BIZMANDU
www.bizmandu.com

कालिञ्चोक दर्शनले जारी गरेको आइपीओमा वैदेशिक रोजगारीमा गएका ३९१ श्रमिकले दिए आवेदन

२०७९ मंसिर १६

काठमाडौं। वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरुका लागि कालिञ्चोक दर्शनले जारी गरेको सेयरमा ३ सयभन्दा बढीले आवेदन दिएका छन्।

Tata
Global Ime

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले उपलब्ध गराएको पछिल्लो तथ्यांक (१:३३ बजे शुक्रबार) अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका ३९१ श्रमिकले आवेदन दिएका हुन्।

उनीहरुले कुल १ करोड ८६ लाख ९६ हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ९६० कित्ता सेयरका लागि आवेदन दिएका छन्। कालिञ्चोक दर्शनले मंसिर १४ गतेबाट वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरुका लागि १ लाख ८ हजार कित्ता साधारण सेयर जारी गरेको छ। सेयर खरीदका लागि मंसिर २८ गतेसम्म आवेदन दिन सकिन्छ। 

आवेदन दिन समय अझै धेरै बाँकी रहेकाले भर्नेहरुको संख्या अझ बढ्ने सीडीएसका सूचना अधिकारी सुरेश न्यौपानेले बताए। आइपीओका लागि न्यूनतम १० कित्ता र अधिकतम १० हजार ८०० कित्ता सम्मका दरखास्त दिन सकिन्छ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका छैटौं संशोधन गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि प्राथमिक बजारमा १० प्रतिशत कोटा छुट्याएको छ। बजेटमा भएको ब्यवस्था अनुसार छुट्याएको कोटा पहिलो पटक कालिञ्चोक दर्शनको सेयरबाट लागू गरिएको हो।