
काठमाडौं। आकस्मिक रुपमा लाइसेन्स बनाउनु पर्ने भएमा अब अनलाइनमार्फत आवेदन दिन सकिने भएको छ। विभिन्न कारणले छिट्टै नै सवारीचालक अनुमतिपत्र आवश्यक भएमा अब अनलाइनमार्फत आवेदन दिएर लिन सकिने यातायात व्यवस्था विभागले जनाएको छ।
यस अघि भने आकस्मिक लाइसेन्स प्रिन्ट गर्न सम्बन्धित कार्यालयमा नै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो।
विभागले एक सूचना जारी गर्दै असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकहरूले आकस्मिक लाइसेन्स निकाल्न सक्नेछन्।
सेवाग्राहीले आवश्यक कागजातहरू अनलाइनमा नै प्रविष्ट गर्नसक्ने बताइएको छ। निवेदकले सवारीचालक अनुमतिपत्र लिन जाँदा निवेदनको प्रिन्टसहित पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति लिएर विभागमा पेस गर्नुपर्नेछ।