BIZMANDU
www.bizmandu.com

भुक्तानीमा समस्याले उखु खेती गर्ने किसान अन्य बालीतर्फ लागे, यस वर्ष झण्डै २०% ले घट्यो उत्पादन

२०७९ मंसिर १५

काठमाडौं। उखुको उत्पादन यसपाली पनि घटेको छ। हरेक वर्ष उखुको मूल्य र भुक्तानी समयमा नहुँदा किसानहरुले उत्पादन घटाउदै लगेका छन्। 

Tata
Global Ime

उखुको खेती घट्दै जाँदा उत्पादनमा असर परेको  नेपाल उखु उत्पादक संघले जनाएको छ। गत वर्षको भन्दा करिब १५ देखि २० प्रतिशतले उत्पादन कम भएको संघका अध्यक्ष कपिलमुनी मैनालीले बताए। किसानहरुले उखु बाली छोडेर अन्य बालीहरु लगाउन थालेको उनको भनाई छ।

उखु लगाउने खेतबारीमा अहिले धान, आलु  र मकै लगायत खेती भैरहेको छ। उखु बालीको क्षेत्रफल घटेको छ।  'उत्पादन कति हुन्छ भन्ने अवस्था नरहेको' उनले बताए। अघिल्ला वर्षहरु पनि उखुको उत्पादन १० प्रतिशत भन्दा बढीले घट्दै गइरहेको थियो। यो वर्ष झन् धेरै उत्पादन घटेको उनले  जानकारी दिए। 

कतिपय किसानहरुले गत वर्षकै उखुको भुक्तानी लिन बाँकी रहेको संघले जनाएको छ। वर्षेनी उखुको सिजनमा किसानहरुले नयाँ तथा पुराना भुक्तानी लिनका लागि आन्दोलन गर्न पर्ने बाध्यता छ। त्यतिबेला  निश्चित समयमा किसानको खातामा रकम पठाउने आश्वासन देखाएपनि अझै केही उद्योगहरुले करोडौं रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको अध्यक्ष मैनालीले बताए। 

नयाँ मूल्य निर्धारण भएन: उत्पादक संघ

यति बेला उखु क्रसिङको सिजन सुरु भएको छ। गत वर्ष पनि उखु किसानहरुले समयमै मूल्य पाएका थिएनन्। यो वर्ष मंसिर महिना आधा हुन लाग्दा पनि सरकारले उखुको नयाँ मूल्य नतोकेको संघले जनाएको छ ।

यो वर्ष मंसिरको सुरुवातमै चुनाव भएकोले उखुको मूल्यबारे छलफल नभएको संघका अध्यक्ष कपिलमुनि मैनालीले बताए। स्वदेशी उद्योगलाई चिनी चाहिएको छ। अब मंसिरको २० गते पछि मिलहरु खोल्नु पर्छ।'- उनले भने। धेरै दिन उद्योग बन्द गर्दा उखु बारीमै राख्नुपर्ने बाध्यता हुने उनको भनाई छ । 

तर हालसम्म चिनी उत्पादक मिलहरुले पनि किसानसँग बसेर छलफल नथालेको उनले गुनासो गरे।  पहिले मिलहरुले क्रसिङको केहि समयअघिनै किसानहरुसगँ छलफल गरी किसानको माग सरकारसम्म पुर्याउने गरेका थिए। तर अहिलेसम्म मूल्य निर्धारणका लागि कुनै पनि छलफल सुरु  नभएको उनले बताए। 

संघले चालु आर्थिक वर्षमा उखुको मूल्य प्रतिक्विन्टल ८ सय रुपैयाँ पुग्ने आशा गरेको जनाएको छ। 

गत वर्ष प्रतिक्विन्टल ६ सय रुपैयाँको हाराहारीमा  मूल्य निर्धारण भएको थियो  जसमा किसानको उखुको  उत्पादन लागत, ढुवानी खर्च लगायत  हेरी मूल्य निर्धारण हुने गरेको छ। अहिले उत्पादन लागत महंगो पर्न गएको किसानहरुले बताएका छन् ।

उखुको नयाँ मूल्य तोक्न समय लाग्ने 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको मूल्य निर्धारण हुन केही समय लाग्ने  जनाएका छन् । यति बेला उखु  उत्पादित क्षेत्रमा अध्ययन टोली पठाएको मन्त्रालयका प्रवक्ता प्रकाश सन्जेलले बताए।  'उक्त टोली आएपछि मिलहरुसँग बसेर मूल्यको लागि छलफल गर्छौ।'- उनले भने।

हालसम्म किसान तथा मिलबाट मूल्यको लागि प्रस्ताव नआएको  मन्त्रालयले जनाएको छ ।

गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ तोकेको थियो जुन अघिल्लो वर्षको भन्दा ४६ रुपैयाँ बढी हो । त्यस अघि उखुको मूल्य प्रति क्विन्टल ५ सय ४४ रुपैयाँ निर्धारण भएको थियो।