BIZMANDU
www.bizmandu.com

सुनकोसी-मरिन डाइभर्सनको बाँध र पावर हाउस निर्माण ठेक्का रमन-पटेल जेभीलाई, लागत साढे १२ अर्ब

२०७९ मंसिर २३

सुनकोसी-मरिन डाइभर्सनको बाँध र पावर हाउस निर्माण ठेक्का रमन-पटेल जेभीलाई, लागत साढे १२ अर्ब
सुनकोसी-मरिन डाइभर्सनको बाँध र पावर हाउस निर्माण ठेक्का रमन-पटेल जेभीलाई, लागत साढे १२ अर्ब


काठमाडौं। सुनकोसी-मरिन डाइभर्सनको बाँध र पावर हाउस निर्माणको ठेक्का रमन पटेल जेभीले पाएको छ। साढे १२ अर्ब रुपैयाँमा ठेक्का पाउने ज्वाइन्ट भेन्चरमा नेपाली कम्पनी रमन कन्स्ट्रक्सन र भारतीय कम्पनी पटेल इन्जिनियरिङ छन्।

Tata
Global Ime

जेभीले सुनकोसी-मरिन बाँध र पावरहाउस दुवै बनाउने ठेक्का पाएको हो। दुई कम्पनीसँगको ठेक्का सम्झौता अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। आयोजनाले दसैंभन्दा अघि बोलपत्र आह्‍वान गरेको थियो।

आयोजनाका प्रमुख मित्र बरालका अनुसार बाँध र पावर हाउस दुवै निर्माण गर्न ९ वटा कम्पनीहरु इच्छुक थिए। त्यही अनुसार प्राविधिक मूल्यांकन र आर्थिक प्रस्तावको प्रक्रिया पुरा गरिएको थियो। उक्त प्रक्रियामा रमन कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङको जेभीको सबैभन्दा कम कबोल भएकाले उनीहरुलाई बाँध र पावरहाउस निर्माण गर्न ठेक्का दिनेमा पुगिएको बराल बताउँछन्।

यसका लागि केही दिनमा उक्त निर्माण कम्पनीसँग सम्झौता हुने जानकारी उनले दिए।

संरचना निर्माण गर्न आयोजनाले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक १८ अर्ब र भ्याटसहित २० अर्ब रुपैयाँ लागत अनुमान गरेको थियो। तर, निर्माण कम्पनीले साढे १२ अर्ब रुपैयाँमा बनाउने प्रस्ताव गरेको हो।

बरालका अनुसार ४ वर्ष ७ महिनामा डाइभर्सनको बाँध र विद्युतगृह निर्माण पूरा हुनेछ। सुनकोसी-मरिन डाइभर्सन आयोजनाले निर्माण सम्झौताका लागि आशयपत्र भर्खरै सार्वजनिक गरेको छ। अबको केही महिनाभित्र सम्झौता हुनेछ।

करिब ५ वर्षमा आयोजनाको बाँध र विद्युतगृह तथा हाइड्रोमेकानिकलको काम सम्पन्न हुने बराल बताउँछन्।