
काठमाडौं। नेपालबाट इन्डोनेसिया, अमेरिका, स्विटजरल्याण्ड र रुवाण्डा सिधा हवाई उडान सञ्चालन हुने भएको छ। यसका लागि सरकारले प्रक्रिया अघि बढाएको छ।
अमेरिकापछि नेपाल सरकार हाल स्विटजरल्याण्ड र रुवाण्डासँग द्विपक्षीय हवाई सम्झौताको प्रक्रियामा छ। हवाई यातायातको सञ्जाल विस्तारका क्रममा सरकार सम्बद्ध मुलुकबीच सम्झौतापछि मात्रै व्यवसायिक उडान गर्न पाइन्छ।
इण्डोनेसियासँगको प्रक्रिया सम्झौताको अन्तिम चरणमा रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए। 'इण्डोनेसियासँग निकै अघिदेखि प्रक्रिया सुरु भएको थियो, अब सम्झौताको चरणमा छौं। उताबाट पत्र आए लगत्तै अप्रुभल गर्नेछौं,' उनले भने।
करिब एक महिनाअघि स्विटजरल्याण्डबाट नेपालसँग द्विपक्षीय उडान सम्झौताका लागि पत्राचार भएको जानकारी उनले दिए। 'एक महिना अगाडि स्विटजरल्याण्डबाट पत्र आएको थियो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४१औं महासभामा पनि यस विषयमा छलफल भइसकेको छ। कुरा सकारात्मक रुपमा अगाडि बढिरहेको छ,' सहसचिव लामिछानेले भने।
उनका अनुसार यस अघि नेपाल वायुसेवा निगमले बोइङ दोहा ट्रान्जिट हुँदै नेपाल-स्विटजरल्याण्ड उडान गरेको थियो।
अफ्रिकी मुलुक रुवाण्डाले परराष्ट्र मन्त्रालयमार्फत दुईपक्षीय उडान सम्झौताका लागि प्रस्ताव गरेको उनले जानकारी दिए। उनका अनुसार तीन सातायता मन्त्रालय प्रारम्भिक अध्ययनमा छ।
करिब तीन साताअघि नेपाल-अमेरिका दुईतर्फी सिधा उडान सम्झौताका लागि प्रक्रिया सुरु भइसकेको छ। अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसनले दुईतर्फी उडान सम्झौताका लागि प्रारम्भिक पत्राचार गरिसकेको मन्त्रालयले जनाएको छ।
विभिन्न मुलुकबीच सिधा उडान सञ्जाल विस्तार भएसँगै शैक्षिक, व्यवसायिक र पर्यटकीय गतिविधि प्रवर्द्धन हुने सरकारको अपेक्षा छ।
यी मुलुकमा उडान सम्झौताका लागि युरोपियन युनियनको सुरक्षा सूचीले कुनै असर नगर्ने उनले बताए। विश्व उड्डयन सुरक्षा मापदण्ड अनुसार ७० प्रतिशतभन्दा कायम भइसकेका कारण यी मुलुकतर्फ दुईतर्फी उडानका लागि कुनै असर नपर्ने उनले जानकारी दिए।
'द्विपक्षीय हवाई सम्झौता विस्तारसँगै मुलुकमै भएको वायुसेवा कम्पनीको जहाज क्षमता विस्तार हुन पनि आवश्यक छ। विशेषगरी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको क्षमता विस्तार गर्नु राज्यको दायित्व हो,' एक हवाई विज्ञले भने।
यी मुलुकसँग दुईतर्फी हवाई सम्झौता भएसँगै नेपालका तर्फबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले सिधा उडान गर्न सक्ने जनाइएको छ।
हाल नेपालमा टर्किस, कतार एयरवेज, सिंगापुर, थाइ लगायत विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न ट्रान्जिट हुँदै नेपाल-अमेरिका उडान सेवा दिँदै आएका छन्। जसमध्ये सिंगापुर एयरलाइन्सले सबैभन्दा बढी यात्रु अमेरिका लगिरहेको छ।
हाल नेपालले ४० वटा मुलुकसँग दुईतर्फी सिधा उडानको सम्झौता गरिसकेको छ। कुल ४० मध्ये २० वटा गन्तव्यमा मात्र नियमित व्यवसायिक उडान हुँदै आएको छ।