BIZMANDU
www.bizmandu.com

नेपालगंज आसपासमा ट्रिपिङको समस्या हट्ने, प्राधिकरणले २०५० सम्मलाई पुग्ने बनाउँदैछ प्रणाली

२०७९ मंसिर २६

नेपालगंज आसपासमा ट्रिपिङको समस्या हट्ने, प्राधिकरणले २०५० सम्मलाई पुग्ने बनाउँदैछ प्रणाली
नेपालगंज आसपासमा ट्रिपिङको समस्या हट्ने, प्राधिकरणले २०५० सम्मलाई पुग्ने बनाउँदैछ प्रणाली


काठमाडौं। नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगंज तथा कोहलपुर क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय बनाउन प्रसारण र वितरण प्रणालीका पूर्वाधार संजाल निर्माण गर्ने भएको छ।

Tata
Global Ime

नेपालगंज र आसपासका क्षेत्रमा सन् २०५० सम्म सम्भावित विद्युत माग वृद्धि प्रक्षेपण गरी धान्न सक्ने प्रसारण तथा वितरणलाइन तर्फका पूर्वाधार चरणबद्धरूपमा निर्माण गर्ने भएको हो।

नेपालगंज, कोहलपुर र त्यस आसपासका क्षेत्रमा भइरहेको सहरीकरण र औद्योगिकरणका आधारमा सन् २०५० भित्रमा विद्युत माग करिब ८ सय मेगावाट पुग्ने अनुमान गरिएको छ। खपत बढाउने योजना अनुसार विद्युत आपूर्तिका लागि नेपालगंज क्षेत्रमा वितरण प्रणालीको संजाल विस्तार र सुदृढीकरण गर्न लागिएको हो।

विद्युत आपूर्तिको तत्कालको समस्या समाधान गर्न हाल संचालनमा रहेका प्रसारण र वितरण प्रणालीका संरचनाहरुको सुदृढीकरण,स्तरोन्नति र विस्तार गरिने छ। दीर्घकालीन मागलाई सम्बोधन गर्न र विद्युत खपत बढाउन ४००, २२० र १३२ केभीका उच्च क्षमताका प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण गरिने छ।

कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा प्राधिकरणको उच्चस्तरीय टोलीले शनिबार र आइतबार नेपालगञ्ज क्षेत्रको अनुगमन गर्दै जानकारी लिएको छ। परामर्शदातासमेत सम्मिलित टोलीले भविष्यको विद्युत मागलाई सम्बोधन गर्न बनाउनुपर्ने नयाँ लाइन तथा सवस्टेसनहरू निर्माणस्थल, रुटको पहिचान लगायतका विषयमा स्थलगत अनुगमन गरेको थियो। प्राधिकरणले अब यही आधारमा तत्काल र दीर्घकालीन रुपमा गर्नुपर्ने योजना तयार गरी सोही आधारमा प्रसारण र वितरण लाइन र सबस्टेसनहरुको निर्माण अगाडि बढाउने छ।

घिसिङले उपभोक्ताहरुले ब्योहोर्दै आएको तत्कालको समस्या समाधान गर्न ११ तथा ३३ केभी लाइन तथा सवस्टेसनको सुदृढीकरण र विस्तार गरिने बताए। ३३ र ११ केभी लाइन सुधारका लागि आवश्यक काम भइरहेको कार्यकारी निर्देशक घिसिङले प्रष्ट पारे। चालु रहेका प्रसारण तथा वितरण प्रणालीले गर्मीयाममा नधान्दा नेपालगंज क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङ, भोल्टेज डाउनलगायतका समस्या उपभोक्ताहरुले बेहोर्दै आएका छन्।

प्राधिकरणले कोहलपुरमा १३२ केभीको नयाँ सबस्टेसन निर्माण गर्न लागेको छ । सवस्टेसन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गरिसकिएको छ। अहिले निर्माण व्यवसायी छनोटका लागि बोलपत्रदाताहरुको प्रस्ताव  मूल्यांकन भइरहेको छ।

सो सवस्टेसनबाट १३२ केभी प्रसारण लाइनलाई नेपालगंजस्थित ३३/११ केभी सवस्टेसनलाई विस्तार गरी १३२ केभी बनाएर लाइन लैजाने योजना बनाएको छ। अहिले नेपालगंजमै रहेको अर्को ३३/११ केभी सवस्टेसनको पनि क्षमता विस्तारको काम भइरहेको छ। यसबाट नेपालगञ्ज क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने अपेक्षा छ।

‘भविष्यमा नेपालगंज क्षेत्रमा हुने विद्युतको मागलाई सम्बोधन गर्न दाङको लमहीबाट राप्ती नदीको आसपासबाट बाँके, बर्दियाको मैनापोखरी हुँदै कैलालीको टीकापुरसम्म दक्षिण करिडोर ४००/२२० केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययन गरिरहेका छौं। साथै भारतसँगको थप विद्युत व्यापारका लागि कोहलपुरबाट भारतको नानपारासम्म उच्च क्षमताको लाइन बनाउन लागेका छौं। यसबाट भोल्टेज सुधार हुनेछ,' घिसिङले भने,‘बझाङ, दार्चुलाका जलविद्युत र बाँकेको सौर्य आयोजनाबाट उत्पादित विद्युत चालू आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने हुँदा गत वर्षभन्दा यो वर्ष भोल्टेजको समस्या कम हुने छ।’

प्राधिकरणले भारतसँगको दक्षिणी सीमास्थित हुलाकी राजमार्गको समानान्तर ४०० केभीको चार सर्किट प्रसारण लाइन र सवस्टेसनहरु निर्माण गर्ने योजना अगाडि बढाएको छ। चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट ४०० केभी र तल्लो दुई सर्किट १३२ केभीमा सञ्चालन ल्याउने गरी प्रसारण लाइन करिडोरको निर्माण गरिने छ।

स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ठाउँ-ठाउँमा सवस्टेसनहरुको निर्माण गरिने छ। अहिले प्रस्तावित प्रसारण लाइनको रुट र सवस्टेसनहरु रहने स्थान तय गर्ने कामहरु भइरहेको छ।

कोहलपुरबाट कर्णाली प्रदेशको सुर्खेतसम्म १३२ केभी प्रसारण लाइन निर्माणाधीन छ। सुर्खेतबाट दैलेखसम्म १३२ केभी प्रसारण लाइन निर्माण गर्न टेण्डरको प्रक्रियामा छ। दैलेखबाट जुम्लासम्म १३२ केभी लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन भइरहेको छ। सबै लाइनहरु निर्माण सम्पन्न भएपछि कर्णाली नदी जलाधार क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत कोहलपुर सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ।