काठमाडौं। ब्रोकर कम्पनीहरुले सञ्चालनमा ल्याउने भनिएको टीएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) अन्तिम चरणमा पुगेको छ। तयारीमा रहेका ब्रोकर कम्पनीको सेयर अनलाइन खरिदबिक्री प्रणाली परीक्षण फेजमा पुगेको नेप्सेले जनाएको छ।
'एपीआइ कनेक्सन पाउने चरणमा छन्। आयातित प्रणालीको सफ्टवेयर र नेप्से कारोबारको अनुकूलता परीक्षणका लागि ब्रोकरहरुलाई ताकेता दिइदै छ,' नेप्सेका एक अधिकारीले भने। उनका अनुसार सिमुलेसन परीक्षण निहित हुने हुँदा प्रणाली कारोबारमैत्री हुन अझै केहीबेर लाग्ने छ।
प्रणाली परीक्षणका लागि नेप्सेले 'टेष्ट इन्भाइरोन्मेन्ट म्यानेजमेन्ट' दिइ सहायता गर्नुपर्ने हुन्छ। टेष्ट इन्भाइरोन्मेन्टले परीक्षण कार्यान्वयन गर्न र प्रणालीमा रहेका त्रुटिहरु प्रमाणित गर्न मद्दत गर्छ। यसले प्रयोगयोग्य सफ्टवेयर निर्माण गर्न परीक्षण चक्रलाई सहायता पुर्याउँछ।
तर परीक्षणका लागि नेप्सेले दिने भनिएको समय भने प्राप्त नभइसकेको ब्रोकरहरुको गुनासो छ। अघिल्लो साता नै 'टेष्ट इन्भाइरोन्मेन्ट' दिने भनिए पनि अझै सूचना नआएको टीएमएस ल्याउने ब्रोकर सञ्चालकहरु बताउँछन्।
ब्रोकर संघ नेतृत्वमा ३३ वटा ब्रोकर टीएमएस परीक्षण चरणमा छ। न्युनतम एक महिनासम्म प्रणाली परीक्षण हुन्छ। निश्चित समयसीमा नै भने तय नहुने उनीहरुले जिकिर गरे।
सो लगत्तै हुने थर्ड पार्टी अडिटको प्रमाणीकरणपछि मात्र पूर्णरूपमा ब्रोकरहरुले आफ्नै टीएमएस प्रणाली लागनीकर्तालाई उपलब्ध गराउन सक्ने ब्रोकर संघका अध्यक्ष सन्तोष मैनालीले बताए। सञ्चालनमा रहेका ५० मध्ये ३४ वटा ब्रोकर कम्पनीले भिन्नै टीएमएस ल्याउन नेप्सेमा निवेदन दिएका हुन्।
धितोपत्र कारोबार सञ्चालन विनियमावलीलाई तेस्रो पटक संशोधन गरी धितोपत्र बोर्डले ब्रोकरहरुलाई छुट्टै टीएमएस प्रणाली राख्ने अधिकार दिएको हो। जस लगत्तै उत्साहित ब्रोकरहरुको समूहले नेप्सेमा अनुमति माग्दै निवेदन दिएका थिए। पहिला ब्रोकर आफैंले स्थापना गरेको क्यापटेक नेपाल कम्पनीलाई स्थानीय प्रतिनिधि बनाएर टीएमएस ल्याउने भनिएको थियो। तर, प्रतिनिधि परिवर्तन गरेर ब्रोकरहरुले डीजीहब प्रालिलाई यसको जिम्मा दिएका छन्।
क्यापटेकको मेजर स्वामित्त्व भएको सिटी टेक सोलुसन र ब्रोकरहरु बीच असमझदारी भएपछि स्थानीय प्रतिनिधि परिवर्तन गरिएको स्रोतको दाबी छ। कम्पनीमा ५० ब्रोकर कम्पनीको न्यूनतम ५१ प्रतिशत हिस्सा छ। सिटी टेक एक्लैको २० प्रतिशत स्वामित्त्व छ।
क्यापटेकलाई पाखा लगाएर डिजीहबको सहायतामा ३३ वटा ब्रोकरले कारोबार प्रणाली ल्याउँदैछन्। उनीहरुले श्रीलंकन कम्पनी 'आइरन वान' को प्रडक्ट नेपाल ल्याउँदैछन्। 'आइरन वान' कोलम्बियन स्टक एक्सचेन्जको सफ्टवेयर उत्पादक कम्पनी पनि हो।
५८ नम्बर ब्रोकर नासा सेक्युरिटिज भने भारतबाट टीएमएस प्रणाली ल्याउने भन्दै संघबाट अलग्गिएको छ। छुट्टै प्रणाली ल्याउँदा आवश्यक परिमार्जन र अद्यावधिक गर्न सहज हुने कम्पनीका प्रबन्ध निर्देशक मदन पौडेल बताउँछन्।
'सामूहिक रुपमा ल्याउँदा सामान्य परिवर्तन गर्न पनि सम्बन्धित सबैको मन्जुरी चाहिन्छ,' पौडेलले भने, 'यसले पृथक प्रणाली लगानीकर्तालाई अनुभव गर्ने मौका पनि दिन्छ।' उनका अनुसार भारतको डायन ग्लोबल सोलुसन कम्पनीमार्फत नयाँ टीएमएस ल्याउन नेप्सेमा निवेदनमा दिइएको छ।
यद्यपि उक्त प्रणाली भित्राउने प्रक्रिया धेरै अगाडि बढिनसकेको नेप्सेका अधिकारीहरु बताउँछन्। निवेदन प्राप्त भए पनि नेप्सेले मागेको थप कागजात जुटाउने क्रममा नासा लागिपरेको छ। नेपालको स्ट्रिक्स टेक्नोलोजीमार्फत प्रणाली भित्र्याउने नासाको तयारी हो। यसको लागि ब्रोकर ब्याक अफिस पनि स्वयमकै स्रोत परिचालन गरि निर्माण गरिरहेको पौडेलले बताए।
अन्यले भने डीजीहबलाई आउट सोर्सिङ गरेका छन्। मन्डला सिस्टम प्रालिका कर्मचारीको समझदारीमा डीजीहबले ब्रोकर ब्याक अफिस बनाउँदैछ। मन्डला सिस्टम प्रालिले स्टक ब्रोकर इन्फोर्मेसन सिस्टम बनाएको थियो।