BIZMANDU
www.bizmandu.com

सरकारी कम्पनीले ४४ करोड थान बियरमा टाँस्ने अन्त:शुल्क स्टिकर छाप्दै, मसी र कागजका लागि बोलपत्र


सरकारी कम्पनीले ४४ करोड थान बियरमा टाँस्ने अन्त:शुल्क स्टिकर छाप्दै, मसी र कागजका लागि बोलपत्र
सरकारी कम्पनीले ४४ करोड थान बियरमा टाँस्ने अन्त:शुल्क स्टिकर छाप्दै, मसी र कागजका लागि बोलपत्र


काठमाडौं। सुरक्षण मुद्रण केन्द्रले बियरमा टाँस्ने अन्त:शुल्क स्टिकर छपाई गर्ने भएको छ। स्वदेशी तथा विदेशी बियरमा टाँस्ने स्टिकर छपाई गर्ने भएको हो।

Tata
Global Ime

केन्द्रले छपाईका लागि आवश्यक पर्ने सामाग्री आयातका लागि कम्पनी छनोट गरेको छ। सोमबार केन्द्रले सामाग्री खरिदका लागि प्रिन्ट सेल प्रालि ललितपुरलाई छनोट गरेको छ।

केन्द्रले स्टिकर छपाईका लागि आवश्यक पर्ने मसी र कागजका लागि बोलपत्र २०७९ असोज ६ गते खुलाएको थियो। सो बोलपत्रमा भाग लिने कम्पनीमध्ये सबैभन्दा कम बोलकबोल गर्ने प्रिन्टसेलले पाएको हो। 

कम्पनीले सहभागीमध्ये सबैभन्दा कम ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँमा सामाग्री ल्याउने कबोल गरेको हो। यो मूल्यमा अभिवृद्धि कर (भ्याट) समावेश छ।

केन्द्रले अत्याधुनिक प्रिन्टिङ मेसिन खरिद गरी काभ्रेमा राखेको छ। सो मेसिनको अनुगमन गर्दै अर्थमन्त्री जनार्दन शर्माले मदिरामा टाँस्ने स्टिकर छपाई गर्न निर्देशन दिएको हो।

आन्तरिक राजस्व विभाग र केन्द्रबीच ४४ करोड थान बियरमा टाँस्ने स्टिकर छपाईको लागि सहमति भएको छ। यो सरकार-सरकार (जीटुजी) प्रणाली भएकोले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयकै बजेटबाट खर्च व्यावस्थापन गरिनेछ।  

हाल विभागले जनक शिक्षा सामाग्री केन्द्रलाई स्टिकर छपाईको जिम्मा दिएको छ। तर केन्द्रले बियरमा टाँस्ने स्टिकर छपाई गर्न नसक्दा मुद्रणलाई प्रदान गरिएको हो। पछिल्लो समय जनक शिक्षाले छापेको स्टिकरमा समस्या देखिन सुरु भएको छ। 

स्टिकरमा कम ग्लु र सजिलै नच्यातिने हुँदा एक पटक भन्दा धेरै पटक प्रयोग गर्न मिल्ने खालको रहेको छ। 

विशेषगरी बियरमा टाँसिने स्टिकर रिलमा छपाई गर्नुपर्ने हुन्छ। मुद्रणले पछिल्लो पटक ल्याएको मसिनले यो छाप्न सक्ने दाबी गरिएको छ।