BIZMANDU
www.bizmandu.com

जीबीआइएबाट उडानका लागि मार्चमा सारिएको म्याद एनएसीलाई लागू नहुने, छुट्टै पत्र जारी

२०७९ मंसिर २८

जीबीआइएबाट उडानका लागि मार्चमा सारिएको म्याद एनएसीलाई लागू नहुने, छुट्टै पत्र जारी
जीबीआइएबाट उडानका लागि मार्चमा सारिएको म्याद एनएसीलाई लागू नहुने, छुट्टै पत्र जारी


काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले एक साता अघि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि स्थगित गरेको समयसीमा नेपाल वायुसेवा निगमलाई लागू नहुने भएको छ।

Tata
Global Ime

प्राधिकरणले मंगलबार निगमलाई पत्र जारी गर्दै यो स्थगित मिति निगमका लागि बाध्यकारी नहुने जनाएको छ। निगमले अगाडि नै सेड्‍युल पेस गरिसकेका कारण भैरहवाबाटै क्वालालाम्पुर उडान गर्न सक्ने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

'निगमले १९ डिसेम्बरबाटै भैरहवाबाट उडान गर्ने तयारी गरिरहेको छ। भैरहवामा कम्तीमा एउटा उडान गर्ने गरी यो निर्देशन जारी गरिएको हो,' उनले भने,'अन्तर्राष्ट्रिय वायुसेवालाई मार्चबाट उडान गर्न निर्देशन दिइए पनि यसअघि नै निगमले सेड्‍युल स्वीकृति लिइसकेको थियो।'

गत डिसेम्बरमा मार्चबाट उडान निर्देशन दिइ पनि इच्छुक वायुसेवाले यस अघि नै भैरहवाबाट उडान संचालन गर्न सक्ने उनले जानकारी दिए।

भैरहवाबाट मलेसिया र कतार उडान गर्ने व्यवसायिक योजना बनाएको निगमले भने हालसम्म यी दुवै मुलुकबाट स्वीकृति पाइनसकेको जनाएको छ। उडान स्वीकृति पाएको एक सातापछि मात्र टिकट बिक्री सुरु गर्ने योजना बनाएको निगमले प्राधिकरणले पछिल्लो समय जारी गरेको निर्णयप्रति आपत्ति जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको समय पछाडि सारिएपछि गत डिसेम्बर ५ मा प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई जारी गरेको मिति डिसेम्बर १६ देखि स्थगित गर्दै मार्चमा स्थान्तरण गरेको थियो।

टीआइएको धावनमार्ग डिसेम्बरबाटै मर्मत सम्भार गर्ने भनिएको थियो। तर, धावनमार्गको कामका लागि स्पेनिस कम्पनी सान्जोसेको निर्माण सामाग्री हटाउन नसक्दा समय सारिएको प्राधिकरणले जनाएको छ।

धावनमार्ग मर्मतको पूर्वनिर्धारित योजना पछाडि सरेसँगै प्राधिकरणले अक्टोबरबाट लागू हुने गरी कटौती भएको नेपाली वायुसेवा कम्पनीको नियमित उडान तालिका फुकुवा गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नेपाल वायुसेवा निगमको १४ वटा उडान कटौतीमा परेका थिए। डिसेम्बर १९ बाट लागु हुनेगरी फुकुवा गरिएको प्रवक्ता निरौलाले जानकारी दिए।