अलिबाबाले इ कमर्स वेबसाइट लजादामा लगानी थप्यो, यूरोपमा बजार बिस्तार गर्ने रणनीति



बिजमाण्डू
२०७९ असोज २१ गते ०९:५९ | Oct 7, 2022


चिनियाँ टेक जायन्ट अलिबाबाले आफ्नो दक्षिणपूर्वी एसियाबेस्ड इ-कमर्स वेबसाइट लजादामा ३७ करोड ८५ लाख डलर लगानी थपेको छ।

Tata
Global Ime

डिल स्ट्रिट एशियाका अनुसार लजादाले सन् २०२० मा अलिबाबाबाबाट भएको १.३ अर्ब डलरपछि हाल सबैभन्दा ठूलो लगानी पाएको हो।

अलिबाबाले लजादालाई यूरोपमा फैलाउने योजना बनाउँदै लगानी थप गरेको बताइएको छ। चीनमा बढ्दो प्रतिस्पर्धाका बीच कम्पनीले यूरोपमा समेत आफ्नो लगानी बिस्तार गर्ने रणनीति बनाएको हो। 

हाल अलिबाबाले अलि एक्सप्रेसको माध्यमबाट यूरोपमा आफ्नो उपस्थिती यसअघि नै जनाइसकेको छ। क्रस बोर्डर ब्यापारका लागि अलिबाबाले यूरोपमा अलि एक्सप्रेसलाई माध्यम बनाएको हो। 

सूचीकृत भैनसकेको कम्पनी लजादाको ग्रस  भ्यालु २१ अर्ब डलर रहेको बताइएको छ। १२ महिनामा यसका ग्राहक १५ करोड ९० लाख रहेको बताइन्छ।

हाल यसको सबैभन्दा ठूलो प्रतिस्पर्धी भनेको सोपी हो जुन सि ग्रुपको स्वामित्वमा छ।

लजादाले हालै आफ्नो नयाँ हेडक्वार्टर सिंगापुरमा खोलेको छ। हाल यो दक्षिण पूर्वी एसियाका ६ देशहरुमा संचालित छ। सोफीले भने यूरोपका पोल्याण्ड र स्पेन लगायतका १३ देशहरुमा आफूलाई बिस्तार गरिसकेको छ।

अलिबाबाले सुरुमा लजादाको ५१ प्रतिशत शेयर स्वामित्व लिएको थियो। सन् २०१६ मै यसले कम्पनीमा १ अर्ब डलर लगानी गरेको थियो। पछि फेरि उसले कम्पनीमा थप एक अर्ब लगानी गर्दै ८३ प्रतिशत शेयर स्वामित्व लियो।

अलिबाबाले लजादाको ग्रस भ्यालु १०० अर्ब डलर पुर्याने लक्ष्य राखेको छ भने सन् २०३० सम्ममा आफ्नो ग्राहक संख्या ३० करोड पुर्याउने योजनामा काम गरिरहेको छ।