इलन मस्कलाई ट्‍वीटरसँगको डिल ‘क्लोज’ गर्न अदालतले दियो अक्टोबर २८ को डेडलाइन



बिजमाण्डू
२०७९ असोज २१ गते १२:०५ | Oct 7, 2022


काठमाडौं। इलन मस्कलाई ट्‍वीटर किन्न अदालतले केही समय दिएको छ। ४४ अर्ब अमेरिकी डलरमा अर्बपति मस्कले ट्‍वीटर किन्ने घोषणा गरेका थिए। तर, ट्‍वीटरले यथेष्ट जानकारी खरिद अघि आफूलाई उपलब्ध गराउन नमानेको भन्दै मस्क ट्‍वीटर किन्ने डिलबाट पछि हटेका थिए। 

Tata
Global Ime

मस्कको उक्त निर्णयविरुद्ध ट्‍वीटरले उनी माथि डेलावेयर अदालतमा मुद्दा हालेको थियो। सोही मुद्दामा अदालतका न्यायाधीशले ४४ अर्बको डिल सम्पन्न गर्न मस्कलाई केही समय दिने गरी आदेश दिएको छ। 

मस्कले ट्‍वीटरको डिल अक्टोबर २८ तारिक भित्र सक्नुपर्ने आदेशमा भनिएको छ। नभए नोभेम्बरदेखि उक्त मुद्दा अघि बढाउने आदेशमा उल्लेख छ। 

अक्टोबर १७ बाटै उक्त मुद्दाको ट्रायल सुरु गरिने भएपछि दुवै पक्षको सहमतिमा केही समय उपलब्ध गराइने भएको छ। मस्कले बिहीबारको पेशीमा बैंकहरुले डिलका लागि काम गरिरहेको र केही समय आवश्यक पर्ने व्यहोरा जानकारी गराएका थिए। उनले अझै एक महिना लाग्न सक्ने भन्दै समय माग गरेका छन्।

मस्कले टेस्लाको सेयर बिक्री गरेर १५.४ अर्ब डलर जम्मा गरेका छन्। बाँकी बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिने तयारीमा छन्। 

४४ अर्ब अमेरिकी डलरको डिल भाँडिएपछि ट्‍वीटरले धनाढ्य मस्कविरुद्ध विश्वका शीर्ष कर्पोरेट ल फर्म नियुक्त गरेको थियो। ट्‍वीटरले मस्कसँग कानूनी लडाइका लागि वाचटेल, लिपटन र रोसेन एण्ड काट्ज एलएलपीलाई उतारेको छ। मस्कले गत अप्रिलमा ट्‍वीटर खरिद गर्ने निर्णय गरेका थिए।