बिसं २०६३ सालको पुस महिना। स्याङ्जाको पुतलीबजारमा तीन जिल्ले बैंकका रूपमा खुल्यो मुक्तिनाथ विकास बैंक। सुरुवातदेखि नै बैंकले अप्ठ्यारो परिस्थितिलाई अवसरका रूपमा लिँदै 'पृथक मार्ग' अपनायो। बैंक खुलेको समय सशस्त्र द्वन्द्वको अवस्थाबाट देश भर्खर-भर्खरै शान्ति स्थापनाको बाटोमा जाँदै थियो।
दुर्गम स्थानका बासिन्दाहरु बैंकिङ सेवाबाट बञ्चित थिए। दुरदराजका गाउँहरुबाट बैंकहरुले आफ्नो सेवा सदरमुकाममा मात्र सीमित गरेको बेला थियो। स्याङ्जामा रहेका बैंकका शाखाहरु पोखरामा खुम्चिएका थिए। स्याङ्जाको विभिन्न भेगका बासिन्दाले ५ हजारको कारोबार गर्न पनि थप केही हजार र केही दिन खर्चेर पोखरा झर्नुपर्ने बाध्यता थियो ।
त्यसैबेला मुक्तिनाथले ग्रामीण मोडलको लघुवित्त सेवाबाट दुरदराजका गाउँमा आफ्नो पहुँच बढायो। बैंकले साधारण बैंकिङको काम मात्र गरेन ग्रामीण भेगका महिलाहरुको लागि पनि स-साना समूह बनाउँदै बिना धितो लगानी गर्न सुरु गर्यो। स्याङ्जा, कास्की र तनहुँका सबै घरधुरीमा वित्तीय सेवा पुर्याउँदै बैंकले गाउँ-गाउँमा गएर सेवा दिने बैंकको परिचय बनायो।
त्यतिबेला ठूलो आकारको वासलात र धेरै नाफा नभए पनि 'बैंक जनतामा जानुपर्छ' भन्ने नारालाई नै आफ्नो मार्गदर्शक सिद्धान्त बनाएर त्यसै अनुसार गाउँका महिला र पिछडिएका क्षेत्रका जनतालाई आफ्नो सेवा दिने बैंक बनेर सुरुवाती दिनहरुमा पहिचान स्थापित गर्यो।
स्थापनाको पाँच वर्षपछि मुक्तिनाथ १० जिल्ले बैंकका रूपमा बिस्तार भयो। सन् २०१५ मा धादिङको सिविक विकास बैंकलाई एक्वायर गरेसँगै बैंक राष्ट्रिय स्तरको विकास बैंक बन्यो र सन् २०१६ मा यसले काठमाडौंमा आफूलाई भित्र्याउन सफल भयो। तीन जिल्लालाई मात्र जग बनाएर पृथक धारबाट अघि बढेको मुक्तिनाथ विकास बैंक आज देशभर १ सय ७९ शाखामा बिस्तार भइसकेको छ भने वासलात आकार १२० अर्बभन्दा माथि पुगिसकेको छ।

प्रद्युम्न बैंकिङ प्रोफेसनल हुन् तर स्प्रिचुअल पनि उत्तिकै छन्। उनको काममा सधैं सकारात्मक वृद्धिको लक्ष्य झल्किन्छ। उनी मानिसको जीवन जस्तै संस्थाको पनि प्राकृतिक वृद्धि हुनुपर्छ भन्छन् -'मृत वस्तु संकुचित हुँदै बिलाएर जान्छ तर जीवित सधैं बिस्तार हुन्छ। फैलिइरहन्छ अघि बढिरहन्छ। म यहाँ काम गर्ने सबै जनशक्तिलाई पनि त्यही ग्रोथ प्रोस्पेक्ट देखाउन चाहन्छु। किनभने ह्युमन क्यापिटलको ग्रोथ र संस्थाको ग्रोथ सँगसँगै अघि बढ्दामात्र त्यो संस्था उत्कृष्ट रहिरहन्छ।'
—
मुक्तिनाथ विकास बैंक काठमाडौं छिरेसँगै बैंकमा जोडिन आइपुगेका हुन् बैंकका सीइओ प्रद्युम्न पोखरेल। उनी आउँदा छिर्दा बैंकको शाखा संख्या ४४ मात्र थियो भने वासलातको आकार जम्मा १५ अर्बको। त्यसयता बैंकले ठूलो फड्को मारिसकेको छ।
वाणिज्य बैंकमा २६ वर्ष बिताएपछि करिअर मोडेर विकास बैंकको कमान सम्हाल्न आएका पोखरेल हाल मुक्तिनाथको गणना उत्कृष्ट बैंकहरुमध्ये नै हुने गरेको भन्दै सन्तुष्ट देखिन्छन्। बैंकले सुरुवातदेखि नै संस्थागत सुशासन र ग्राहकसँगको निकटतालाई नै आफ्नो हतियार बनाएको उनी बताउँछन्।
'घर जति ठूलो बनाउने हो त्यसको जग उत्तिकै फराकिलो हुनुपर्छ भन्ने मान्यता अनुसार नै हामीले बैंकको जगलाई फराकिलो बनाएर अघि बढ्यौं। इन्टरनल ह्युमन क्यापिटललाई कसरी बलियो बनाउने भनेर ध्यान दियौं। बिना धितोमा ससाना कर्जा दिएर महिला र विपन्न वर्गमा पुग्यौं। हामीले हाम्रो भिजन लुज गरेका छैनौं। राष्ट्र बैंकको निर्देशन अनुसार नै हिँडिरहेका छौं। खासमा हामी प्राकृतिक प्रक्रियाबाट वृद्धि हुने गतिमा काम गरिरहेका छौं।'- उनले सुनाए।
वाणिज्य बैंकको स्कुलिङबाट मुक्तिनाथ छिर्दा पोखरेल डेपुटी सीइओका रूपमा आएका थिए। केही वर्षपछि उनले सीइओको जिम्मेवारी पाए। वाणिज्य बैंकबाट विकास बैंकमा आउँदा अरुको नजरमा 'माथिबाट तल झरेको' जस्तो पो देखिन्छ कि भन्ने दबाब पोखरेललाई नपरेको होइन। तर उनलाई सुरुमै महसुस भएछ मुक्तिनाथ विकास बैंक भए पनि त्यसले लिएको 'एप्रोच' वाणिज्य बैंककै जस्तो रहेछ।
उनले त्यही 'सिस्टम ओरियन्टेड' एप्रोचलाई थप बलियो बनाउँदै अपडेट गर्दै लगे जसको नतिजाले आज उनी सन्तुष्ट छन्। सीइओका रूपमा हाल दोस्रो कार्यकालमा रहेका पोखरेल प्रक्रिया, नियन्त्रण र सुशासनका हिसाबले मुक्तिनाथ विकास बैंकलाई उत्कृष्टहरु मध्येको 'एक' बनाउन सकेकोमा गर्व गर्छन्।
'कुनै पनि बैंक तथा वित्तीय संस्थाको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेकै ह्युमन क्यापिटल हुन्। हामीले तलैबाट मानिसहरु ग्रुम गर्यौं। मिड म्यानेजमेन्ट लेभलमा थोरै मानिस बाहिरबाट ल्यायौं तर अरु सबै भित्रबाटै ग्रुम गरेका हौं। संस्थाका दक्ष जनशक्ति यहीँ भित्रै रहिरहनुपर्छ र उनीहरुको ग्रोथ र संस्थाको ग्रोथ सँगसँगै अघि बढ्नुपर्छ भन्ने लाग्छ। हाम्रो एप्रोच भनेकै 'एक्सिलेन्स, ग्रोथ एण्ड इम्प्याक्ट' हो। म आउँदाको ४५ शाखाबाट आजसम्म आइपुग्दा बैंकको सबै पक्षहरुमा एकरूपता देखिन्छ। हाम्रो सफलता यसैमा अडिएको छ।'
—
किसान र उपभोक्ता दुवैसँग जोडिएको 'मुक्तिनाथ'
मुक्तिनाथ विकास बैंकसँग हाल डेढ लाख लघुवित्त समूहका सदस्यहरु छन् भने एक लाखभन्दा बढी महिला ऋणीहरु। ग्रामीण भेगमा वित्तीय पहुँच र वित्तीय समावेशिताका हिसाबले काम गर्दै जाँदा अझै अगाडिको बाटो के हुन सक्ला त? केही नयाँ गर्ने सोचले ठाउँ पायो।
बैंकले सिंगो ग्रामीण कार्यक्षेत्रको 'इको सिस्टम'लाई हेर्दै कृषि क्षेत्रमा लगानी बढाउने रणनीति अघि सार्यो। नेपालमै पहिलो पटक पब्लिक लिमिटेड कम्पनीका रूपमा मुक्तिनाथ कृषि कम्पनी दर्ता भएको पनि चार वर्ष बितिसकेको छ। कम्पनीमा २५ प्रतिशत लगानी बैंकको छ भने १० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ। बाँकी अन्य संस्थापक सेयरधनीहरुबाट ४० करोडको चुक्ता पुँजी हुने गरी कम्पनी स्थापना भएको हो।
हाल बैंकले उक्त कम्पनीमार्फत कृषि क्षेत्रको विकासका लागि काम गरिरहेको छ। किसानलाई आवश्यक मल, बिउ, कृषि औजार, पोष्ट हार्भेस्ट म्यानेजमेन्ट तथा खाद्य सामाग्रीको बजारसम्म खोज्ने प्रक्रियामा सघाउने गरी बैंकले काम अघि बढाएको हो। यसबाट किसान र उपभोक्ता दुवैको पहुँचमा रहिरहने र भ्यालु चेनमा काम गर्ने रणनीति लिएर बैंक अघि बढेको सीइओ पोखरेल बताउँछन्।
हाल बैंकले नयाँ कृषि कम्पनीले नै प्रवर्द्धन गरेको बिउ बैंक, फूड बैंक जस्तै अन्य ८ वटा कम्पनीहरु पनि ल्याएको उनले जानकारी दिए। यी सबै कम्पनीहरुबाट हुने कामले कृषि उपजको उत्पादन बढाउन, किसानको जीवनस्तर उकास्ने तथा कृषि उपजको आयात घटाउनेतर्फ नै योगदान गर्ने पोखरेलको भनाइ छ।
हाल कृषि कम्पनीसँग डेढ लाख सदस्य आबद्ध छन्। २०७५ भदौमा दर्ता भएको कम्पनीले डेढ वर्ष अनुसन्धानमा बितायो। हाल भने कम्पनीले चितवन र स्याङ्जामा रिसर्च सेन्टर खोलेर काम अघि बढाएको छ। कम्पनीले हालसम्म ५७ जिल्लामा बिउ, मल, औजार, कम्पोष्ट मल सप्लाइ गरिहेको छ। गत वर्ष कम्पनीले करिब ३० करोडको कृषि सामाग्री बिक्री गरेको जानकारी पोखरेलले दिए।
'राष्ट बैंककै तथ्यांक हेर्दा २३४ सूचीकृत कम्पनीमध्ये एउटा पनि कम्पनी कृषिको लागि रहेनछ। जबकी नेपालको कुल जीडीपीमा कृषिको २४ देखि २५ प्रतिशत योगदान गर्छ। हाल करिब ४ अर्ब बराबरको धान-चामल भारतबाट मात्रै आयात हुन्छ भने १ अर्बको फलफूल मात्रै आयात हुन्छ। यस्तोमा हामीलाई कृषिमा आत्मनिर्भर बन्नु छ। अझ कोभिड महामारी, विश्वभर देखिएको आपूर्ति सञ्जालमा गडबडीका साथै युद्धका कारण बढ्दो खाद्य संकटका बेला हामीलाई आत्मनिर्भर कृषि क्षेत्रको अझ बढी महत्त्व छ,' उनी भन्छन् 'जरासँग जोडिएपछि पाएको सफलताबाट मात्र उचाइमा टिकिरहन मद्दत पुग्छ। त्यसैले हामीले किसानसँग जोडिएर अघि बढ्न कृषि कम्पनी खोलेका हौं।'

'घर जति ठूलो बनाउने हो त्यसको जग उत्तिकै फराकिलो हुनुपर्छ भन्ने मान्यता अनुसार नै हामीले बैंकको जगलाई फराकिलो बनाएर अघि बढ्यौं। इन्टरनल ह्युमन क्यापिटललाई कसरी बलियो बनाउने भनेर ध्यान दियौं। बिना धितोमा ससाना कर्जा दिएर महिला र विपन्न वर्गमा पुग्यौं। हामीले हाम्रो भिजन लुज गरेका छैनौं। राष्ट्र बैंकको निर्देशन अनुसार नै हिँडिरहेका छौं। खासमा हामी प्राकृतिक प्रक्रियाबाट वृद्धि हुने गतिमा काम गरिरहेका छौं।'
—
प्राकृतिक वृद्धिमै केन्द्रित रणनीति
हाल बैंकहरु धमाधम मर्जरमा गइरहेको अवस्थामा मुक्तिनाथ विकास बैंक भने आफ्नो प्राकृतिक ग्रोथमै केन्द्रित रहने सीइओ पोखरेलको भनाइ छ। बैंकले अब आफ्नो दृष्टिलाई अझ स-साना क्षेत्रहरुमा फिजाउने गरी अघि बढिरहेको उनले बताए। उनका अनुसार गत असार मसान्तसम्म बैंकको कुल कर्जा ९० अर्ब रहेको थियो, जसमध्ये संख्याको आधारमा भन्दा ९८ प्रतिशत कर्जा ५० लाखभन्दा छ। परिमाणका आधारमा ७० प्रतिशतभन्दा बढी कर्जा ५० लाखभन्दा तल छ। यसबाट पनि बैंकले साना तथा लघु व्यवसायको आवश्यकता पुरा गर्ने विकास बैंकका रूपमा अघि बढ्ने रणनीति लिएको प्रष्ट देखिन्छ।
मर्जरमा जाँदा ठूला भएका बैंकहरुले नहेर्ने स-साना क्षेत्रका आवश्यकता पुरा गर्ने बैंकका रूपमा मौका छोप्नका लागि हालको समय विकास बैंकहरुको निम्ति राम्रो अवसर भएको उनको भनाइ छ।
'अहिले पनि विकास बैंकहरुको रिटर्न अन इक्विटी कमर्सियलको भन्दा राम्रो छ। गत असारसम्मको तथ्यांक हेर्ने हो भने हाम्रो १४ प्लसको हाराहारीमा छ वाणिज्य बैंकहरुको १३ प्लसको हाराहारीमा छ। जसरी अहिलेसम्म ओरिजिनल भिजनलाई लुज गरेका छैनौं। सानो सानो व्यवसाय गर्ने व्यक्तिहरुको माझमा गयौं र त्यही कामलाई कन्टिन्यु गर्न सक्यौं भने लगानीकर्तालाई पनि आरामले रिटर्न दिन सक्छौं।'- पोखरेल आशावादी छन्।
मुक्तिनाथले कृषि कम्पनीको साथ लिएर ग्रामीण स्तरमा किसानसँग मिलेर काम गर्ने र त्यसको वित्तीय पाटो बैंकले सम्हालेर अघि बढ्ने नीति लिएको छ। आफ्नै सहयोगी संस्थासँग मिलेर काम गर्दा बैंकको 'कन्फिडेन्स' बढ्ने र अझ बढी प्रो-एक्टिभ हुने उनले बताए।
उनी भन्छन् -'नेपालको विकासको आधार भनेकै कृषि, ऊर्जा, उद्योग र पर्यटन हो। यदि हामीले यी चारवटै क्षेत्रमा सानो-सानो रूपमा काम गर्न सक्यौं भने हाम्रो बजार प्रचुर हुन्छ र दिगो रूपमा संस्था राम्रोसँग अघि बढ्छ। काम बढ्दै जाँदा पुँजी बढ्दै जान्छ। बैंकको साइज ठूलो हुँदै जान्छ । हामी जोखिम व्यवस्थापन गरेर संस्थालाई प्राकृतिक रुपमै अघि लैजान सक्छौं। प्राकृतिक रूपमै हामी बढ्ने प्रक्रियामा छौं।'
डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष समेत रहेका पोखरेल विकास बैंकहरुको व्यापार, गुणस्तर र योगदानका आधारमा हेर्दा कुनै पनि हिसाबले वाणिज्य बैकभन्दा कम नभएको दाबी गर्छन्। उनी बजार हिस्सा पुँजीको आकार र बैंकिङ सिस्टमले समेत त्यही इंगित गर्ने बताउँछन्। कर्जाको प्रतिशत, वित्तीय पहुँच र समावेशिताका आधारमा मात्र नभई गाउँ-गाउँमा जोडिएकाले विकास बैंकहरुको योगदान अझ बढी हुने उनको भनाइ छ। पोखरेल वित्तीय सूचकहरु राम्रा भएका विकास बैंकहरुलाई पनि सरकारी खाताका कारोबारहरुमा पहुँच दिनुपर्ने माग गर्छन्।
उनी भन्छन्-'कुनै पनि कुरालाई नामबाट होइन गुणबाट मापन गर्नुपर्छ। यदि वित्तीय सूचकहरु विकास बैंकको राम्रो छ भने उनीहरुलाई सरकारी कारोबारमा समावेश गर्नुपर्छ। जतिसुकै राम्रो नाम भएपनि वित्तीय आँकडा राम्रो छैन भने निरुत्साहित गर्नुपर्छ।'

हाल कृषि कम्पनीसँग डेढ लाख सदस्य आबद्ध छन्। २०७५ भदौमा दर्ता भएको कम्पनीले डेढ वर्ष अनुसन्धानमा बितायो। हाल भने कम्पनीले चितवन र स्याङ्जामा रिसर्च सेन्टर खोलेर काम अघि बढाएको छ। कम्पनीले हालसम्म ५७ जिल्लामा बिउ, मल, औजार, कम्पोष्ट मल सप्लाइ गरिहेको छ। गत वर्ष कम्पनीले करिब ३० करोडको कृषि सामाग्री बिक्री गरेको जानकारी पोखरेलले दिए।
—
नेतृत्वको भिजन र संस्थागत सफलता
प्रद्युम्न पोखरेल बैंकिङ करिअरमा आउनु योजनाबद्ध थिएन। वीरगंजमा जन्मेहुर्केका उनी ठाकुरराम मल्टिपल क्याम्पसमा बीएस्सी पढ्दा-पढ्दै साथीहरुले बैंकमा फाराम भरिदिएपछि अचानक उनी बैंकिङ क्षेत्रसँग जोडिए।
सन् २०४८ सालमा इन्ट्री लेभलबाट नेपाल अरब बैंक ज्वाइन गरेका पोखरेल आफ्नो क्षमतालाई प्रमाणित गर्दै गर्दै यहाँसम्म आइपुगेका हुन्। अरब बैंकपछि नबिल बैंकमा बदलियो कामसँगै पोखरेलको भूमिका पनि बदलिँदै गयो। उनले बिभिन्न शाखा र विभागहरुमा काम गर्दै गए। नबिलपछि मेगामा पनि उनी जोडिए। बैंकर भुवन दाहाल र उनीसँगै जुनियर अफिसर भएर बैंकिङ करिअर थालेको उनी सम्झन्छन्।
कुनै पनि पेसा रोज्दा चारवटा पक्षहरु हेर्नुपर्ने उनको भनाइ छ। हरेक व्यक्तिले सबैभन्दा पहिले आफ्नो पेसालाई माया गर्नुपर्ने बताउँछन्। आफूले जे काम गरिन्छ त्यसलाई उत्कृष्ट बनाउन मेहनत गर्नु, अनि कामका लागि काम मात्रै नभएर आफ्नो कामले समाजलाई प्रभाव पार्न सक्नेतर्फ लक्षित हुनुपर्छ भन्छन्। बैंकर भए पनि पोखरेल भन्छन् – 'पैसा हुनुपर्छ तर यो नै प्राथमिकता भने होइन।'
उनी बिहान साढे ४ बजे उठेर नियमित ध्यान र योगा गर्छन्। शारीरिक मात्र नभई मानसिक, भावनात्मक र आध्यात्मिक परिपक्वतालाई पनि उनले सफलताको मन्त्र मान्नुपर्छ भन्छन्। अस्तित्वमा रहेका ऊर्जाहरुबाट सकारात्मक शक्ति लिएर अघि बढ्ने उनी हरेक पाटोमा सकारात्मक चिजलाई मात्र हेर्ने बानी विकास गर्न सुझाव दिन्छन्।
कुनै पनि तह वा क्षेत्रमा नेतृत्व लिने व्यक्तिमा अत्यावश्यक गुण के हुनुपर्छ?
पोखरेल भन्छन्- 'इन्टिग्रिटी सबैभन्दा महत्त्वपूर्ण हो, जुन अनेस्टीसँग जोडिन्छ। जब नेतृत्व इमानदार रहन्छ उसको मन र कर्म यौटै हुन्छ जे काम गर्छ त्यो इमानदारी र जिम्मेवारीपूर्वक गरिरहन्छ। त्यसले संस्था र नेतृत्व दुवैमा सकारात्मक ऊर्जा र बलियोपना आउँछ। यो सबैसँग आफू संलग्न संस्थाप्रतिको माया पनि जोडिएको हुन्छ।'

कर्जाको प्रतिशत, वित्तीय पहुँच र समावेशिताका आधारमा मात्र नभइ गाउँ गाउँमा जोडिएकाले विकास बैंकहरुको योगदान अझ बढी हुने उनको भनाइ छ। पोखरेल वित्तीय सूचकहरु राम्रा भएका विकास बैंकहरुलाई पनि सरकारी खाताका कारोबारहरुमा पहुँच दिनुपर्ने माग गर्छन्।
—
एकरूपताले नै उत्कृष्ट
सीइओ पोखरेल मुक्तिनाथ विकास बैंकको छलाङलाई बैंकको संस्थागत संरचनामा समय अनुसारको परिमार्जनलाई श्रेय दिन्छन्। उनी बैंकमा भित्रिएसँगै बैंकको पोलिसी, म्यानुअल प्रोडक्ट पेपर र गाइडलाइनहरुमा 'री-वर्क' गरे। बैंकिङ उद्योगको प्राक्टिस र स्यट्यान्डर्डसँग म्याच गरोस् भन्ने उद्देश्य अनुरुप नै बैंकले आफ्नो सिस्टम बनाएको उनी बताउँछन्।
'म सीइओ भइसकेपछि हामीले बैंकको पाँच वर्षे रणनीतिक योजना बनायौं। हामीले आफ्नो अर्गानोग्राममा के सिस्टम बनायौं भने त्यो वर्षको ग्रोथ र बिजनेस प्लानहरु तय गर्ने र पाँच वर्षमा हामी कहाँसम्म पुग्ने? अनि त्यहाँ पुग्न चाहिने पूर्व योजनाहरु तयार गर्यौं। पोलिसी प्रोडक्ट पेपर म्यानुअल गाइडलाइनको पनि लिखित डकुमेन्ट तयार गर्यौं।'- उनले भने।
जब कोभिड महामारीको समय आयो त्यो बेला बैंकिङ क्षेत्र पनि अन्य क्षेत्र सरह प्रभावित भए। उक्त बेला मुक्तिनाथ बैंकका लागि पनि समय सहज थिएन। तर, त्यो समयलाई मुक्तिनाथले मौकाको रुपमा लिँदै अटोमेसनको कामलाई तीव्र बनायो। त्यसैबेला 'वर्क फ्रम होम' हुँदै थियो।
बैंकको अटोमेसन र साइबर सेक्युरिटी थप सुदृढ बनाउन तीव्रता दिइयो। त्यसलगत्तै बैंक पेपरलेस सिस्टममा गयो। त्यही समयमा इन्टरनल कन्ट्रोल सिस्टमदेखि लिएर जोखिम व्यवस्थापन तथा बैंकको संस्थागत सुशासन सबै बलियो पार्यो। बैंकलाई अझ बलियो बनाउन उसले आफ्ना ह्युमन क्यापिटलहरुलाई अझ बढी ग्रुम गर्दै लग्यो।
पोखरेल भन्छन् –'कुनै पनि बैंक तथा वित्तीय संस्थाको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेकै ह्युमन क्यापिटल हुन्। हामीले तलैबाट मानिसहरु ग्रुम गर्यौं। मिड म्यानेजमेन्ट लेभलमा थोरै मानिस बाहिरबाट ल्यायौं तर अरु सबै भित्रबाटै ग्रुम गरेका हौं। संस्थाका दक्ष जनशक्ति यहीँभित्रै रहिरहनुपर्छ र उनीहरुको ग्रोथ र संस्थाको ग्रोथ सँगसँगै अघि बढ्नुपर्छ भन्ने लाग्छ। हाम्रो एप्रोच भनेकै 'एक्सिलेन्स, ग्रोथ एण्ड इम्प्याक्ट' हो। म आउँदाको ४५ शाखाबाट आजसम्म आइपुग्दा बैंकको सबै पक्षहरुमा एकरूपता देखिन्छ। हाम्रो सफलता यसैमा अडिएको छ।'
कार्यरत जनशक्तिलाई उत्कृष्ट 'फाइनान्सियल बेनिफिट्स' दिनेमध्ये मुक्तिनाथ बेस्ट अन्तर्गत नै पर्ने उनको भनाइ छ। हाल बैंकमा १५ सय भन्दा बढी जनशक्ति कार्यरत छन्।

कुनै पनि पेसा रोज्दा चारवटा पक्षहरु हेर्नुपर्ने उनको भनाइ छ। हरेक व्यक्तिले सबैभन्दा पहिले आफ्नो पेसालाई माया गर्नुपर्ने बताउँछन्। आफूले जे काम गरिन्छ त्यसलाई उत्कृष्ट बनाउन मेहनत गर्नु, अनि कामका लागि काम मात्रै नभएर आफ्नो कामले समाजलाई प्रभाव पार्न सक्ने तर्फ लक्षित हुनुपर्छ भन्छन्। बैंकर भएपनि पोखरेल भन्छन् – 'पैसा हुनुपर्छ तर यो नै प्राथमिकता भने होइन।'
—
प्रद्युम्न बैंकिङ प्रोफेसनल हुन् तर स्प्रिचुअल पनि उत्तिकै छन्। उनको काममा सधैं सकारात्मक वृद्धिको लक्ष्य झल्किन्छ। उनी मानिसको जीवन जस्तै संस्थाको पनि प्राकृतिक वृद्धि हुनुपर्छ भन्छन् -'मृत वस्तु संकुचित हुँदै बिलाएर जान्छ तर जीवित वस्तु सधैं बिस्तार हुन्छ। फैलिइरहन्छ अघि बढिरहन्छ। म यहाँ काम गर्ने सबै जनशक्तिलाई पनि त्यही ग्रोथ प्रोस्पेक्ट देखाउन चाहन्छु। किनभने ह्युमन क्यापिटलको ग्रोथ र संस्थाको ग्रोथ सँगसँगै अघि बढ्दा मात्र त्यो संस्था उत्कृष्ट रहिरहन्छ।'


