काठमाडौं। ट्वीटरका सेयरधनीले इलन मस्कको ४४ अर्ब डलरको सम्झौता प्रस्तावलाई अनुमोदन गरेका छन्।
ट्वीटरका सेयरधनीले मंगलबार मस्कले कम्पनीलाई ४४ अर्ब डलरमा किन्नका लागि गरेको सम्झौतालाई अनुमोदन गर्ने पक्षमा मतदान गरेका हुन्। कम्पनीको सानफ्रान्सिस्को मुख्यालयमा लगानीकर्ताहरूको भेलाले यस्तो गरेको हो।
मस्क भने कम्पनी खरीद गर्ने प्रस्तावबाट पछि हटिसकेका छन्। प्रस्ताव गरेर पछि हटेका मस्कसँग कम्पनीको वित्तीय साखमा प्रतिकूल प्रभाव पार्ने गतिविधि गरेको भन्दै ट्वीटर व्यवस्थापन रुष्ट छ।
ट्वीटरले अब अदालतमा मस्कलाई कम्पनी किन्न बाध्य पार्ने प्रयास गर्नेछ। मस्कलाई कम्पनी बेच्न ट्वीटरले गत अप्रिलमा सहमति गरेको थियो।
तर मस्कले प्लेटफर्ममा स्पाम र बट खाताहरूको संख्याको बारेमा ट्वीटरले भ्रमित गरेको आरोप लगाएपछि सम्झौताको प्रक्रियामा ब्रेक लागेको थियो। मस्कले मे महिनामा कम्पनी नकिन्ने बताएका थिए। तर ट्वीटरले भने मस्क सम्झौताबाट पछि हट्न नपाउने स्पष्ट पारेको छ।
ट्वीटरको हालको मूल्यांकन करिब ३२ अर्ब डलरको छ। मस्कले सम्झौता गरेको उक्त रकमभन्दा १२ अर्ब डलर बढी हो। मस्कले अमेरिकी सांसदहरूलाई यो सामाजिक सञ्जाल कत्तिको सुरक्षित छ भनेर जनतालाई भ्रमित गरिरहेको बताएका थिए।
ट्वीटरका पूर्व सुरक्षा प्रमुख पिटर जाट्कोले ट्वीटर सुरक्षा मापदण्डमा एक दशक पछाडि रहेको बताएका थिए। लगतै ट्वीटरले उनलाई पदबाट बर्खास्त गरेकाले आफ्नो दाबीलाई पुष्टि गरेको मस्कले बताएका थिए।
सेयरधनीको सो अनुमोदनले ट्वीटरलाई कानुनी बाटो खुल्ला भएको छ। दुबै पक्षअक्टोबरमा डेलावेयर राज्यको अदालतमा भेट्ने तयारी गरिएको छ। सुनुवाइको क्रममा एक न्यायाधीशले मस्कले कम्पनी किन्ने वा नकिन्ने भन्नेमा निर्णय गर्नेछन्।
सेयरधनीले सो सम्झौता अनुमोदनको निर्णय गर्नुभन्दा केही समय अगाडि प्रमुख जाट्कोले सुरक्षा त्रुटिहरूको बारेमा सिनेटको न्यायिक समितिमा बयान दिएका थिए।


