काठमाडौं। चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
मंसिर २० गते बसेको बैठकको निर्णय अनुसार कम्पनीले चुक्ता पुँजी ६ अर्ब ७५ करोडको १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।
कम्पनीले उक्त लाभाश आगामी २६ औं वार्षिक साधारणसभाबाट पारित गरेपछि लगानीकर्ताहरुलाई वितरण गर्ने छ। साधारणसभा पुस २२ गते शुक्रबारका लागि आह्वान गरिएको छ।
प्रस्ताव गरिएको सो लाभांशमध्ये कम्पनीले चुक्ता पुँजीको ७.५ प्रतिशतले हुन आउने ५० करोड ६३ लाख बराबरको बोनस सेयर वितरण गर्ने भएको हो भने ७.५ प्रतिशतनै नगद लाभांश वितरण गर्ने भएको हो।
यसका साथै कम्पनीले लाभांश वितरण प्रयोजनका लागि सेयर दाखिला खारेज मिति (बुक क्लोज) पनि तोकेको छ। कम्पनीले पुस ३ गते एक दिनका लागि बुक क्लोज मिति तोकेको हो। तसर्थ उक्त दिन भन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु मात्र लाभांशका लागि योग्य हुनेछन्।
कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को लाभांशलाई निरन्तरता दिएको हो। उक्त वर्ष पनि कम्पनीले लगानीकर्तालाई ७.५ प्रतिशत नगद र ७.५ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो।