काठमाडौं। आरएमसी जस्ता पाता, मेटल पाइप र रोलिङ सटरको उत्पादक तथा बिक्रेता राजेश मेटल क्राफ्ट प्रालिले एक वर्षमै आठ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। कम्पनीले सन् २०२१/२२ मा आठ अर्ब ५७ करोड ४२ लाख रुपैयाँको कारोबार गरेको हो।
यो कारोबार कम्पनीको अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो। २०२०/२१ मा कम्पनीको कुल कारोबार ७ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ थियो।
कोरोना महामारीका कारण यस अघिको वर्ष भने कम्पनीको व्यापार केही घटेको थियो। २०१९/२० मा कम्पनीको कारोबार ५ अर्ब ५६ करोड रुपैयाँ सीमित थियो।
जस्ता पाताको माग ह्वात्तै बढेपछि कम्पनीको कारोबारले फराकिलो फड्को मारेको हो। २०२१/२२ को कुल कारोबारमा जस्ता पाताको योगदान ६२ प्रतिशत छ। मेटल पाइपको २३ प्रतिशत योगदान रहेको इक्रा नेपालले रेटिङ विवरणमा उल्लेख गरेको छ।
कम्पनीसँग वार्षिक २ लाख १२ हजार टन उत्पादन क्षमताको उद्योग छ। जसमध्ये ५७ हजार टन मेटल पाइप र ५७ हजार टन जस्ता उत्पादन हुने गर्छ। बाँकी ५५ हजार टन रंगीन जस्ता पाता उत्पादन हुन्छ।
कम्पनीले कच्चा पदार्थ भने भारतबाट आयात गर्ने गरेको छ। आयात गर्दा भन्सार शुल्कमा सरकारबाट स्टिल उद्योगले सहुलियत पाएका छन्।
कम्पनीको प्रमुख संस्थापक राजेश अग्रवाल र विष्णु अग्रवाल हुन्। शतप्रतिशत स्वामित्व दुईबीच बाँडिएको छ। हालै कम्पनीले ५ अर्ब ५० करोड रुपैयाँको कर्जा लिएको छ। जसका लगि कम्पनिले कर्जाको रेटिङ गराएको हो।