काठमाडौं। ललितपुर महानगरपालिकाले २ वर्ष भन्दा बढी अवधिसम्म साधारण सभा नगर्ने, लेखा परीक्षण नगराउने र विवरण अद्यावधिक नगर्ने सहकारी संस्थाहरु खारेज गर्ने भएको छ।
महानगरले त्यस्ता सहकारीहरुको खारेजी प्रक्रिया अघि बढाउने भन्दै आइतबारदेखि ३५ दिन भित्र ती सहकारी संस्थाहरुले महानगरमा लिखित कारणसहित उपस्थित हुन समेत निर्देशन दिएको छ।
महानगरले आफ्नो नियमन क्षेत्र भित्रका सहकारी संस्थाहरुले विधिपूर्वक साधारण सभा नै नगरी प्रतिवेदन पेस गरेको भन्दै त्यस्तो कार्य नगर्न पनि सूचित गरेको छ।
महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सहकारी संस्थाहरुले साधारण सभाको नाममा सदस्यहरुलाई कार्यालयमा बोलाएर दस्खास्त गराउने र सभाका अन्य प्रक्रिया पूरा नगरी प्रतिवेदन पास गर्ने गरेको गुनासो आएको भन्दै यस्ता कार्य नगर्न सचेत गराएको छ।
कोरोना महामारी तथा डेंगी प्रकोप न्यूनिकरण भइसकेको भन्दै भौतिक रुपमा नै सबै सदस्यहरुको भेला गराइ विधिपूर्वक साधारण सभा सम्पन्न गर्न महानगरले ताकेता गरेको छ। अनुगमनका क्रममा साधारण सभा नै नगरी प्रतिवेदन पेस गरेको भेटिए जरिवानासहित गराइ पुन: साधारण सभा गराउने चेतावनी दिएको छ।
महानगरले सहकारी संस्थाको वार्षिक साधारण सभा २०७९ पुस भित्र अनिवार्य रुपमा सम्पन्न गरी साधारण सभा सकिएको मितिले १५ दिन भित्र वा २०७९ माघ १५ गते भित्र आव २०७९/७९ को वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण महानगरमा पेस गर्न समेत निर्देशन दिएको छ।