काठमाडौं। असारको तुलनामा साउन महिनामा मासिक आयात घट्दा शोधनान्तर घाटामा भएपनि कम कायम भएको छ। पोहोर साउनमा ३८ अर्ब ७५ करोड रुपैयाँ घाटामा रहेको शोधनान्तर यसपाली २२ अर्ब ६३ करोड घाटामा खुम्चिएको छ।
असार मसान्तमा देखिएको सुधारले चालु आर्थिक वर्षको पहिलो महिनाबाटै राम्रो संकेत गर्छ भनेर विश्लेषणहरु आइरहेका बेला साउनले भने खासै सुखद संकेत भने गरेको छैन।
आयात घटेपनि रेमिटेन्समा उच्च सुधार देखिएन। रेमिटेन्स ९२ अर्ब २१ करोड रुपैयाँ मात्र भित्रिएको छ। जबकी असारमा १०३ अर्ब १३ करोड भित्रिएको थियो।
आयात १५७ अर्ब २३ करोडबाट १३१ अर्ब २९ करोडमा खुम्चिएका कारण चालु खाता घाटा ४९ अर्ब ९० करोडबाट १६ अर्ब २६ करोडमा सीमित हुन पुगेको छ। यो भने केही हदसम्म सुखद हो।
विदेशी मुद्राको सञ्चितिमा क्षयीकरण जारी छ। असारमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको सञ्चिति साउनमा ११ खर्ब ९७ अर्ब ८५ करोडमा खुम्चिएको छ। यो भनेको १७ अर्ब ९५ करोड रुपैयाँले कम हो।