काठमाडौं। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनले मुलुकको अर्थतन्त्रमा सुधार नहुने दाबी गरेका छन्।
अर्थतन्त्र सुस्त गतिमा अगाडि बढिरहेको र डेढ वर्षदेखि तरलता अभाव झेलिरहेकाले पनि मुलुकको अर्थतन्त्र निर्वाचनका कारण खासै सुधार नहुने उनको तर्क छ।
उनी कांग्रेसका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा पाल्पाबाट सिफारिस भएका थिए तर टिकट भने पाउन सकेनन्।
पूर्वगभर्नर नेपालले विगतका निर्वाचनमा भएका आर्थिक गतिविधिले अर्थतन्त्र चलायमान बनाउने गरेको भने स्वीकार गरे। आगामी मंसिर ४ गते हुने निर्वाचनले नेपाली अर्थतन्त्रलाई चलायमान बनाउनसक्ने अवस्था नभएको पनि उनले सँगसँगै दाबी गरे।
डेढ वर्षदेखि बजारमा देखिएको तरलता अभाव सहजता हुने आकलन गरिए पनि आगामी निर्वाचनमा बजारमा देखिएको तरलता सहज हुने अवस्था नभएको उनको तर्क छ।
उनले बजारमा अत्याधिक तरलताको अभाव, विकास निर्माणको काम तथा नीतिगत निर्णयहरु रोकिने,पूरा हुने आयोजनाहरु पुरा नहुने र चुनावले अर्थतन्त्रलाई प्रेसर दिने भएकाले अर्थतन्त्रमा सुधार ल्याउने अवस्था नभएको टिप्पणी गरेका हुन्।
नेपालले आगामी निर्वाचनले बजारको तरलता अभावसमेत तत्कालै समाधान गर्न नसक्ने उल्लेख गरे।
‘अन्तर्राष्ट्रिय रूपमा हेर्दा निर्वाचन अर्थतन्त्रले मुलुकको अर्थतन्त्रमा केही फरक पार्ने गरेको छ। २० वर्षको मलेसियाले गरेको अनुसन्धान अनुसार निर्वाचनको बेलामा आर्थिक क्रियाकलाप बढ्नाले १ देखि २ प्रतिशतसम्म आर्थिक वृद्धि पनि भएको देखिन्छ,' उनले उदाहरण प्रस्तुत गरे, 'नेपालको निर्वाचनको सन्दर्भमा निर्वाचनको बेलामा बैंकहरुमा भएको पैसा बाहिर आउने,सरकारले पनि निर्वाचनको लागि खर्च गर्ने र मानिसहरुले बैंकमा सञ्चित गरेको पैसा पनि खर्च गर्ने भएकाले केही आर्थिक गतिविधि चलायमान हुने मान्यता छ।'
उनले अहिलेको निर्वाचनमा अर्थतन्त्रमा चलायमान बनाउनसक्ने अवस्था नरहेको सुनाए।
'किनकी बजारमा तरलता अभाव छ। सरकारले गर्ने लागेका विकास निर्माणको काम तथा नीतिगत निर्णयहरु पनि रोकिने गर्छन। पुरा हुने आयोजनाहरु पनि हुँदैनन्। हाम्रो जस्तो देशमा चुनावले अर्थतन्त्रलाई प्रेसर दिने हुन्छ,' उनले भने।
पूर्वगभर्नर नेपालले बैंकहरुमा संकलन भएको निक्षेप संस्था, व्यक्तिहरुले दलगत उम्मेद्वारहरुलाई चन्दा दिनको लागि बैंकहरुबाट निकाल्ने बताए।
उनले बैंकहरुको निक्षेपमा राखिएको पैसासमेत बाहिर जाने भएकाले निर्वाचनको समयमा राष्ट्र बैंकलाई तरलतालाई स्थिर राख्न समस्या हुने विश्लेषण गरे।
उनले राष्ट्र बैंकले बजारमा तरलता व्यवस्थापन गर्नका लागि बैंकहरुको सीडी रेसियोमा केही लचकता अपनाउन सुझाव दिए।
'बजारमा तरलता अभाव देखिने बित्तिकै अनौपचारिक क्षेत्रमा खर्च बढ्ने डर हुन्छ,' पूर्व गभर्नर नेपालले भने, 'अनौपचारिक क्षेत्र फस्टाउँदा देशको अर्थतन्त्र कता जान्छ भन्ने थाहा पाउन गाह्रो हुन्छ।'
उद्योग व्यवसाय पनि चलायमान र आर्थिक गतिविधि पनि बन्द नहुने गरी उत्पादनमुलक क्षेत्रमा आवश्यक पर्ने ऋण लगानी गर्ने वातावरण राष्ट्र बैंकले मिलाउनुपर्ने उनले बताए।
'मौद्रिक नीतिमार्फत कर्जा बिस्तार १२.६ प्रतिशत बनाएकाले अहिले अर्थतन्त्र ठप्प जस्तै छ। चल्न त चलेको छ तर बाहिर चलेपनि बैंकमा पैसा नआएको देखिएको छ। यस्तो अवस्था बढ्दै जाँदा अर्थतन्त्रलाई राम्रो गर्दैन,' उनले भने।