काठमाडौं। सग्तानी एक्जिम प्रालिले नौ महिनामा ३३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ। २०२१/२२ मा कम्पनीको कारोबार ५२ प्रतिशतले बढ्ने रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ।
किचेन र लाउन्डी उपकरणको व्यापार गरेको कम्पनीले २०२१/२२ को नौ महिनामा ३३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ।
इन्जिनियर तथा प्राविधिक टोलीबाट प्रोजेक्ट कन्सल्टेन्सी, म्यानेजमेन्ट, उपकरण जडान र तालिमलगायतको सेवा कम्पनीले दिइरहेको छ।
कम्पनीले आइएफबी, रामसन्स, कुटचाइना, युएनओएक्स, नयाती, इकोल्याब लगायतका ब्राण्डसँग साझेदारी गरिरहेको छ। २०२१ मा कम्पनीले २९ करोड ४० लाख रुपैयाँ, २०२० मा २६ करोड १० लाख र २०१९ मा २८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो। कोरोना महामारीले पारेको असरलाई कम गर्दै २०२१/२२ मा भने कम्पनीको वित्तीय अवस्था मजबुद बन्दै गएको देखिन्छ।
कम्पनीमा विनोद सग्तानीको ६० प्रतिशत र बाँकी ४० प्रतिशत लवान्स सग्तानीको सेयर स्वामित्व छ।
कम्पनीले ४१ करोड ७० लाख रुपैयाँ बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ। २० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एल डबल बी माइनस रेटिङ पाएको छ। ४१ करोड ४९ लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि कम्पनीले एनपी ए फोर रेटिङ पाएको छ।


