काठमाडौं। शिवम् ग्रुप अन्तर्गतको श्रीकृष्ण आधुनिक दाल उद्योग प्रालिले २०२१/२२ मा ९० करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ। कम्पनीले २०२०/२१ मा ८४ करोड ४० लाख र २०१९/२० मा ७३ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो।
मुसुरो दालको उत्साहजनक बिक्रीले कम्पनीको कारोबार ह्वात्तै बढेको हो। कम्पनीले मुसुरो दाल, मास, चना लगायतमा दाल उत्पादन तथा बिक्री वितरण गर्दै छ। कम्पनीले पुजा, मोबाइल, बालभद्र र कङगारु ब्राण्डको प्याकेजिङबाट बिक्री गर्छ।
आवश्यक कच्चा पदार्थ कम्पनीले विभिन्न मुलुकबाट आयात गर्ने गरेको छ। ५० प्रतिशतभन्दा बढी कच्चा पदार्थ कम्पनीले आयात गर्ने गरेको छ। भन्सार शुल्कको उतार चढावले कम्पनीको नाफामा असर पर्ने गरेको छ।
कम्पनीको सञ्चालन आम्दानीको ८५ देखि ८८ प्रतिशत रकम कच्चा पदार्थको लगातमा खर्च हुने गरेको छ। हाल कम्पनीको उत्पादन क्षमता वार्षिक रुपमा ३० हजार टन छ। २०२१/२२ मा बजारको माग बढेपछि कम्पनीले २१ प्रतिशत क्षमता बढाएको हो।
हालै कम्पनीले ८५ करोड रुपैयाँको कर्जा लिएको छ। कम्पनीले अल्पकालिन कर्जा लिएको छ। यसैका लागि कम्पनीले रेटिङ पनि गराएको हो।