काठमाडौं। आफ्नो घर हरेकको सपना हुन्छ। सुविधायुक्त घर बनाएर बस्ने रहर पनि जो कोहीमा हुन्छ। यो हुनु स्वाभाविक पनि हो। रहरले बनाएको घरलाई क्षति भइदिए आर्थिक भारको जोखिम कसरी बहन गर्ने भन्ने सोच्नुभएको छ?
कोठा/फ्ल्याट भाडामा लिएर बसेकाहरु धेरैले विस्तारै आफ्नै घर बनाउने/किन्ने गर्छन्। कतिपयले सामान्य खर्च जोहो गरेर कामचलाउ घर बनाउने गर्छन् भने कतिपयले ठूलो खर्च गरेर डिजाइनसहितको घर बनाउँछन्। सामान्य पेसा गरिखानेले घर जीवनमा बारम्बार बनाउने सोच राख्दैन। एकटपक बनाएपछि त्यसमा कोठा थप्ला, मर्मत गर्ला, जीवन त्यही घरमा बिताउँछ।
धेरैले सुरुमा घडेरी किन्छन्। विस्तारै घर बनाउने योजनामा हात हाल्छन्। घर बनाउन वा खरिद गर्नका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सजिलो छ। धेरैले यो सुविधा उपयोग गरेर घर बनाउने गरेका छन्।
साथमा तत्काल पर्याप्त नगद नभए पनि घर बनाउन चाहनेलाई गाह्रो छैन। बैंक तथा वित्तीय संस्था धेरै छन्। कतै न कतैबाट ऋण लिन सकिन्छ। घर किन्न होस् वा गाडी, वित्तीय संस्थाले सेवाग्राहीको तिर्न सक्ने क्षमता मूल्यांकन गर्दै ऋण दिन्छन्। यो सुविधा लिए घर बनाउनेहरु निकै बढेका छन्।
ऋण लिएर होस या निजी जोहो वा आम्दानी जोडेर बनाएको घर किन नहोस्, सुरक्षित हुनुपर्छ। जुनसुकै बेला प्राकृतिक प्रकोप, भवितव्य, हुलदंगा, आगलागी आदि विविध विपत्तिबाट घरलाई क्षति हुन सक्नेबारेमा सर्वसाधारणमा सचेतना बढेको छ। त्यसैले घरको बीमा गर्नेहरु बढिरहेका छन्। बीमाले क्षतिको शतप्रतिशत क्षतिपूर्ति नदिए पनि जोखिमको केही हिस्सा बहन गर्छ, जसले विपत्तिका अवस्थामा अर्को वास बनाउन वा मर्मत गर्न सघाउँछ।
घटना/दुर्घटना पूर्व सूचना दिएर हुँदैनन्। दुःखले बनाएको बास सुरक्षित हुनुपर्छ। क्षतिको जोखिम बहनका लागि बीमा उत्तम विकल्प हो। क्षतिबाट आर्थिक भार कम गर्नका लागि घर बीमा गर्न सक्ने व्यवस्था छ।
कसैले पनि घर बनाउँदा वा तयार भइसकेपछि बीमा समितिले स्वीकृति दिएको निर्जीवन बीमा कम्पनीसँग बीमा गर्न सक्छन्। बीमा समितिले बीमा शुल्कमा एकरुपता ल्याउन दर रेट तोकेको छ। तोकिएका दरमा बीमा कम्पनीहरुले घर बीमा गर्ने गर्छन्। विभिन्न अवस्था, सर्त र रकमको बीमा गर्न सकिन्छ।
जसमा व्यक्तिले ठेकेदारसँगको समझदारीमा वा आफैंले बनाउन लागेको हो भने त्यस्तो अवस्थामा कन्स्ट्रक्सन पोलिसी लिन सक्ने नेको इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले बताए। बीमितले घर बनाउनु अघि र बनिसकेपछि बीमा गर्न सक्ने व्यवस्था छ ।
'घर कति महिनामा बनिसक्ने हो, यो पोलिसी छोटो समयका लागि हुन्छ। जुन १५, १८, २ वर्ष सम्मको अवधिका जोखिम कभर हुन्छ। यो समयमा घर कति खर्चको बनाउने हो त्यसमा पनि पोलिसी र प्रिमियमको दर भर पर्छ,' उनले भने।
बीमितले घर बनाउने अवधिसम्ममा प्रति स्क्वायर फीट १५ पैसा प्रति वर्ष लाग्छ। जसमा डेढ वर्षको पोलिसी हो भने २२ पैसाको दरले एक वर्षमा २२ हजार रुपैयाँ पर्छ।यसले धेरै कुरा कभर गर्छ। जसमा घर बनाउदा छिमेकीको घर भत्किने, चर्किने, कामदार, भौतिक क्षति अथवा मृत्यु हुने र बनाइरहेको घरका कारण कुनै क्षति भएमा यसले आर्थिक जोखिम बहन गर्छ।
घर बनेपछि बीमा गर्दा
कुनै पनि व्यक्तिले सामान्य खालको घर बनाउदा कम्तिमा एक करोड रुपैयाँ र सो भन्दा कम खर्च लाग्छ। बीमा कम्पनीहरुका अनुसार हाल एक करोडसम्मको घर बीमा बढी हुन्छ। यो पनि व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट ऋण दिने समयममा मात्र घरको बीमा गर्छन्। अन्य समयमा भने घरको बीमा हुने गरेको छैन।
यसले घर बीमा गर्दा घरको अवस्था, बन्ने समय बनेको समय र बजारमा चलेको मूल्य अनुसार गर्ने गरेका छन्।
बीमा कम्पनीले घर बीमा गर्दा घरायसी र व्यवसायिक प्रयोजनाका घर भनेर बीमा गर्छन्। यसमा घरायसी प्रयोजनको घर बीमा गर्दा बीमा शुल्क कम हुन्छ। घरायसी प्रयोजनका लागि हो भने प्रति हजार ४० पैसाको दरले बीमा हुन्छ। यसमा बीमितले एक करोड रुपैयाँसम्मको घर बीमा गर्दा वार्षिक ४ हजार रुपैयाँ बीमाशुल्क प्रिमियम तिर्नुपर्छ। यसमा पनि बाटोको नजिक र हुलदंगा पर्ने ठाउँको घरको बीमा गर्दा शुल्क थप लाग्छ।
त्यस्तै एक करोडभन्दा माथि २ करोड बराबरको घर बीमा गर्दा प्रतिहजार १ रुपैयाँ ५० प्रतिशतका दरले गर्न सकिन्छ। यसको वार्षिक प्रिमियम करिब ३० हजार रुपैयाँभन्दा हुन्छ।
२ करोडभन्दा माथिको घरको बीमा गर्दा सम्पत्ति बीमालेखमा गर्नु पर्छ। यसको दर रेट प्रतिहजार २ रुपैयाँ रहेको आइएमई जनरल इन्योरेन्सले जनाएको छ ।
पहिले घर बीमा गर्दा सबै क्षतिहरु कभर हुँदैनथ्यो। बीमितले अन्य जोखिम बहन गराउन परे थप शुल्क तिर्नु पर्थ्यो। उक्त शुल्क पनि कम्पनीअनुसार फरक पर्ने आइमई जनरल इन्योरेन्सका डेपुटी सीइओ शरण रेग्मीले बताए।
२०७५ पुसबाट व्यवस्थित रुपमा घर बीमा लागू गरिएको थियो। यसपछि भने वार्षिक रूपमा ४ हजार रुपैयाँको बीमा शुल्क तिर्दा सम्पूर्ण क्षति कभर हुन थालेको हो।
साथै कम लागतका घर बीमा पनि लघु बीमा अन्तर्गत गर्न सकिन्छ। बीमा समितिले निम्न र मध्यम वर्गका लागि कम शुल्कमा बीमा गर्न सक्ने व्यवस्था छ। लघु घर बीमा अन्तर्गत ५ लाख रुपैयाँ लागतमा बनेको घर पर्छ। कम लागतमा बनेका घरको वार्षिक प्रतिहजार ५० पैसाको दरले हुन्छ। यसको वार्षिक प्रिमियम दर २ सय ५० रुपैयाँ पर्छ।
बीमा समितिले घर बीमाको व्यवस्था गरेपनि पूर्णरूपमा लागु भने हुन नसकेको निर्जीवन बीमा कम्पनीहरुले जनाएका छन्। साथै बीमितले घरको मात्र होइन घरभित्र भएका सरसामानहरुको पनि छुट्टै बीमा गर्न सक्छन्।