काठमाडौं। पोखरा लेकसाइडमा रहेको होटल बाराहीको कारोबारमा उछाल देखिएको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार सन् २०२१/२२ मा कम्पनीले १० करोड ७० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ।
अघिल्लो वर्ष २०२१ मा होटलले जम्मा एक करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो। २०२० मा नौ करोड ९० लाख रुपैयाँ र २०१९ मा १४ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो।
२०१९ मा ६१ प्रतिशत रहेको होटलको अकुपेन्सी २०२० मा ५३ प्रतिशतमा झरेको थियो। कोरोना महामारीअघि होटलको अकुपेन्सी ५७ प्रतिशत थियो। २०२१ मा होटलको अकुपेन्सी ९ प्रतिशतले घटेको थियो। अकुपेन्सी घट्दा कम्पनीको आम्दानी ८३ प्रतिशतले घटेको रेटिंङ विवरणमा उल्लेख छ।
होटल बाराही चार तारे होटल हो। होटलमा ८० वटा कोठा छन्। होटलले नौ तलाको मलसहितको होटल ठमेलमा बाराही प्लाजाको नाममा निर्माण गरिरहेको छ। पहिलो तीन तलामा सपिङ मल रहने छ भने चौथो तलाबाट होटल नै सञ्चालन गर्ने तयारीमा कम्पनी छ। मलमा ७० प्रतिशत सब्सिडायरी होटल बाराही प्रालिकै छ। होटलको स्वामित्व र व्यवस्थापन होटल बाराहीले नै गर्ने बताइएको छ।
होटल बाराही प्रालिमा हरिप्रसाद पौडेल र उनको परिवारको स्वामित्व छ। कम्पनीले ९४ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि इक्रा नेपालबाट एनपी एलबी प्लस रेटिङ पाएको छ।


