काठमाडौं। हङकङको ध्वजावाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिकले अढाई वर्षपछि आफनो नियमित यात्रु उडान शनिबारदेखि सुरु गरेको छ। कम्पनीले साताको दुई उडान गर्नेछ। कम्पनीले हङकङ–काठमाडौं–हङकङ उडान सुरु गरेको हो।
यसअघि प्रयोग गर्दै आएको क्याथे ड्रागन ब्राण्ड बन्द भएसँगै कम्पनीले नेपालमै पहिलोपटक प्यासेफिक ब्राण्डमार्फत आफ्नो सेवा सुरु गरेको आधिकारिक जिसएसए अमरावती ट्राभलले जनाएको छ।
यसअघि कम्पनीले कार्गो सेवा मात्रै दिएको थियो। अमरावतीका अनुसार यात्रुको माग अनुसार उडान थपिनेछ। कम्पनीले कोभिड अघि साताको पाँचवटा उडान गर्दै आएको थियो। क्याथेको सेवा पुनः सुरु भएसँगै भाडादर सस्तिने जनाइएको छ।
क्याथे प्यासेफिक एयरले कोभिड-१९ का कारण आफ्नो तीनवटा ब्राण्डमध्ये एउटा ब्राण्ड 'क्याथे ड्रागन' बन्द गरिसकेको छ। हवाई सेवा व्यवसायमा आएको असहज परिस्थितिका कारण व्यवस्थापन यस्तो निर्णयमा पुगेको हो।
कम्पनीले यसअघि क्याथे प्यासेफिक, क्याथे ड्रागन र हङकङ एक्सप्रेसलगायत तीनवटा ब्राण्डमार्फत उडान गर्दै आएको थियो। तुलनात्मक हिसाबले क्याथे प्यासेफिकको सेवा थप उच्चस्तरको रहेको जनाइएको छ।
कम्पनीका अनुसार तीनवटा ब्राण्डमध्ये हङकङ एक्सप्रेस 'लो कस्ट क्यारियर' अन्तर्गत रहेको छ।


