आजबाट छोटो तथा लामो दुरीका सवारीलाई यान्त्रिक परीक्षण, कस्ता सवारीले गर्नुपर्छ अनिवार्य?



बिजमाण्डू
२०७९ असोज ९ गते १२:५४ | Sep 25, 2022


काठमाडौं। चाडपर्वमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न गृह मन्त्रालयले सवारीको अनुगमनदेखि व्यवस्थापनमा चासो देखाएको छ। 

Tata
Global Ime

सरकारले चाडपर्वको बेला दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिनेगरी गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको छ।

समितिले काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनमा अनिवार्य यान्त्रिक परीक्षण गराउनुपर्ने भएको छ। आज (असोज १०) गतेदेखि लागू हुने गरी यान्त्रिक परीक्षण गराउनुपर्ने भएको हो। यसरी यान्त्रिक परीक्षण नगराई सवारी चलाएमा कारबाही गर्ने गृह मन्त्रालयका प्रवक्ता सहसचिव पोखरेलले बताए। 

'जसले यान्त्रिक परीक्षण नगराई सवारी चलाएको पाइन्छ त्यस्ता सवारीलाई तत्कालै कारबाही गर्छौँ,' उनले भने।

गृहप्रवक्ता पोखरेलको संयोजकत्वमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मिरा चौधरी, यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, नेपाल प्रहरी ट्राफिक निर्देशनालयका प्रहरी नायब महानिरीक्षक वसन्त कुँवर र यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वार सदस्य रहेको समिति बनाएको हो। समितिको निर्णयअनुसार यान्त्रिक परीक्षण अनिवार्य बनाइएको हो।

कुन-कुन सवारीले यान्त्रिक परीक्षण अनिवार्य?

असोज १ गतेदेखि दसैंका लागि घर जानलाई लामो तथा छोटो दुरीका सार्वजनिक सवारीको टिकट बुकिङ खुल्ला भइसकेको छ। सोमबारबाट दसैं सुरु हुँदैछ। त्यसैले अहिले बसपार्कमा घर फर्किनेको भीड देखिन थालिसकेको छ।

त्यसैले आजदेखि नै यान्त्रिक परीक्षण नगराएका सवारी साधनलाई कारबाही गर्न सुरु भएको छ। सरकारले चाडपर्वको लागि लामो र छोटो दुरीमा चल्ने सवारीको लागि रूट परमिट खुल्ला गरेको छ। जस्तो काठमाडौँदेखि झापा चल्ने गाडीले आवश्यकता देखेको खण्डमा चाडपर्वको अवसरमा काठमाडौँदेखि कैलालीसम्म पनि यात्रा गर्न पाउने छ। तर त्यसको लागि सम्बन्धित निकायमा गएर रुट परमिट लिनुपर्ने हुन्छ। यसरी रूट परमिट लिँदा नै उनीहरूको यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाएको सहसचिव पोखरेलले बताए।

'जब उनीहरूले अर्को रूटको लागि परमिट लिन्छन् त्यतिखेर नै यान्त्रिक परीक्षण गर्नुपर्ने हुन्छ। नत्र कारबाहीमा पर्छन्,' उनले भने।

यसरी फरक रूट परमिट लिएर गुड्ने सार्वजनिक तथा भाडाका सवारी साधनले अनिवार्य रुपमा यान्त्रिक परीक्षण गराउनुपर्ने छ। तर निजी सवारी साधनको लागि भने यान्त्रिक परीक्षण आवश्यक छैन। निजी सवारी साधानहरुले समय समयमा नै यान्त्रिक परीक्षण गराएका हुन्छन्।

चार पाङ्ग्रे सवारीको प्रदूषण जाँच गराउनुपर्ने हुन्छ। काठमाडौं उपत्यका यातायात व्यवस्था कार्यालय एकान्तकुनादेखि अन्य कार्यालयहरूमा प्रदूषण जाँच गर्न सकिन्छ।

चाडपर्वमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न समितिले लामो तथा छोटो दुरीका सवारी साधनको निगरानीसमेत बढाएको छ। लामो दुरीका सार्वजनिक सवारीमा दुई चालकको व्यवस्था, सिटभन्दा बढी यात्रु बोक्ने, छतमा यात्रु राख्ने जस्ता कार्य गरेमा कारबाही गर्ने छ।

दसैं-तिहारको समयमा काठमाडौं उपत्यकाबाट २० लाख मानिस बाहिरिने गरेको प्रहरीको तथ्यांकले देखाउँछ। त्यस्तै दैनिक औसत ६ हजार भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। चाडपर्वको समयमा अन्य समयको तुलनामा बढी दुर्घटना र मानवीय क्षति पनि हुने गरेको छ।