क्यासलेस बन्दै भाटभटेनी सुपरमार्केट, एनसीएचएलले सुरु गर्‍यो नेपाल पे क्यूआरबाट भुक्तानी



बिजमाण्डू
२०७९ असोज ७ गते १६:१४ | Sep 23, 2022


क्यासलेस बन्दै भाटभटेनी सुपरमार्केट, एनसीएचएलले सुरु गर्‍यो नेपाल पे क्यूआरबाट भुक्तानी


काठमाडौं। नेपालको सबैभन्दा ठूलो रिटेल चेनको रुपमा रहेको भाटभटेनी सुपरमार्केटमा पनि अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ।

Tata
Global Ime

नेपाल पे क्यूआरलाई ग्राहकले नेपाल पेको सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आइपीएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिने नेपाल क्लियरिङ हाउस लिमिटेडले जनाएको छ। 

भाटभटेनीमा उक्त सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान सोलुसन्सको सहकार्यमा सुचारु गरिएको बताइएको छ। उक्त स्टोरमा डाइनामिक नेपाल पे क्यूआर राखिएको हुँदा ग्राहकले सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ। 

ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेटबाट नेपाल पे चल्ने यकिन गर्न उक्त एपको क्यूआर स्क्यान स्क्रिनमा नेपाल पेको लोगो रहेको यकिन गर्नुपर्ने बताइएको छ।

हाल उक्त सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा विकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, समृद्धि फाइनान्स, सेल पे, मोरु गरी १२ वटा मोबाइल बैंकिङ, दुईवटा वालेट र कनेक्टआइपीएस मोबाइल एपमा उपलब्ध रहेको एनसीएचएलले जनाएको छ। 

नेपाल पे क्यूआरमा बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकमार्फत हालसम्म स्ट्याटिक क्यूआर, डाइनामिक क्यूआर, क्यूआर गेट वे र क्यूआर पोसमार्फत ७० हजारभन्दा बढी मर्चेन्टहरु आबद्ध भइसकेको बताइएको छ।