पाँच तारे होटलमा बढ्न थाले भारतीय क्यासिनो खेलाडी, होटलको अकुपेन्सीमा ३०% टेवा



२०७९ असोज २३ गते १६:३० | Oct 9, 2022


पाँच तारे होटलमा बढ्न थाले भारतीय क्यासिनो खेलाडी, होटलको अकुपेन्सीमा ३०% टेवा


काठमाडौं। अन्तर्रष्ट्रिय हवाई उडान पुर्ववत संचालनमा आएपछि क्यासिनो उद्योगमा पुनः बहार फर्किएको छ। पछिल्लो एक महिना यता बंगलादेश, भारत सँगै विभिन्न युरोपेली, अमेरिकी मुलुकबाट आउने पर्यटकबाट क्यासिनो व्यवसाय झण्डै पुरानै लयमा फर्कन थालेको व्यवसायीले जनाएका छन्।

Tata
Global Ime

काठमाडौंमा संचालित अधिकांश होटलमा यतिखेर थप ३० प्रतिशत अकुपेन्सी क्यासिनो खेल्न आउने विदेशी पर्यटकबाट कायम हुँदै आएको व्यवसायीले जनाएका छन्। सोल्टी, र्‍याडिसन, होटल याक एण्ड यती, एभरेष्ट, अलोफ्ट, काठमाडौं मेरियट लगायत विभिन्न पाँच तारे होटलमा यतिखेर विदेशी पर्यटकको चहलपहल उल्लेख्य देखिएको छ।

क्यासिनो सहितको होटल र अन्य होटल समेत लाभान्वित भएका छन्। सोल्टी होटलमा संचालित क्यासिनो माजोङमा क्यासिनो खेलाडीको चहलपहल उल्लेख्य रहेको उपाध्यक्ष सुदर्शन चापागाईँले बताए।

'क्यासिनो खेल्न आउने पर्यटकको माग कोभिड अगाडि जस्तो छैन। तर कोभिडको समयको तुलनामा क्यासिनो खेल्न आउनेको संख्या र रुम अकुपेन्सी उल्लेख्य रहेको छ।'

यतिखेर कुल २८२ कोठा रहेको होटलमा ९० प्रतिशत अकुपेन्सी कायम हुँदै आएको उनले जानकारी दिए। उनका अनुसार कुल दरमा सात प्रतिशत अकुपेन्सी क्यासिनो खेल्न आउने पर्यटकबाटै कायम हुँदै आएको छ।

क्यासिनो खेल्न आउने अधिकांश भारत र बंगलादेशबाट पर्यटक आइरहेको उनले जानकारी दिए।

क्यासिनो खेलाडीको चहलपहल सुरु भएसँगै नक्साल स्थित काठमाडौं मेरियट होटलमा थप ३० प्रतिशत अकुपेन्सी रहेको संचालक शशिकान्त अग्रवालले बताए। 

'क्यासिनो र होटल भन्ने वित्तिकै एक अर्काप्रति सरोकार हुँदैन। हामीले क्यासिनोबाट पाउने भनेको रोजगारी, भाडा र सरकारलाई रोयल्टी हो। विदेशी मुद्रा भित्र्याउनका लागि क्यासिनो पर्यटन क्षेत्रको गहना नै हो। क्यासिनो व्यवसाय राम्रो भएको अवस्थामा होटल उद्योगलाई अप्रत्यक्ष फाइदा हुँदै आएको छ,' उनले भने।

 हाल यो होटलमा क्यासिनो डेल्टिन संचालित छ।

क्यासिनो व्यवसाय थप चुस्त बनाउनका लागि सरकारले जुवाघरको संज्ञालाई हटाउन आवश्यक रहेको उनले बताए। क्यासिनो खेल्नैका लागि नेपाल आउने भारतीय पर्यटकका लागि २५ हजार रुपैयाँ भन्दा बढी रकम लिएर आउन दिन आवश्यक रहेको उनले बताए।

पर्यटकको चहलहपल वृद्धि भएसँगै लाजिम्पाटस्थित र्‍याडिसन होटलको अकुपेन्सी दर करिब ७० प्रतिशत पुगेको प्रवक्ता अदिती बुढाथोकीले बताइन्। कुल दुई सय ६० कोठा क्षमताको होटलमा यतिखेर क्यासिनो खेल्न आउने सँगै धार्मिक भारतीय पर्यटकको चहलपहल उल्लेख्य रहेको उनले जानकारी दिइन्।

क्यासिनो खेल्नकै लागि भारतबाट आउने पर्यटक र्‍याडिसनमा बस्ने र क्यासिनो प्लेस, बेलिज, माजोङ लगायत विभिन्न क्यासिनोमा जाने गरेको उनले बताइन्। हाल होटलमा संचालित क्यासिनो र्‍याड बन्द रहेको छ।

यसैगरी कुल एक सय ६७ कोठा क्षमता भएको अलोफ्ट काठमाडौं ठमेलमा क्यासिनो खेल्न आउने पर्यटकबाट मात्र आठ प्रतिशत अकुपेन्सी कायम हुँदै आएको महाप्रवन्धक विक्रम सिंहले बताए। उनका अनुसार यो महिना होटलको कुल अकुपेन्सी दर ७५ प्रतिशत कायम हुँदै आएको छ।

होटलमा आउने अधिकांश पर्यटकले होटलमै संचालित वलडो सँगै डेल्टीन, बेलिज, क्यासिनो प्यालेस लगायतमा जाने गरेको उनले जानकारी दिए।

पछिल्लो तीन महिना यता भारतीय क्यासिनो खेलाडीको चहलपहल उल्लेख्य रहेको उनले बताए। नोभेम्बरमा ३५ प्रतिशत बुकिङ भारतीयबाट मात्र हुँदै आएको उनले जानकारी दिए।

मल्ल होटलमा पछिल्लो समय विभिन्न मुलुकका पर्यटकको आगमन उल्लेख्य रहेको महाप्रवन्धक केभिन माले बताए। कुल एक सय २५ कोठा क्षमता रहेको होटलमा यतिखेर अकुपेन्सी दर ७० प्रतिशत भन्दा बढी रहेको उनले जानकारी दिए। कोभिड संक्रमण समयको तुलनामा यो समय विदेशी पर्यटकको चहलपहल उत्साहजनक रहेको उनले जानकारी दिए। सामान्यतया अवस्थामा पुग्न भने अझै समय लाग्ने उनले बताए।

'क्यासिनोको आफ्नो नियमित चाप हुन्छ। अहिले भारत सँगै युरोपेली मुलुक खुला भएसँगै क्यासिनो खेल्न आउनेको संख्या क्रमीक रुपमा वृद्धि हुँदै आएको छ। नेपालमा क्यासिनो प्रवर्द्धन भएको अवस्थामा थप गेमिङ टुरिस्टको वृद्धि हुने थियो,' महाप्रवन्धक माले भने।

होटलमा संचालित क्यासिनो बेलिजमा यतिखेर भारतीय सँगै युरोपेली पर्यटकको चहलपहल उल्लेख्य रहेको उनले जानकारी दिए।