BIZMANDU
www.bizmandu.com

कोभिड नियन्त्रणका कडा प्रावधानविरुद्ध प्रदर्शनपछि चीन भयो लचिलो, नियमहरु बन्यो खुकुलो

२०७९ मंसिर १८

कोभिड नियन्त्रणका कडा प्रावधानविरुद्ध प्रदर्शनपछि चीन भयो लचिलो, नियमहरु बन्यो खुकुलो
कोभिड नियन्त्रणका कडा प्रावधानविरुद्ध प्रदर्शनपछि चीन भयो लचिलो, नियमहरु बन्यो खुकुलो


सांघाई। चीनका विभिन्न सहरहरुले कोभिड-१९ विरुद्धका नियमहरुलाई खुकुलो पार्न थालेका छन्।

Tata
Global Ime

यसअघि सार्वजनिक स्थानमा प्रवेश गर्न तथा सार्वजनिक यातायातका साधनहरुको प्रयोगका लागि ४८ घण्टाको कोभिड-१९ परीक्षणको नेगेटिभ रिजल्ट पेस गर्नुपर्ने व्यवस्था लागू थियो।

अहिले भने विभिन्न सहरहरुले यो व्यवस्थालाई हटाउन थालेका छन्। पछिल्लो समय चीनमा कोभिड-१९ विरुद्ध अपनाइएका कडा व्यवस्थाविरुद्ध सर्वसाधारणले प्रदर्शन गर्न थालेपछि विभिन्न सहरहरुले यस्तो कडाइ हटाएका हुन्।

सेन्जेन, थियानचिन, दादियन, छन्तु लगायतका सहरमा यस्तो व्यवस्थालाई हटाइएको छ। चीनको टेक्नोलोजी हबको रुपमा रहेको सेन्जेनले शनिवार सार्वजनिक स्थानमा प्रवेश गर्दा अबदेखि न्युक्लिक एसिड टेस्टको नेगेटिभ सर्टिफिकेट देखाउन नपर्ने जनाएको छ।

क्वान्दोङ प्रान्त सरकारले वक्तव्य जारी गर्दै सार्वजनिक स्थानहरु फार्मेसी, पार्क, पर्यटकीय स्थलहरु, सार्वजनिक यातायातका साधनहरु प्रयोग गर्दा यस्तो प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था हटाइएको जनाएको छ।

यद्यपि यस्ता स्थानमा प्रवेश गर्दा क्युआर कोड स्क्यान गरी ग्रीन कोड भने देखाउनुपर्ने छ। त्यस्तै सार्वजनिक कृषि बजारमा प्रवेशका लागि भने अझै पनि न्युक्लिक एसिड टेस्टको नेगेटिभ रिजल्ट देखाउनुपर्ने छ।

त्यस्तै छन्तुमा पनि सार्वजनिक यातायात प्रयोग गर्दा परीक्षण नतिजा देखाउन नपर्ने भएको छ। बेइजिङ सकारले पनि सार्वजनिक बस तथा सबवे सञ्चालकलाई ४८ घण्टाको परीक्षण रिपोर्ट नभएका यात्रुलाई पनि यात्रामा छुट दिन भनेको छ। यो व्यवस्था सोमवारदेखि लागू हुनेछ।

स्थानीय सरकारहरुले नियम खुकुलो पारे पनि सर्वसाधारणलाई सर्तकता अपनाउन आह्‍वान गरेका छन्। यता सांघाईमा स्थानीय सरकारले कोभिड-१९ को निःशुल्क परीक्षणलाई डिसेम्बर ३१ सम्मका लागि लम्ब्याएको छ।

सांघाईमा कोभिड विरुद्धको सतर्कता अपनाउँदै स्थानीय सरकारले सांघाई म्याराथन सम्पन्न गरेको छ। त्यहाँको सरकारले म्याराथन 'जिरो कोभिड-१९ इन्फेक्सन'सहित सम्पन्न भएको जनाएको छ। हरेक वर्ष आयोजना हुँदै आएको म्याराथन विगतका वर्षमा कोभिडकै कारण हुन सकेको थिएन।

शुक्रवार मात्र मुख्यभूमि चीनमा ३ हजार ९३३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। त्यस्तै लक्षणविनाका २८ हजार ८९४ केसहरु पुष्टि भएका थिए।