BIZMANDU
www.bizmandu.com

कोभिडको आडमा कार्टेलिङ ढाकछोप गर्न खोज्दै हवाई सेवा कम्पनी, ‘सस्तोमा उडाएका छौं’

२०७९ मंसिर २८

कोभिडको आडमा कार्टेलिङ ढाकछोप गर्न खोज्दै हवाई सेवा कम्पनी, ‘सस्तोमा उडाएका छौं’
कोभिडको आडमा कार्टेलिङ ढाकछोप गर्न खोज्दै हवाई सेवा कम्पनी, ‘सस्तोमा उडाएका छौं’


काठमाडौं। हवाई टिकटमा कार्टेलिङ गरेर यात्रुलाई मर्का पुर्‍याइरहेका हवाई सेवा कम्पनीहरुको वकालत गर्दै उनीहरुको छाता संगठनले विज्ञप्ति जारी गरेको छ।

Tata
Global Ime

जहाज खाली उडाउने तर मूल्य भने नघटाउने सहमतिविरुद्ध बिजमाण्डूले निरन्तर खबरदारी गरिरहेका बेला वायु सेवा सञ्चालक संघ नेपालले बुधबार एक विज्ञप्ति जारी गर्दै कार्टेलिङको पक्षमा उभिएको हो।

‘आन्तरिक हवाई भाडामा कार्टेलिङ शीर्षकमा निरन्तर तथा नियोजित रुपमा समाचार प्रकाशन भएकोमा गम्भिर ध्यानाकर्षण भएको छ,’ संघले भनेको छ।

यो पनि पढ्नुहोस्: आन्तरिक हवाई सेवा कम्पनीबीच भाडादर निर्धारणमा मिलेमतो, सबै कम्पनीको एउटै भाडादर

कम्पनीहरुबीच भइरहेको कार्टेलिङलाई ढाक्न संघले कोभिड महामारीलाई हतियार बनाएको छ। विगतमा भएको कोभिड महामारीबाट धरासायी भएका वायुसेवा कम्पनीहरू हाल आएर पुरानै लयमा फर्कन संर्घषरत रहेको भन्दै संघले कार्टेलिङको वकालत गरेको हो।

‘कोभिड १९ संक्रमणपछि वायुसेवाहरुले सुलभ भाडादर कायम गरेकै कारण आन्तरिक यात्रुहरूको संख्या बढेको तथ्यांक सबैलाई थाहा नै छ,’ संघको विज्ञप्तिमा छ, ‘संघ तथा संघका सदस्य वायुसेवा कम्पनीहरूको एउटै उद्देश्य सम्पूर्ण यात्रुलाई सुरक्षित, सुनिश्चित तथा भरपर्दो तरिकाबाट आ-आफ्नो गन्तव्यमा पुर्‍याउनु हो।’

संघले वायुसेवा कम्पनीहरूले सरकारले निर्धारण गरेको न्युनतम र अधिकतम भाडा दरको अधिन भित्रै रहेर यात्रुसँग हवाई भाडा लिनुपर्ने भएता पनि हाल त्योभन्दा कम दरमा आफ्नो सेवा उपलब्ध गराएको जनाएको छ।

संघले सरकारले मूल्य तोकिदिएको बताइरहँदा नियामकले भने त्यसको खण्डन गरिसकेको छ।

यो पनि पढ्नुहोस्: उड्डयन कम्पनीले कसरी गरिरहेका छन् मूल्यमा कार्टेलिङ? खाली उडाउन तयार तर भाडा घट्दैन

वायुसेवा कम्पनीका जहाज दुई वा तीनवटा फ्लाइट मर्ज गरेर खाली उडिरहेका छन्। तर अर्थशास्त्रको सिद्धान्त ‘माग र आपूर्ति’ बाट मूल्य तय हुनुपर्ने आधारभूत मान्यतालाई कार्टेलिङले निष्प्रभावी बनाएको छ। उनीहरुबीच एउटै भाडादर कायम गर्ने सहमति भएको छ। उनीहरुको सहमतिले ब्यपार प्रवर्द्धन गर्ने कानुनको उल्लंघन गरिरहेको छ।

स्थापित सिद्धान्त र कानुनको बर्खिलाप गएका कम्पनीहरुको पक्षपोषण गर्दै संघले बुधबार विज्ञप्ति जारी गरेको हो।

पोखराबाट काठमाडौं होस् या काठमाडौंबाट भैरहवा, अहिले सबैतिर उड्डयन व्यवसायीले हवाई टिकटमा कार्टेलिङ गरिरहेका छन्। यो कार्टेलिङमा बुद्ध, यती, श्री एयरलायन्सलगायत सबै एकै ठाउँमा छन्। फ्लाइट मर्ज हुने गरेको स्वयं हवाई कम्पनीका प्रतिनिधि समेत स्वीकार्छन्।

यो पनि पढ्नुहोस्: खुला बजारविरुद्ध मात्र होइन ‘फौजदारी’ स्थापित हुनेगरी कार्टेलिङमा हवाई सेवा कम्पनीहरु

हवाई कम्पनीहरुले गरेको कार्टेलिङका बारेमा सरकारले पनि छानबिन गर्ने भएको छ। उनीहरुको कार्टेलिङका बारेमा नागरिकस्तरबाट विरोध हुन थालेपछि संघ अगाडि आएर प्रतिरक्षा गरेको हो। संघले बुधबार आकस्मिक बैठक डाकेको थियो। बैठकपछि समाचार गलत भएको भन्दै विज्ञप्ति जारी गरेको छ।

समाचारमा भएका तथ्यका बारेमा भने विज्ञप्ति मौन छ। त्यहाँ उठाइएका कानुनी प्रावधानदेखि स्थापित सिद्धान्तका बारेमा पनि संघ मौन बसेको छ। संघमा बुद्ध, यति र श्रीलगायतका कम्पनीका प्रतिनिधिहरु नेतृत्वमा छन्। त्यही भएर संगठित रुपमा बिरोध गरिएको स्रोतले जनाएको छ।

यो पनि पढ्नुहोस्: उदार अर्थतन्त्रविपरीत सरकारले तोक्छ हवाई भाडाको न्युनतम सीमा, त्यही टेकेर कम्पनीको कार्टेलिङ

यो पनि पढ्नुहोस्: हवाई भाडादरमा कार्टेलिङको त्यो अमेरिकी मुद्दा, जसमा जेलै परेका थिए सञ्चालक