
काठमाडौं।अघिल्ला वर्ष स्वदेशी गार्मेन्ट उद्योगहरुमा दसैंका लागि उत्पादनको चाप पर्ने गरेको थियो। ती गार्मेन्टमा कपडा सिलाएर भ्याईनभ्याई हुन्थ्यो।
काठमाडौंका विभिन्न स्थानमा रहेका गार्मेन्ट उद्योगमा अहिले चाप छैन। उनीहरुले अरु बेलाको जस्तै चलिरहेका छन्। व्यवसायीका अनुसार गार्मेन्ट उद्योगमा दसैंको कुनै रौनक छैन। 'गत वर्ष कोभिड हुँदा पनि दसैंमा यस्तो निराशाजनक अवस्था थिएन,' एक गार्मेन्ट व्यवसायीले भने, 'अहिले अधिकांश उद्योग अरु बेलाको जस्तै सामान्य रुपमा चलेका छन्।'
कोभिडले गर्दा बाहिरी मुलुकबाट तयारी पोसाकको आयातमा कमी आएसँगै स्वदेशी तयारी पोशाकको माग एकाएक बढेको थियो। माग बढेपछि कतिपय उद्योगीले क्षमता विस्तार पनि गरेका थिए। क्षमता विस्तार गर्ने व्यवसायी अहिले समस्यामा परिरहेका छन्। अघिल्ला वर्ष उपत्यका र बाहिरका जिल्लाबाट व्यवसायीहरुले दसैंका लागि नयाँ/नयाँ डिजाइनका कपडा अर्डर गर्थे। कतिपयले गार्मेन्टले बनाएको कपडानै खरिद गरेर लैजान्थे।
कपडाको माग नभएकोले धेरै उद्योगीहरुले उत्पादन घटाएको तयारी पोसाक उत्पादक संघका अध्यक्ष किशोर नेपालले बताए। 'कपडा व्यवसायमा पनि आर्थिक मन्दिको असर परेको छ। अहिले ४० प्रतिशत व्यापार घटेको छ,' उनले भने,'कपडाको अर्डर कम आएको छ। देशभरिनै कपडाको माग घटेको छ। बैंक र सहकारीले ऋण नदिँदा व्यवसायीहरुले कपडा खरीद समेत घटाउँदै लगेको संघले जनाएको छ।
यो वर्ष सोचेजस्तो कारोबार नभएको मनकामना कपडा उद्योगका संस्थापक सुमित प्रधानले बताए। गत वर्षको भन्दा बिक्री आधाले घटेको बताउँदै उनले भने-'बजारमा पैसा छैन्। सहकारीहरुले ऋण दिन छोडेका छन्। बैंकको चर्को ब्याजदर तिर्न व्यवसायीलाई मुस्किल पर्न थालेको छ।'
उद्योगहरु कपडा उत्पादनको सिजन हुन्छ। तर यो वर्ष बैशाखबाटै व्यापारमा असर परेको उनले बताए। यो वर्ष देशभरनै कपडाको कारोबार घटेको छ। यो वर्ष कपडाको मूल्य पनि २० देखि ३० प्रतिशतले बढेको उनले बताए। 'पहिले ३ सय रुपैयाँ पर्ने टिसर्ट ४ सयदेखि ५ सय पर्छ। ८ सय रुपैयाँ पर्ने पाइन्ट एक हजार रुपैयाँ भन्दा बढी पर्न थालेको छ,' उनले भने।
ड्रागो नेपालका संस्थापक पुष्पराज पराजुलीले दसैंमा कपडा कारोबार ३० प्रतिशत भन्दा बढीले घटेको बताए। 'दसैंमा हुनुपर्ने जति माग छैन्। यो वर्ष कपडाको बिक्री हुँदैन भनेर व्यवसायीहरुले कम परिमाणमा खरीद गरेका छन्,' उनले भने, ' यस अघि ५ लाख रुपैयाँको सामान लैजाने व्यवसायीहरुले यो दसैंमा ३ लाख रुपैयाँको मात्र खरीद गरिरहेका छन्।' पराजुलीका अनुसार यो वर्ष कपडाको मूल्य पनि १५देखि २० प्रतिशतले बढेको छ।