नेपालमा प्रत्यक्ष वैदेशिक लगानी १४.८ प्रतिशतले बढ्यो, सबैभन्दा धेरै औद्योगिक क्षेत्रमा



बिजमाण्डू
२०७९ भदौ २८ गते १४:२० | Sep 13, 2022


नेपालमा प्रत्यक्ष वैदेशिक लगानी १४.८ प्रतिशतले बढ्यो, सबैभन्दा धेरै औद्योगिक क्षेत्रमा


काठमाडौं। नेपालमा प्रत्यक्ष वैदेशिक लगानी वृद्धि भएको देखिएको छ। आर्थिक वर्ष २०७७/७८ मा अघिल्लो वर्षभन्दा १४.८ प्रतिशतले वृद्धि भएको हो।

Tata
Global Ime

राष्ट्र बैंकले मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै प्रत्यक्ष वैदेशिक लगानी वृद्धि भएको देखिएको हो।  बैंकले लगानीसम्बन्धी क्षेत्रगत अवस्था विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीका सम्बन्धमा प्रत्येक वर्ष स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।

प्रतिवेदनमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १ सय ९७ वटा कम्पनीको नमुना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरणको विश्लेषण गरिएको छ। 

सर्वेक्षणबाट प्राप्त नतिजा अनुसार नेपालमा आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको २ सय २७ अर्ब ९५ करोड कायम रहेको छ ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको हो ।
 

२०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये भारतबाट सबैभन्दा बढी ७५ अर्ब ८१ करोड र त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड, सिंगापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युत क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ ।

यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ ।

समीक्षा वर्षमा वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको पाइएको छ भने नाफाको दर करिब १४.७ प्रतिशत रहेको पाइएको छ ।