
काठमाडौं। दसैं सुरु हुन अब एक साता पनि बढी छैन। यतिबेला न्युरोड र महाबौद्धका तयारी पोसाक, जुत्ता-चप्पल थोक बजारहरूलाई भीडले अहिले छपक्कै छोपेको हुनुपर्ने हो। तर न्युरोड र महाबौद्धका थोक पसलहरूमा सामान छनोट र अर्डर गरिरहेका खुद्रा बिक्रेताको भीड देखिँदैन।
धेरैजसो थोक पसल-प्रतिष्ठानमा बिक्रेताहरू ग्राहकको पर्खाइमा देखिन्छन्। भरियाहरु सामान बोक्न मान्छे पर्खिएर बसेका छन्। खुद्रा बिक्रेता निकै कम बजारमा सामान लिइरहेका छन्।
पोहोरको भन्दा व्यापारमा ७० देखि ९० प्रतिशतसम्म गिरावट आएको थोक व्यवसायीहरू गुनासो गर्छन्। व्यापार न्यून हुँदा पनि सामानहरूको मूल्य भने गत वर्षको भन्दा २५ प्रतिशत हाराहारी बढेको छ। खुद्रा बिक्रेताले निकै कम सामान लगेका छन्। यो दसैंको व्यापार अहिलेसम्मकै निराशाजनक भएको थोक व्यवसायीहरू सुनाउँछन्।
रन्जना मलस्थित ओएमजी कलेक्सनकी सञ्चालक सुलोचना श्रेष्ठ यसपालिको दसैंमा व्यापार सुकेको बताउँछिन्। 'पोहोरपरारका तुलनामा ९५ प्रतिशत हाराहारी नै घटेको छ,' फेन्सी, लेडिज वेयरको थोक व्यवसायमा १२ वर्षदेखि आबद्ध उनी भन्छिन्, ‘अहिलेसम्म यस्तो दसैं कहिल्यै थिएन। व्यापार ठप्प छ, अफ सिजन चलिरहेको जस्तै छ।’
उनका अनुसार बिगतमा भीडले गर्दा बजार राति ११/१२ बजेसम्म पनि खुल्थ्यो, हिजोआज सम्साँझै पसलहरु बन्द हुन्छन्। अहिले अर्थतन्त्रमा छाएको विश्वव्यापी संकट तथा मन्दीको नै असरले व्यापार सुस्ताएको उनको बुझाइ छ। 'पोहोर यस्तो बेला दैनिक हजार पिस बेच्थ्यौं, अहिले सय-डेढ सय पिस मात्रै बिक्री गर्न पनि धौधौ परिरहेको छ,' उनले भनिन्।
न्युरोड तथा महाबौद्धमा रहेका थोक बिक्रेताहरूबाट काठमाडौं उपत्यकासँगै बिभिन्न जिल्लाका खुद्रा बिक्रेताले सामान लैजान्छन्। दसैंमा माग हुने सामान लिन बिगतमा यतिबेला खुद्रा बिक्रेताको भीड हुने गरेको थियो। न्युरोडको फेन्सी सामान थोक बिक्रेता प्रियस इन्टरप्राइजेजकी उमा उप्रेती भन्छिन् 'पोहोरको तुलनामा यो पटक बिजनेस धेरै नै डाउन भएको छ।'
पोहोर र कोरोनाकाल सुरु हुनु अघिको समयको व्यापार तुलना नै गर्न नसकिने उनले बताइन्। 'पोहोरको तुलनामा यो वर्ष २५ प्रतिशत पनि व्यापार छैन,' उनले भनिन्। दसैंमा ५-६ करोडसम्मको पनि व्यापार गरेको अनुभव भएकी उमा हाल दैनिक व्यापार २-३ लाखको व्यापारमा सीमितमा भएको बताउँछिन्, ‘दसैंको बेला प्राय:जसो केही नभए पनि दिनमा ८-१० लाखको व्यापार हुन्थ्यो तर यो पालि त्यस्तो छैन।’
पाँच वर्षदेखि यस व्यवसायमा आबद्ध उमा भन्छिन्, ‘यो सबै लकडाउनकै असर हो। फाइनान्स कम्पनीहरूले ऋण दिएका छैनन्। खुद्रा व्यापारीहरूले प्राय: दसैंका लागि सामान राख्नलाई फाइनान्स कम्पनीहरूसँग लोन लिएर कारोबार गर्ने गर्थे। तर यसपालि उनीहरूसँग त्यो विकल्प छैन।’
थोक बिक्रेताहरूका लागि दसैंको व्यापार हुने समय लगभग सकिइ नै सक्यो। उपत्यका बाहिरको खुद्रा व्यापारीहरू पनि त्यति माग नआएको व्यवसायीहरू बताउँछन्।
उमाका अनुसार पोहोर धनगढी, सुर्खेत, नेपालगन्ज, हेटौंडा, इटहरी लगायतबाट ठूलो संख्यामा खुद्रा व्यापारी दसैंको सामानहरू किन्न आउने गर्थे। तर यस पटक त्यस्तो भीड घटेको छ।
दोलखाका एक खुद्रा व्यापारी रमेश गिरी भन्छन् ‘यो पालि व्यापार नै छैन। हरेक दसैंमा लाखौंका सामान लिएर जान्थ्यौं। यो पटक त्यसको आधिको पनि सामान हाल्न सकेको छैनौं।’
बच्चाका तयारी पोसाकको थोक बिक्रेता आलोक अग्रवाल भन्छन्, ‘दसैंको बेला दैनिक १ लाख जस्तो व्यापार हुने गर्थ्यो। आजभोलि बोहोनी गर्न पनि गाह्रो भएको छ। सुनसान छ सबैतिर। न सामान समयमा आउँछ, कन्टेनरको भाडा, ढुवानीको, कस्टम सबै नै बढेका छन्।’
अर्का व्यवसायी तथा काठमाडौं लीभ द ड्रिमका राजु श्रेष्ठ पनि व्यापार निकै घटेको बताउँछन्। उनले जेन्स लुगाको थोक कारोबारमा आएको झन्डै एक दशक भइसक्यो। यसपालिको दसैं व्यापारलाई यसरी व्याख्या गर्छन्, ‘दुई वर्ष अगाडिको व्यापारभन्दा पोहोर सालको व्यापार ५० प्रतिशतले घटेको छ। यसपालि त्यही ५० प्रतिशतको पनि ४० प्रतिशत पनि छैन। चिनियाँ नाका २५ गते बन्द भएर ३० गते बल्ल खुल्ला गरिएको थियो। चलेका पसलहरू नै दसैं अगाडि नै सामानसहित ब्रिकीमा छन्।’
व्यापारको परिमाण बढे कर्जा लिएर कारोबार गर्ने हिम्मत आउने उनको अनुभव छ। तर यतिबेला कर्जा लगानी गरेर पनि व्यापारमा फाइदा हुने अवस्था नभएको उनको अनुभव छ। 'ठूलो भोल्युममा काम हुँदा लोनबाट काम हुन्छ। तीन वर्ष अगाडि राम्रो व्यापार हुन्थ्यो। त्यही लोनले नै कमाइ हुन्थ्यो तर अहिले खर्च धान्नै नै मुस्किल छ,' राजु बताउँछन्।
उनका अनुसार हाल धेरै व्यवसायीहरू स्टकका सामान नै बेचिरहेका छन्। ३०/४० थरीका सामानहरू मगाउनेले दुई-तीन थरी मगाएका छन।
रन्जना मलका जेन्स वेयरका अर्का थोक बिक्रेताले भने ‘म यो व्यवसायमा करिब ९ वर्षदेखि आबद्ध छु। यो पालिको सिनारियो धेरै नै फरक भयो। व्यापार १५ प्रतिशतमा नै सीमित छ। व्यापार ८०-९० प्रतिशतले घटेको छ।’
उनी यसका कारणहरू बताउँछन्, ‘यो विश्वव्यापी संकटको नै नतिजा हो। तरलता अभावले गर्दा बजारमा क्यास फ्लो नै सीमित भएको छ। महँगी पनि आकासिएको छ, ८ प्रतिशतले बढेको छ। यसले गर्दा सर्वसाधारणको खरिद गर्ने क्षमता नै घटेको छ। बैंकले पनि मनलाग्दी किसिमले ब्याज लिइरहेको छ। मेरो आफ्नै ब्याज ७।५ प्रतिशत थियो अहिले बढेर १५ प्रतिशत तिरिरहेको छु।’
सामान्य अवस्थामा प्राय: भदौदेखि पुसको अन्तिमसम्म राम्रो व्यापार हुने गरेको व्यवसायीहरू बताउँछन्। अझ दसैंको बेलामा व्यापार बढी हुने घटस्थापना अघिको १० देखि १५ दिन हो। यो समयमा कतिपय थोक व्यवसायीहरूले ५०/६० लाखदेखि १ करोडसम्म व्यापार गर्थे। तर यसपटक दसैंको व्यापार सकिन चार-पाँच दिन बाँकी हुँदासम्म अपेक्षित चहलपहल छैन।
नेपालका धैरैजसो थोक बिक्रेताहरू अधिकांश तयारी पोसाक, जुत्ता-चप्पल चीनबाट आयात गर्ने गर्छन्। व्यवसायीका अनुसार धेरैले चाडपर्वका लागि ठूलो संख्यामा आवश्यक सामाग्री अर्डर गर्ने गरेका भए पनि यसपालि डेलीभरी नै पाएनन्। अर्डर सीमित, त्यसमा पनि डेलीभरी निकै कम भएकाले खुद्रा बिक्रेताका लागि छनोट धेरै उपलब्ध छैन।
एक व्यवसायीले भने 'प्राय चाडपर्वका लागि ७०-८० लाखको करिब ५० बोरा जति सामान मगाउने गर्थे तर यसपटक मगाएको नै छैन।' १५० भारी मगाउने गरेका व्यवसायीले पनि अहिले १५-२० भारी मा नै सीमित देखिएको उनले बताए। कतिपय व्यवसायी त सीमानाका खुल्ने नखुल्ने टुंगो नभएकाले नेपालकै उत्पादनहरू उठाइरहेका छन्।
जुत्ताका एक थोक बिक्रेता भन्छन्, ‘समयमा सामान ल्याउन पनि गाह्रो छ। सामान आउन धेरै समय लाग्ने गरेको छ। त्यसैले अहिले म त नेपालकै उत्पादन बिक्री गर्दैछु।’
ओम साइ इन्टरप्राइजेजका आशिष श्रेष्ठ दसैंको व्यापार ७५ प्रतिशतले घटेको बताउँछन्। सामान पनि २० देखि २५ प्रतिशतले महँगिएको उनले बताए। उनका अनुसार दसैं बजार पोहोर-परार जसरी बिजनेस हुन नसक्नुका केही खास कारण छन्। बजारमा आपूर्तिदेखि सर्वसाधारणको छनोट र क्रम क्षमतासम्म जोडिएर आउँछ।
सुलोचना भन्छिन्, ‘हरेक सामानको रेट २०० रुपैयाँ भन्दा महँगो भएको छ। ६ सयमा पाइने ट्राउजरलाई अहिले ८ सयमा बेच्न परिरहेको छ। रेट उतैबाट नै बढेर आएको छ। भन्सार पनि बढेको छ। सिपिङ चार्ज सबै नै बढेका छन्।’