
काठमाडौं। टाटा मोटर्सले आफ्नो टेक्नोलोजी गेमलाई स्तरोन्नति गर्ने योजना बनाएको छ। यसै योजना अनुसार कम्पनीले आगामी दिनमा निर्माण गरिने सबै इलेक्ट्रिक एसयूभीहरूमा फोर-ह्वील-ड्राइभको सुविधा उपलब्ध गराउने जनाएको छ।
एक मिडिया एजेन्सीसँग भर्खरैको भएको अन्तर्क्रियामा टाटा मोटर्सको प्यासेन्जर सवारीका व्यवसाय प्रमुख शैलेश चन्द्रले आगामी दिनमा निर्माण गरिने नयाँ जेनेरेसनको सबै इलेक्ट्रिक एसयूभीहरूमा फोर-ह्वील ड्राइभ ल्याउने योजना रहेको खुलासा गरेका हुन।
हाल टाटाको कुनै पनि इन्धन इन्जिन भएका एसयुभीमा फोर-ह्वील-ड्राइभको सुविधा उपलब्ध छैन। तर यो प्रविधि महिन्द्रा जस्ता यसको बजार प्रतिद्वन्द्वीहरूको गाडीमा उपलब्ध छ। मारुती सुजुकीले भर्खरै सार्वजनिक भएको आफ्नो मध्यम आकारको एसयूभी ग्रान्ड भिटारामा अल-ह्विल ड्राइभ पनि ल्याएको छ।
ह्यारियर र सफारीले पनि भविष्यमा फोर-ह्वील-ड्राइभको सुविधा पाउन सक्ने चन्द्रले बताए। हाल टाटाको कम्प्याक्ट एसयुभी सेगमेन्टमा नेक्सन इभी प्राइम र नेक्सन इभी म्याक्स उपलब्ध रहेका छन्।
भारतीय निर्माताले आफ्नो इभी पोर्टफोलियोलाई २०२५ सम्ममा १० वटा मोडल उत्पादन गर्ने योजना बनाएको छ। हालै टाटा मोटर्सले आफ्नो ह्याचब्याक टियागोको विद्युतीकृत संस्करण लन्च गरेको छ। जसको मूल्य हालसम्म कै सस्तो छ।
अघिल्लो महिना ९३.१७ प्रतिशत इभीको व्यापार गरेको टाटाले अगस्टमा ८४.८६ प्रतिशतमा झरेको छ। अगष्टमा कम्पनीको इभी बजार हिस्सामा गिरावट आएको थियो। टाटाको विद्युतीकरण यात्राको अर्को चरणमा कम्पनीले अटो एक्सपो २०२० मा प्रदर्शन गरिएको एउटा अवधारणा अल्ट्रोज इभी लन्च गर्ने अपेक्षा गरिएको छ।