काठमाडौं। नेपालबाट कतारका लागि हुने उडानमा नेपाल वायुसेवा निगम हमाद नगइ दोहा उडान-अवतरण गर्ने भएको छ। कतार सरकारको पत्रपछि यस्तो गरिने भएको हो।
विश्वकप फुटबलको मिति नजिक आएर कतार सरकारले सीमित अवधिका लागि हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरणमा रोक लगाएको घोषणा गर्दै वायुसेवाहरुलाई जानकारी गराएको छ।
नेवानिले अब दोहा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ उडान गर्ने भएको निगम प्रवक्ता अर्चना खड्काले बताइन। 'कतार सरकारले आउँदो बिहीबारबाट लागू हुने गरी तीन महीनाका लागि हमाद नआइ दोहा जान पत्राचार गरेको छ,' उनले भनिन्। निगमले त्यसलाई मानेर सूचना जारी गरिसकेको उनले बताइन।
'अहिले विश्वकपका लागि युरोपेली मुलुकबाट धेरै यात्रु आवतजावत हुनेभएपछि कतारको अनुरोधमा सीमित अवधिका लागि दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गरिएको हो। चाप कम भएसँगै उताबाट आएको निर्देशन अनुसार पुनः हमाद उडान गर्नेछौं,' उनले भनिन्।
उक्त गन्तव्यमा हाल निगमले साताको चारवटा उडान गर्दै आएको छ। कतार अवतरणको विमानस्थल परिवर्तन भए पनि भाडादरमा भने कुनै फरक नपर्ने उनले बताइन। हाल यो गन्तव्य उडानका लागि सुरुवात एकतर्फी भाडादर ३५ हजार रुपैयाँ छ।
यसैगरी कतारको ध्वजावाहक कम्पनी कतार एयरवेजले विश्वकपका बेला नेपाल उडान घटाउने निर्णय गरिसकेकोछ। कम्पनीले नेपालका लागि हुँदै आएको ५० प्रतिशत उडान घटाउने भएको हो। विश्वकपमा सहभागी हुनेलाई ध्यानमा राख्दै अधिकांश उडान उनीहरुको सेवामा केन्द्रित गरिने छ।
कम्पनीले विभिन्न मुलुकमा दिँदै आएको उडान सेवा विश्वकपका सहभागी हुने ठाउँलाई ध्यानमा राखेर तय गर्ने निर्णय गरेको हो। विश्वकपका कारण करिब डेढ महिनाका लागि कतार एयरवेजले नेपाल उडान ५० प्रतिशतले घटाउने निर्णय गरेको छ।
कतारको ध्वजावाहक यो कम्पनीले हाल नेपालतर्फ साताको २८ वटा उडान गर्दै आएकोमा नोभेम्बर २० बाट साताको १४ वटा मात्र उडान गर्ने तयारी गरिसकेको छ।
हाल नेपाल-कतार गन्तव्यमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, कतार एयरवेज लगायत तीन वायुसेवा कम्पनीले नियमित व्यवसायिक उडान गर्दै आएका छन्। नेपालका लागि प्रमुख श्रम बजारमा रुपमा रहेको यो गन्तव्यमा समान्यतया अकुपेन्सी ८० प्रतिशतभन्दा माथि कायम हुँदै आएको कम्पनीहरुले जनाएका छन्।


