मतदानको दिन पनि सवारी साधन चल्ने, व्यवस्थापनका लागि कार्यदलले गर्दै गृहकार्य



बिजमाण्डू
२०७९ असोज २३ गते ०९:०७ | Oct 9, 2022


काठमाडौं। निर्वाचन आयोगले चुनावका दिन सवारी साधन चलाउन दिने भएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सवारीसाधन संचालनमा रोक नलगाइने आयोगले जनाएको हो।

Tata
Global Ime

यसअघिका निर्वाचनहरुमा मतदानका दिन सवारी साधन सञ्चालनमा बन्देज लगाइएको थियो। तर, यसपटकको निर्वाचनमा गाडी संचालनमा रोक नलगाइने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। तर, सामान्य बेलाको जस्तो सवारी साधन भने नचल्ने उनको भनाइ छ। 

मतदानका दिन कसरी सवारीसाधन संचालन गर्न दिने भन्ने बारेमा आयोगले अध्ययन र छलफल गरिरहेको छ। पहाडी र दुर्गम क्षेत्रमा सवारीसाधन नचल्दा मतदान गर्न घण्टौं हिँड्नुपर्ने अवस्था छ। 

'त्यो छरपस्ट हुने छैन। गृह,यातायातसँग समन्वय गरी अशक्त, अपाङ्ग, वृद्धवृद्धाहरुका लागि मतदान केन्द्र पुग्न सवारी साधन संचालन हुन्छ,' उनले भने।

निर्वाचनका बेलामा मतदान केन्द्र टाढा हुने भएकाले मतदान गर्न अप्ठेरो भएको गुनासो आएपछि आयोगले यसपटकको निर्वाचनमा सवारी साधन चल्न दिने व्यवस्था गरेको हो। त्यसका लागि विभिन्न सरकारी निकायका सदस्य रहेको कार्यदल गठन भएको छ। उक्त कार्यदलले दिने सुझावका आधारमा सवारी आवगमनको व्यवस्था हुनेछ।

२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन तथा गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका बेलामा यातायातका साधन बन्द भएपछि आयोगप्रति धेरैले असन्तुष्टि जनाएका थिए। आयोगले सुरक्षाको कारण देखाएर सवारी साधनलाई बन्द गरेको थियो।