BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमइ बैंकको साधारणसभाले दियो बैंक अफ काठमाण्डूलाई गाभ्ने अन्तिम स्वीकृति

२०७९ मंसिर २३

ग्लोबल आइएमइ बैंकको साधारणसभाले दियो बैंक अफ काठमाण्डूलाई गाभ्ने अन्तिम स्वीकृति
ग्लोबल आइएमइ बैंकको साधारणसभाले दियो बैंक अफ काठमाण्डूलाई गाभ्ने अन्तिम स्वीकृति


काठमाडौं। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू गाभ्ने र गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। बैंक अफ काठमाण्डूको साधारणसभाले पनि मर्जर एजेण्डा पारित गरेको छ।

Tata
Global Ime

साधारणसभाले मर्जर सम्बन्धि प्रस्तावमा छलफल गरी सर्वसम्मतरुपमा अन्तिम स्वीकृति दिएको हो।

सभाले चल/अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ।

साधारणसभाले बैकको अधिकृत पुँजी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्तावलाई समेत पारित गरेको छ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०७८/७९ को कुल मुनाफाबाट प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन मुनाफा ७ अर्ब १८ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको थियो।

प्रस्तावित बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना सेयरधनीलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए।

उनले बैंकले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जानेसमेत बताए।