाल बाहेकले आरक्षित आइपीओमा आवेदन दिन प्रणालीले प्रतिबन्ध लगाउँछ। रेमिट्यान्स खाता खोलिएको बैंकले नै निवेदन फारम उपलब्ध गराउनेछ।
यस अतिरिक्त बैंकले मेरो सेयरको लागि पनि निवेदन फाराम भर्न लगाउने छन्। जसले आवेदकलाई मेरो सेयरको लग इन युजरनेम र पासवर्ड उपलब्ध गराउनेछ। मेरो सेयर सीडीएससी (केन्द्रीय निक्षेप प्रणाली र क्लियरिङ लिमिटेड) ले डेभलप गरेको अनलाइन पोर्टल हो। जसले तिनीहरूको डिम्याट खातामा सेयर लेनदेनको विवरण प्रदान गर्दछ। यो मोबाइल एपमा पनि उपलब्ध छ।
प्राप्त मेरो सेयरको युजरनेम र पासवर्डको विवरण पाएलगत्तै सम्बन्धित आवेदकले वेबसाइट वा मोबाइल एपमा गइ आरक्षित कोटाको आइपीओमा आवेदन दिन सक्नेछन्। अहिलेसम्म १५० वटाभन्दा बढी नयाँ रेमिट्यान्स खाता प्रणालीमा आाद्ध भएको आचार्यले बताए। ३०/३१ जनाले आरक्षित आइपीओमा आवेदन पनि दिइसकेको उनले बताए।
बुधबारदेखि कालिन्चोक दर्शनले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमालाई आइपीओ बिक्री खुलाएको छ। वैदेशिक रोजगारीका श्रमिकले भने जारी हुने कुल सर्वसाधरण सेयर मध्येको १० प्रतिशत पाउने हुन्। कम्पनीले उनीहरुको लागि १ लाख ८ हजार कित्ताका लागि आवेदन दिनेछन्। कम्पनीले जारी पुँजीको १८ प्रतिशत अर्थात् १० करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्दैछ।
सुपरमाई हाइड्रोपावर लिमिटेडले पनि वैदेशिक रोजगारीमा गएकाहरुलाई साधारण सेयर जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई छुट्याएको १० प्रतिशत अर्थात ५ करोडको सेयरमध्ये १० प्रतिशत रोजगारीमा गएकालाई छुट्याएको छ। उनीहरुले ५० हजार कित्ता पाउने छन्। कम्पनीले मंसिर २१ गतेदेखि पुस ६ गतेसम्म सेयर जारी गर्ने भएको छ।