
काठमाडौं। चालु वर्षको सुरुवातदेखि नै सरकारको राजस्व संकलनमा उच्च गिरावट आएको छ। गत वर्षको संकलनको तुलनामा उच्च गिरावट देखिएको हो।
चालु वर्षको २ महिना २३ दिन सकिदा राजस्व शीर्षकमा १ खर्ब ७२ अर्ब राजस्व संकलन भएको छ। गतवर्ष यो अवधिमा २ खर्ब २७ अर्ब राजस्व संकलन भइसकेको थियो। जसअनुसार गत वर्षको तुलनामा चालु वर्षमा ५५ अर्ब ४७ करोड राजस्व कम उठेको छ।
राजस्वको सामान्य सिद्धान्त अनुसार सामान्य अवस्थामा गतवर्षको तुलनामा राजस्व बढ्दै जानुपर्ने हो। तर चालु वर्षमा ठिक उल्टो दिशामा राजस्व संकलन भइरहेको छ। यो वर्ष सरकारले गतवर्ष भन्दा २ खर्ब २२ अर्बभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।
राजस्व कम उठ्दा सरकारलाई खर्चमा दबाब देखिन सुरु भएको छ। सरकारको प्राप्तिको तुलनामा खर्च धेरै हुन थालेपछि सरकारले आन्तरिक ऋणको भर पर्ने स्थिति देखिन थालेको छ।
चालु वर्षमा सरकारले १ खर्ब ९५ अर्ब प्राप्ति गर्दा २ खर्ब ४५ अर्ब खर्चिइसकेको छ। खर्च धेरै भएपछि राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने प्रक्रिया अघि बढाइसकेको छ।