ब्याज बढाउने बैंकहरुको निर्णयविरुद्ध महासंघ, तत्काल बढेको ब्याज दर स्थागन गर्न माग



बिजमाण्डू
२०७९ असोज ५ गते १८:२३ | Sep 21, 2022


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले ब्याज वृद्धिको चर्को विरोध गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले ब्याज वृद्धिको बिरोध गरेको हो।

Tata
Global Ime

बैंकहरुले असोज १ गतेदेखि लागू हुने गरी निक्षेप र ऋणको ब्याज बढाएका छन्। साधारण मुद्दतीको ब्याज ११.०३ प्रतिशतबाट १२.१३३ प्रतिशत पुर्‍याएका छन्। बचतको ब्याज दर पनि दोहोरो अंकमा पुगेको छ।

निक्षेपको ब्याज बढ्दा आधार दर उक्लिएर ऋण पनि महँँगो भएको छ। 

'बढदो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामानको मूल्य अकासिएर सर्वसाधारणको जीविका पनि कष्टकर हुँदै गएको छ,' महासंघको विज्ञप्तिमा छ, '८ प्रतिशतभन्दा माथि पुगिसकेको मुद्रास्फीति दरलाई बैंक वित्तीय संस्थाहरूको ब्याज वृद्धिको निर्णयले थप माथि लग्नेछ।'

महासंघले अर्थतन्त्र सुंकचित हुँदै जाँदा सरकारको राजस्व संकलन समेत करिब २० प्रतिशतले न्यून हुने जनाएको छ। 

संकटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्था रहेको भन्दै महासंघले भनेको छ- ब्याज वृद्धिको निर्णयले ब्याज दरमा अस्थिरता हुँदा सञ्चालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरूत्साहित हुनेछ।

अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघले आग्रह गरेको छ।