हलहरुमा नेपाली फिल्मलाई विभेद ‘वर्षौंदेखिकै दीर्घरोग’, किन चर्किरहेको छ शो बाँडफाँटको विवाद?



२०७९ भदौ ३० गते ०९:३० | Sep 15, 2022


काठमाडौं। फिल्म उद्योगमा गत सातादेखि शो बाँडफाँटको विवाद फेरि चर्कियो। भदौ २४ गते शुक्रवार ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा :बिनिथ द ब्रेभरी’ को प्रदर्शन मिति तय थियो। सिनेमा हलहरुले भने बुधवारसम्म अग्रिम टिकट खुलाउने बताएको थियो।

Tata
Global Ime

तर, बिहिवार लाग्दा पनि हलले 'शो टाइम' खुलाएनन्। त्यसपछि फिल्म ‘ऐना झ्याल पुतली’ का निर्देशक सुजित बिडारीले हलले शो नखुलाएको भन्दै आक्रोश पोखे। हिन्दी फिल्म ‘ब्रह्मास्त्र’ सेन्सर पास नहुँदा नेपाली फिल्मले पनि शो नपाएका बिडारीको गुनासो थियो।

बिडारीको उक्त अभिव्यक्तीसँगै मल्टिप्लेक्स हलहरुले गर्ने शो बाँडफाँटको विवाद ब्युँतियो। हिन्दी फिल्मको सेन्सरमा ढिलाइ हुँदा हलसञ्चालकले सेन्सर भइसकेका नेपाली फिल्मको समेत बुकिङ खुला नगरिदिएको फिल्मकर्मीको आरोप थियो। सामाजिक सञ्जालमा बिडारीलाई साथ दिँदै फिल्मकर्मीले आवाज उठाए। त्यसपछि चलचित्र निर्माता संघ र नेपाल चलचित्र निर्देशक समाजले विज्ञप्ति निकालेर आपत्ति जनाए।

आलोचनापछि हल संचालकको छाता संगठन ‘नेपाल चलचित्र संघ’ ले पनि विज्ञप्ति निकाल्दै सोमवार (भदौ २७ गते) हल बन्द गर्ने निर्णय गर्‍यो। आफूहरुमाथि चौतर्फी आक्रामण भइरहेको र व्यवसाय नै संकटमा परेको भन्दै उनीहरुले हल नै बन्द गर्ने निर्णय गरेको थियो। यद्यपि, संघ हल बन्द गर्ने निर्णयबाट पछि हट्यो।

विदेशी फिल्म ‘ब्रह्मास्त्र’ लाई अत्याधिक र नेपाली फिल्मलाई कम शो दिएपछि अहिले शो बाँडफाँट बहसको विषय बनेको छ।

यसअघि निर्माता अर्जुनकुमारको फिल्म पनि विदेशी फिल्मको चेपुवामा परिसकेका छन्। हल संचालकले नेपाली फिल्मलाई भन्दा विदेशी फिल्मलाई बढी प्राथमिकता दिने आफूले अनुभव गरेको सुनाउँछन उनी।

गतवर्षको पुस २ गते फिल्म 'चपली हाइट ३' प्रदर्शन हुने घोषणा भएको थियो। निर्माता अर्जुन कुमारले प्रचार-प्रसार गरे। तर सोही बेला नेपालमा विदेशी फिल्म ‘स्पाइडरम्यान’ र ‘पुष्पा’ प्रदर्शनमा आउने भएपछि उनी वितरकसँग रिसाए पनि। विदेशी फिल्मको रिलिज तत्कालका लागि रोकेर नेपाली फिल्म चल्नुपर्ने उनको माग थियो। तर, एक्लैले बोल्दा केही नलागेपछि अन्तत: दुई विदेशी फिल्मको मारमा पर्ने डरले मिति नै सारे उनले।

सोही बेला आफूले विदेशी फिल्म विरुद्धमा आवाज उठाउँदा कसैले साथ नदिएको उनको गुनासो छ।

‘नेपाली फिल्मलाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो पहिल्यैदेखिको माग हो। मैले पनि यो समस्या भोगेको छु। तर त्यतिखेर कसैले साथ दिएनन्। नेपालमा सबै आफूलाई पर्दा मात्रै बोल्छन्। अरु समस्यामा पर्दा भने बोल्दैनन्। जसकारण निर्माताहरूले यो समस्याको सिकार हुनुपरेको हो,’ उनले भने।

गत शुक्रवार ‘ऐना झ्यालको पुतली’ सँगै ‘गोर्खा’ पनि रिलिज भयो। तर फिल्मकर्मीले भने ‘ऐना झ्यालको पुतली’ को शो को बारेमात्रै बोले। ‘गोर्खा’ को बारेमा कसैले एक शब्द बोलेनन्। अर्जुनकुमार फिल्मकर्मीहरुबिच आफैँभित्र भेदभाव रहेको बताउँछन्।

भन्छन्, ‘हामी विदेशी फिल्मलाई बढी शो दिएर भेदभाव गरियो भन्छौँ। तर, खासमा हाम्रो नेपाली सिनेमाभित्र पनि ठूलो भेदभाव हुन्छ। दुबै नेपाली फिल्म रिलिज भएता पनि फिल्मकर्मीले बोल्नेलाई मात्र साथ दिए। किनकी गोर्खाले शो नपाउँदा कोही बोलेनन्। त्यसैले हामीले हललाई मात्रै दोष लगाएर हुँदैन आफूभित्र रहेको विभेद पनि हटाउनुपर्छ।’

निर्देशक तथा समीक्षक दिपेन्द्र लामाको यसमा फरक मत राख्छन्। फिल्म ‘ऐना झ्यालको पुतली’ बुसानमा छनोट भएकाले राम्रो छ भन्ने प्रमाण सबैमा छोडेको उनी बताउँछन्। तर, गोर्खाको खासै प्रचारप्रचार नहुँदा धेरैलाई थाहासमेत नभएको र फिल्मकर्मीले पनि साथ नदिएको उनले सुनाए।

के भन्छन् सम्बन्धित निकायहरू?

निर्माता संघका अध्यक्ष नवल खड्काले पनि यो पटकपटक आउने समस्यालाई समाधान गर्न जरुरी रहेको बताए। नेपाल चलचित्र संघसँगसँग वार्तापछि कार्यदल बनेको र आगामी दिनमा कुनै समस्या आएमा 'टेबुलटक' गर्ने निर्णय भएको उनले बताए।

विवादकै समाधानका लागि असोज ११ गते ‘नेपाली चलचित्रको विकास र विस्तारको खोजी’ विषयमा अन्तर्क्रिया कार्यक्रम गरिरहेको उनले जानकारी दिए। उनका अनुसार कार्यक्रममा सरकारदेखि चलचित्रसम्बन्धि सम्पूर्ण निकायलाई बोलाइने छ। उक्त अन्तर्कियामा शो बाँडफाँटदेखि प्राइम टाइम, अग्रिम बुकिङ, हल विज्ञापन लगायतका विभिन्न विषयमा छलफल गरि आएको निचोडलाई लिएर अघि बढ्ने योजना छ उनको।

त्यस्तै, चलचित्र संघका महासचिव एवं हल संचालक नरेन्द्र महर्जनले कार्यदल गठन भइ आफूहरूबिचको विवाद सकिएको बताए। अब कुनै समस्या आउँदा मिडियाबाजी नगर्ने र विज्ञप्ति ननिकाल्ने भन्दै महर्जनले आफूहरू वार्तामा बसेर समाधान गर्ने तर्क अघि सारे।

उनी हलमा धेरै फिल्म रिलिज हुनुलाई विवाद उत्पन्न हुनुको कारण मान्छन्। भन्छन्, ‘खासमा धेरै फिल्म रिलिज हुँदा विवाद आएको हो। धेरै फिल्म भएपछि शो कम भइहाल्छ नि! हामीले पनि जुन फिल्ममा बढी दर्शक आउँछ त्यसैलाई बढी शो दिने हो। अस्ति ‘लाइगर’ नचल्दा प्रकाशलाई शो थपेकै थियौँ। नेपाली फिल्ममा दर्शक आउँदा हामीले स्वत: शो थप गछौँ।’

हल सञ्चालकलाई विदेशी फिल्मभन्दा नेपाली फिल्म चल्दा नै बढी फाइदा हुने बताउँछन् उनी। उनका अनुसार नेपाली फिल्ममा १५ प्रतिशत कर छुट हुने तर विदेशी फिल्ममा १५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ।

किन हुन्छ पटक पटक विवाद?

नेपालमा विदेशी र नेपाली फिल्मको शो बाँडफाँटको विषयमा विवाद हुनु नौलो विषय होइन। जब बहुचर्चित विदेशी फिल्महरू रिलिज हुन्छन् तब नेपाली फिल्महरू जहिल्यै चेपुवामा पर्छन्। विदेशी फिल्मले उच्च शो पाउँदा नेपाली फिल्मलाई भने शो पाउन नै मुस्किल हुन्छ। फिल्म रिलिज हुँदा ताका फिल्ममेकरले स्वदेशी फिल्मलाई हलले शो बाँडफाँटमा भेदभाव गरेको भनि गुनासो पोखेको सुनिन्छ।

तर, यो विवाद सिर्जना हुनुमा हल सञ्चालक र फिल्मकर्मी दुवै गलत रहेको लामाले बताए।

‘हलवाला र निर्माताहरूले एकअर्कालाई नबुझ्दा यस्तो भएको हो। नेपाली फिल्म निर्माताले पनि आफैले बढी शो पाउनुपर्छ भन्न मिल्दैन। त्यस्तै, हल सञ्चालकले पनि दर्शकले विदेशी फिल्मकै डिमाण्ड गरेको र बढी शो दिएको तर्क बलियो छैन,’ उनले भने।

हलवालाले हरेक फिल्मलाई समान व्यवहार गर्नुपर्ने बताउँदै विदेशी फिल्मलाई नै बढी प्राथमिकता दिन नहुने सुनाए उनले। साथै, फिल्मकर्मी र हल संचालकबिचको हुने विवादमा वितरक बढी जिम्मेवार हुने दाबी छ लामाको।

‘हल सञ्चालकलाई सबैभन्दा ठूलो प्रेसर वितरकबाट हुन्छ। वितरकले नेपाली फिल्म चलाए वापत यति पैसा लिने भनेको हुन्छ। जुन पैसा उसले फिल्म फ्लप भए पनि लिन्छ। जसकारण स्वदेशी फिल्ममा वितरकको पैसा सुरक्षित हुन्छ,’ उनले भने, ‘तर विदेशी फिल्मलाई वितरकले करौडौं खर्च गरेर ल्याएको हुन्छ। जसले फिल्म चलेन भने सबै लगानी डुब्ने डर हुन्छ।

जसकारण नेपाली र विदेशी फिल्मको एउटै वितरक भए पनि उसले विदेशीलाई नै बढी शो र प्राइमटाइम हलवालालाई माग्छ। शो दिएन भने ठूलो फिल्म आउँदा आफूले नदिने धम्कीसमेत दिन्छ वितरकले। जसकारण हलवाला पनि विदेशीलाई राम्रो शो दिन्छन्।’

के भन्छन् भुवन केसी?

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी भने फिल्मको शो बाँडफाँट गर्ने कार्य बोर्डको काम नभएको बताउँछन्। उनी विश्वभरका फिल्म नेपालमा प्रदर्शन हुनुपर्ने तर धेरै शो भने नेपाली फिल्मले नै पाउनुपर्ने आफ्नो मान्यता रहेको बताउँछन्। तर, अहिले नेपाली फिल्मलाई शो नदिएको आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएको उनले बताए।

‘बोर्डले वा भुवन केसीले नेपाली फिल्मलाई हल र शो दिएन भनेर नकरात्मक हल्ला फैलाउँदै मेरो बदनाम गरिएको हो। जुन उनीहरूले आफ्नो फिल्म चलाउनका लागि गरेको फन्डा हो। तर, अहिलेसम्मको नियमअनुसार विकास बोर्डले हल वा शो दिने होइन। यो नीति नियम बनाउने निकाय हो। त्यसैले वितरणमा बोर्डको कुनै हात छैन,’ उनले भने।

बोर्डले राष्ट्रिय चलचित्रको हकहितका लागि मात्रै काम गर्ने केसीको भनाई छ।

केसी भन्छन्, ‘मेरो पनि पहिलो प्राथमिकता नेपाली फिल्म नै हो। हल पाउनुपर्छ भन्ने मेरो पनि चाहना हो। तर शो वितरणमा हाम्रो पावर चल्दैन। विदेशी फिल्मलाई रोक्ने भन्दा पनि विदेशी सिनेमा नेपालमा र नेपाली सिनेमा विदेशमा चलोस् भन्ने हाम्रो मान्यता हुन्छ। शोमा विभेद ५० वर्षदेखिको दीर्घरोग हो। जसलाई कसरी उपचार गर्न सकिन्छ भनेर हामी लागिरहेका छौँ।’