नेपालसम्म आउने काश्मिरी स्याउ संकटमा, भारतमा इरानी स्याउको प्रवेशले बिगार्‍यो बजार



बिजमाण्डू
२०७९ असोज १६ गते १४:५७ | Oct 2, 2022


काश्मिरमा स्याउको उत्पादनमा रेकर्ड स्तरको बृद्धि भैरहेपनि यसले बजार मूल्य नपाउँदा किसानहरु चिन्तामा छन्। भारतीय बजारमा अबैध इरानी स्याउको प्रवेशसँगै काश्मिरी स्याउले उत्पादनको सही मूल्य नपाएको हो। 

Tata
Global Ime

बिगत एक वर्षदेखि भारतीय बजारमा इरानी स्याउ आइरहेको छ। यसैकारण काश्मिरी स्याउ उत्पादकहरु प्रभावित भएका छन्। एक त इरानी स्याउको बिगबिगी त्यसमाथि सहज ढुवानी सेवा नहुनुले पनि काश्मिरी स्याउ समयमै बजारसम्म पुग्दैन। पुग्दा कुहिएर धेरै नोक्सान भैसकेको हुन्छ। चुस्त ढुवानी सेवा नहुनु तथा  अबैध इरानी स्याउ बजारमा सस्तो मूल्यमा उपलब्ध हुनुले काश्मिरी स्याउ किसानहरु मर्कामा परिरहेका छन्।   गत फेब्रुअरी मा नै काश्मिरका स्याउ ब्यापारी तथा किसानहरुले यसबारे सरकारको ध्यानाकर्षण समेत गराएका थिए।

कर नतिरी अबैध रुपमा इरानी स्याउ भारतीय मण्डीहरुमा आइरहेको किसानहरुको आरोप छ। यसैप्रति चिन्ता जाहेर गर्दै गत वर्ष काश्मिरका  किसान तथा ब्यापारीहरुको संगठन द कश्मीर भ्याली फ्रुट ग्रोअर्स डिलर्स युनियनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र नै लेखेका थिए।

उनीहरुले अफगानिस्तान तथा दुबईबाट आउने इरानी स्याउमाथि तत्काल प्रतिबन्ध लगाउन माग समेत गरेका थिए। यदि इरानी स्याउको अबैध आयात  नरोकिने हो भने जम्मु कश्मीर तथा हिमाञ्चलमा स्याउको खेतीमा निर्भर रहेका किसानहरुको जीवन नराम्ररी प्रभावित हुने उनीहरुको भनाई थियो।

तर अझै पनि यो क्रम रोकिएको छैन। युनियनका अध्यक्ष बशीर अहमद भन्छन्-' गत वर्षदेखि नै इरानी स्याउले काश्मिरी स्याउको बजार बिगार्न सुरु गर्यो। त्यसकारण पोहोरदेखि नै कश्मिरी स्याउको मूल्यमा गिरावट आउन थाल्यो।'

उनका अनुसार पहिले पनि इरानी स्याउ भारत आउँथ्यो तर असाध्यै कम परिमाणमा  थियो। हाल यो परिमाण बढ्दै जाँदा काश्मिरी स्याउको मूल्यलाई प्रभावित बनाएको हो।  सस्तो इरानी स्याउले काश्मिरी स्याउको बजार खाइदिएको छ।

हाल दैनिक १५ हजार स्याउका ट्रक कश्मिरबाट भारतका बिभिन्न मण्डीहरुमा पुग्ने गरेको बताइन्छ। आगामी दिनमा स्याउको उत्पादन बढ्दै जाँदा दैनिक ३ हजार ट्रकसम्म स्याउ बजारमा जाने संभावना  रहेको युनियनको तथ्यांकले देखाउँछ।

हाल काश्मिरका ८० प्रतिशत जनसंख्या प्रत्यक्ष वा अप्रतक्ष्य रुपमा स्याउ उद्योगसँग जोडिएका छन्।