.jpg)
काठमाडौं । तीन सातादेखि लगातार बढिरहेको कुखुराको मासुको मूल्य सोह श्राद्ध सुरु भएपछि घटेको छ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले सोह श्राद्धले मासुको खपतमा कमी आएपछि मूल्य घटाएको बताएको छ । तीज सुरु भएपछि कुखुराको मासुको खपत बढेको भन्दै संघले १० दिनमा ३ पटक मूल्यवृद्धि गरेको थियो।
साउन महिनामा जिउँदो कुखुरा प्रतिकेजी २ सय ५० रुपैयाँ थियो। भदौ महिना सुरु भएपछि प्रतिकेजी १० रुपैयाँको दरले मूल्य बढेर जिउँदो कुखुरा प्रतिकेजी २ सय ७० रुपैयाँ पुगेको थियो ।
यतिबेला भने मासुको खपतमा कमी आएपछि जिउँदो कुखुराको मूल्य प्रतिकेजी १० रुपैयाँले घटेको संघका सचिव देव गिरीले बताए। 'सोह्र श्राद्ध अब केही समय मासुको खपतमा कमी आउने भएकोले मूल्य थप घट्दै जानेछ,'उनले भने ।
'हाल जिउँदो कुखुराको कोल्डस्टोर मूल्य प्रतिकेजी २ सय ६० रुपैयाँ कायम भएको छ । अबदेखि उपभोक्ताले कुखुराको मासु प्रतिकेजी ३ सय ३० रुपैयाँ देखि ३ सय ४० रुपैयाँमा खरिद गर्न सक्नेछन्,'उनले भने ।
हाल बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकेजी ३ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ। यस अघि स्वदेशी उत्पादन कम भएकोले उपत्यकाबाहिर र भारतबाट जिउँदो कुखुरा आउने गरेको थियो । यतिबेला उपत्यकामा कुखुराको उत्पादन धेरै छ। बजारको माग भन्दा उत्पादन धेरै भएकोले मूल्य अझै घट्ने संघले जनाएको छ ।
यति बेला सोह्र श्राद्धले खपत घटाउदा दैनिक प्रतिकेजी ४ लाख भन्दा कम खपत हुँदै आइरहेको संघको भनाई छ । पछिल्लो समय कुखुराको मासुको खपत दैनिक पाँच लाख केजी भन्दा बढी हुँदै आएको थियो। उपत्यकामा मात्र दैनिक साढे ३ लाख केजीभन्दा धेरै खपत हुने संघले जनाएको छ ।


